कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
दलित किशोरको मृत्यु प्रकरण

दलित आयोगले भन्यो- कानुनी शासनको ठाडो उपहास

काठमाडौँ — राष्ट्रिय दलित आयोगले रोल्पा कारागारमा मृत भेटिएका बालक सुन्दर हरिजन प्रकरणमा कानुनी शासनको ठाडो उपहास भएको बताएको छ । आयोगले घटनामा गम्भीर ढंगले छानविन गर्न र दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै अवोध बालकलाई अनेक प्रपञ्च रचेर फसाउने काम गरिएको बताएका छन् ।

दलित आयोगले भन्यो- कानुनी शासनको ठाडो उपहास

‘नेपालगञ्ज घर भई रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनलाई अदालतको आदेशमा सुधारगृहमा पठाउन भनिएको, तर सो आदेशको अवज्ञा गर्दै प्रहरी नियन्त्रणमा राखिरहनु र अनेक प्रपञ्चमा एउटा अवोध बालकलाई फसाउनु कानुनी शासनको ठाडो उपहास हो,’ आयोगका प्रवक्ता पुर्कुटीले भनेका छन् ।

आयोगले जेल सार्ने बाहानामा कानुनअनुसार सजाय पाउनुपर्ने व्यक्तिलाई उन्मुक्ति दिनु र सजाय नै नपाउनुपर्ने नाबालकलाई नियोजित ढंगले जेल सजाय गरिनुमा सम्बन्धित जिल्लाका सरकारी वकिल, प्रहरी, प्रशासन र जेल प्रशासनको कमजोरी छताछुल्ल भएको भन्दै त्यसबारे गम्भीर छानबिनको माग गरेको छ ।

‘यो घटनाले के दलित कसैको सट्टामा जेल बस्न र अनाहकमा मारिनको लागि जन्मेका हुन् त ? भन्ने गम्भीर प्रश्न उठेको छ,’ आयोगले भनेको छ । आयोगले यो घटनाले नेपालमा दलित मानव अधिकारको अवस्था कस्तो छ भन्ने समेत प्रष्ट भएको जनाएको छ ।

आयोगले सुन्दर हरिजनको परवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र यस्ता घटना हुन नदिन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?