कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटको भण्डाफोर गर्न एमाले सांसदलाई ओलीको निर्देशन

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको टिप्पणी गरेका छन् । साथै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई नेता ओलीले निर्देशन दिएका छन् ।

बजेटको भण्डाफोर गर्न एमाले सांसदलाई ओलीको निर्देशन

सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बजेट अनुचित, बिना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बजेट अनुचित ढंगले, बिना सिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ्न पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएका हुन् । ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ,’ प्रमुख सचेतक भट्टराईले भने ।

बैठकले सरकारले ल्याएको बजेट चुनावमा भोट माग्ने किसिमले मात्रै आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र 'हावादारी' रहेको निष्कर्षसमेत एमालेले निकालेको छ ।

बैठकमा अध्यक्ष ओली, पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण पनि दिएका थिए । त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेल, योजना आयोगका पूर्वसदस्य दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?