कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको भूमिकाप्रति सहयात्री दल असन्तुष्ट

काठमाडौँ — स्थानीय चुनावमा तालमेल गर्दा सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसबाट अपेक्षाअनुरूप सहयोगी भूमिका निर्वाह नभएको भन्दै साझेदार दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस इमानदार नहुँदा स्थानीय निर्वाचनमा आफ्नो दलको नतिजा सन्तोषजनक हुन नसकेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले बताएका छन् । 

कांग्रेसको भूमिकाप्रति सहयात्री दल असन्तुष्ट

बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचनको तालमेलमा कांग्रेस इमानदार बताएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन मूलतः सफल भए पनि अपेक्षाकृत नभएको बताएका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि महानगरपालिकाबाहेक अन्यत्र कांग्रेसले सहमति लागू नगरेको उल्लेख गरेका थिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा अपेक्षित सहकार्य र नतिजा नआए पनि आगामी दिनमा ‘धोका नहुने’ आश्वासन दिएका छन् । ‘प्रधानमन्त्री त इमानदारपूर्वक लाग्नुभएकै हो । तर कांग्रेसको आन्तरिक विवादले पनि अलिकति काम गर्‍यो,’ यादवले कान्तिपुरसँग भने ।

बैठकले स्थानीय निर्वाचनमा भएका कमीकमजोरी सुधार्दै गठबन्धनलाई निरन्तर अगाडि लैजाने निष्कर्ष निकालेको छ । ‘गठबन्धनमा राम्रोसँग तयारी गरेको भए धेरै सफल हुन सक्ने रहेछ । तर तल त्यति राम्रो गठबन्धन हुन सकेन । अब कमजोरी सच्याउँदै अगाडि बढ्ने निष्कर्ष छ,’ यादवले भने ।

गठबन्धनले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै ६ महानगर र ११ उपमहानगरमा प्रमुख/उपप्रमुखको भागबन्डा केन्द्रबाटै गरेको थियो । त्यसमा पनि शतप्रतिशत नतिजा आउन सकेन । धेरै ठाउँमा तालमेल हुन सकेन । विराटनगर महानगरको उपप्रमुख र जनकपुर उपमहानगरको प्रमुखमा कांग्रेसबाट धोका भएको निष्कर्ष जसपाको छ । जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले जिते, विराटनगरको उपप्रमुख एमालेले जित्यो ।

काठमाडौं महानगरसहित तुलसीपुर, बुटवल, इटहरी उपमहानगरको उपप्रमुख एकीकृत समाजवादीलाई परेको थियो तर यी पालिकामा एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवारले जितेनन् । त्यहाँ कांग्रेसबाट धोका भएको निष्कर्ष एकीकृत समाजवादीको छ । काठमाडौं महानगर, धनगढी, धरान उपमहानगरको प्रमुख कांग्रेसको भागमा परे पनि जित हासिल गर्न सकेन ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?