कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको आयुर्वेदिक चिकित्साप्रति चीनको चासो

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालको आयुर्वेदिक चिकित्सा पद्धतिप्रति चासो बढाएको छ । यो मे महिनामा मात्रै चिनियाँ मुख्यभूमि र तिब्बत स्वायत्त प्रदेशले नेपालको आयुर्वेद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग अलग-अलग अन्तर्क्रिया गरेका छन् । मे २७ मा चीनको तिब्बत स्वशासित क्षेत्रले नेपालसँग परम्परागत चिकित्सा शैक्षिक आदानप्रदान सम्मेलन गरेको छ ।

नेपालको आयुर्वेदिक चिकित्साप्रति चीनको चासो

ल्हासाबाट अनलाइन माध्यमद्वारा गरिएको कार्यक्रममा तिब्बत अस्पताल र नेपाल आयुर्वेद अनुसन्धान तथा प्रशिक्षण केन्द्रका विज्ञहरूले भाग लिएका थिए । तिब्बतको वैदेशिक मित्रताका लागि जनसंघले आयोजना गरेको उक्त कार्यक्रममा तिब्बत स्वायत्त प्रदेशका विज्ञहरूले कोभिड-१९ को रोकथाम तथा अन्य दीर्घरोग निवारणमा आयुर्वेदिक उपायहरूबारे परामर्श गरेका थिए ।

आदानप्रदानको सिलसिलामा तिब्बती अस्पतालको शल्य चिकित्सा विभागका चिकित्सकहरूले तिब्बतमा रहेका दीर्घरोगहरूको रोकथाम र उपचारका उपायहरूबारे कार्यहरू प्रस्तुत गरे । आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धानकर्ता अमितमान जोशीले परम्परागत औषधिमार्फत् कोभिड-१९ को उपचार गर्ने प्रयोगात्मक केसहरू प्रस्तुत गरेका थिए ।

आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक राम यादवले आयुर्वेदिक चिकित्सा पद्धति र परम्परागत चिकित्सालाई विश्वव्यापी रुपमा विकास गर्न केन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्ने खुल्ला मनोवृत्ति कायम राखेको बताए । कोभिड–१९ र मधुमेहको उपचार तथा रोकथामका लागि तिब्बती परम्परागत औषधि प्रयोग गर्ने प्रयासले नेपाली बिरामीको उपचारमा मात्रै नभई विश्वभरका बिरामीलाई पनि फाइदा पुग्ने उनको विश्वास थियो ।

तिब्बती अस्पतालका उपाध्यक्ष यिनबाले चीन र नेपालको परम्परागत औषधिको लामो इतिहास रहेको बताउँदै कोरोनाविरुद्धको लडाइँमा सकारात्मक योगदान दिएको बताए ।

यसअघि चिनियाँ पक्षले मध्य मेमा सिचुआन प्रान्त परम्परागत चिनियाँ औषधि र नेपाली परम्परागत चिकित्साबीचको गहन सहयोगलाई प्रवर्द्धन गर्न वैदेशिक मित्रताका लागि सिचुवान प्रान्तीय जनसंघमार्फत् नेपाली संस्थासँग यस्तै प्रकारको कार्यक्रम गरेको थियो । नेपाल-चीन आर्थिक तथा व्यापार एसोसिएसनका अध्यक्ष अनुपरञ्जन भट्टराईले नेपाल र चीनबीच टेलिमेडिसिन तालिम केन्द्रको संयुक्त स्थापनासम्बन्धी समझदारीपत्रलाई जतिसक्दो चाँडो कार्यान्वयनमा अगाडि बढाउने बताए ।

सिचुआनको परम्परागत चिनियाँ चिकित्साले उपचार, विज्ञान तथा प्रविधि, शिक्षा र सेवा व्यापारजस्ता विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग बढाउँदै गरेको सन्दर्भमा आयुर्वेदिक चिकित्साप्रति चीनको सक्रियता बढेको पाइएको हो ।

चिनियाँ पक्षले त्यस अनलाइन अन्तर्क्रियामा सिचुआन र नेपालबीचको परम्परागत चिकित्साको क्षेत्रमा गहिरो सहयोगलाई थप प्रवर्द्धन हुने विश्वास लिएको चिनियाँ संचारमाध्यमहरूले लेखेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?