१२ को परीक्षा सोमबारदेखि - समाचार - कान्तिपुर समाचार

१२ को परीक्षा सोमबारदेखि 

कान्तिपुर संवाददाता

काठमाडौँ — कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । 

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । अनलाइनबाट प्रश्नपत्र पठाएर ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा मात्र परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा लिइएको थियो । महामारी हटेको र लकडाउनको अवस्था पनि नरहेकाले बोर्डले तोकेको निश्चित केन्द्रमा मात्रै परीक्षा लिइने अर्यालले बताए । त्यसका लागि बोर्डले जिल्लागत रूपमा परीक्षा केन्द्रहरू निर्धारण गरिसकेको छ ।

कोभिड महामारीका बेला होम सेन्टरमा नै परीक्षा सञ्चालन हुँदा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको थियो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षाकै दिन केन्द्रहरूमा प्रश्नपत्र पठाइने छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यसअघि बोर्डले वैशाख ९ देखि २० सम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । एसईईको उत्तरपुस्तिका परीक्षणलगायत नतिजा प्रकाशनको तयारीको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साउन पहिलो साताबाट कक्षा ११–१२ को नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने गरी एसईई, कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशन तथा कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढौं : राष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

सन्देशमा भनिएको छ, 'यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ । वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको सन्देशमा छ ।

'नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्स लिएको छु', सन्देशमा भनिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×