कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

काठमाडौँ — पत्नी हत्यामा जन्मकैद सजाय पाएर पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासलाई 'चित्तमा लागेर' घटाएको सजाय सर्वोच्चको पूर्ण इजलासले बदर गरिदिएसँगै पक्राउ परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार, नख्खु चलान भएका छन् ।

रञ्जन कोइराला केन्द्रीय कारागार चलान

उनले यसअघि डिल्लीबजार कारागारमा करिब साढे ८ वर्ष कैद भुक्तान गरेर सर्वोच्च अदालतले जन्मकैदको सजाय घटाइदिएपछि २०७७, साउन ८ मा कैदमुक्त भएका थिए ।

उनी अब २०९० मंसिर १२ सम्म कारागारमा बस्नुपर्ने छ । पत्नी गीता ढकालको हत्या अभियोगमा २०६८ माघमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले २०७१ बैशाख ७ मा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । जिल्लाको फैसलालाई तत्कालिन पुनरावेदन अदालत पाटनले सदर गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका कोइरालालाई प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा साढे ८ वर्ष कैदमा बसे पुग्ने फैसला गरेसँगै जन्मकैदको सजाय घटेको थियो । सर्वोच्चको उक्त फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो । त्यही निवेदन माथि फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले बिहीबार कोइरालाको जन्मकैदको सजाय घटाउने यसअघिको फैसला उल्टाएको थियो ।

सर्वोच्चको फैसला लगत्तै फरार भएका कोइरालालाई भोलिपल्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बानेश्वरबाट पक्राउ गरेको थियो । कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले पक्राउ परेको तेस्रो दिन जिल्ला अदालत काठमाडौंले उनलाई केन्द्रीय कारागार चलान गरिदिएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?