गणतन्त्र दिवस मनाइँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणतन्त्र दिवस मनाइँदै

रासस

काठमाडौँ — आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे ।

गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

पदभार ग्रहणदेखि नै ‘फजुल’ खर्च

ओमप्रकाश ठाकुर, शिव पुरी

सर्लाही र रौतहट — विकास र सुशासनका आश्वासन दिएर स्थानीय तहमा निर्वाचित भएका अधिकांश जनप्रतिनिधि शपथग्रहणअघिबाटै फजुल र अनावश्यक क्षेत्रमा बजेट खर्चन थालेका छन् । नगर र गाउँपालिकाका अधिकांश प्रमुख/उपप्रमुखले पदभार ग्रहणअघि नै आफ्नो कार्यकक्षका सजावट फेर्न लगाएका छन् । वास्तु नमिलेको, पुराना जनप्रतिनिधिसँगको रिस र कर्मचारीमा देखिएको ‘चाकडी’ प्रवृत्तिले नयाँ जनप्रतिनिधिको पहिलो दिनमै आर्थिक भार बढेको छ ।

फर्निचर खरिदलगायत कार्यकक्ष सजावटका लागि एउटा पालिकामा १० देखि १५ लाखसम्म खर्च गरेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिकाले भर्खरै निर्वाचित भएका प्रमुखका लागि नयाँ टेबल–कुर्सी खरिद गरेर कार्यकक्ष चिटिक्क बनाएको छ । मेयर मनोज आचार्यले शपथ लिएपछि नयाँ टेबल–कुर्सीमै बसेर कार्यभार सम्हाले । कार्यकक्षमा रहेका पुराना टेबल–कुर्सी भने अन्यत्र सारिएको छ । प्रयोगमै रहेका टेबल–कुर्सी किन फेरियो त ? भन्ने प्रश्नमा त्यहाँका कर्मचारी बोल्न चाहेनन् । सर्लाहीकै चन्द्रनगर गाउँपालिकामा पनि नयाँ प्रमुखको सम्मानमा कर्मचारीले नयाँ टेबल–कुर्सी राखेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले तिनै नयाँ टेबलबाट कार्य आरम्भ गरे । हरिपुर नगरपालिकामा पनि प्रमुख बस्ने कोठामा कर्मचारीले टायल्स नै लगाइदिएका छन् । मेयर गोपाल पञ्जियारले टायल्स लगाएको कोठामा प्रवेश गर्दै कार्यभार सम्हालिसकेका छन् । कविलासी नगरपालिकामा पनि कर्मचारीले नयाँ जनप्रतिनिधि आउनुअघि कार्यालय रंग्याएका छन् । रङरोगन लगाएर चिटिक्क पारेको भवनमा मेयर ब्रह्मदेव रायले कार्यभार सम्हाले ।

सर्लाहीका धेरैजसो पालिका तथा वडामा जनप्रतिनिधिको सम्मानमा टेबल–कुर्सी फेरिएको छ । कतिपय स्थानमा जनप्रतिनिधिले नै वास्तु नमिलेको भन्दै टेबल–कुर्सी परिवर्तन गर्न लगाएको कर्मचारीहरू बताउँछन् । चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थिङले अध्यक्षको कार्यकक्षमा रहेको टेबल मात्र परिवर्तन गरिएको जानकारी दिए । पालिकामा नयाँ टेबल–कुर्सी आएको बिल पनि पास भइहाल्ने भएकाले कर्मचारीले यस्तो काम गरेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । ‘नयाँ अनुहार आएको पालिकामा कर्मचारीले चाकडी बजाउनका लागि टेबल–कुर्सी फेर्ने गरेका छन्,’ उनले भने, ‘बिल पास हुन कुनै समस्या नहुने भएपछि यो प्रवृत्ति देखिएको हो । यसमा जनप्रतिनिधिले चासो लिनुपर्नेमा उनीहरू पनि नयाँ टेबल–कुर्सी पाएपछि दंग छन् ।’

रौतहटको बृन्दावन नगरप्रमुख विनोप्रसाद कुर्मीले आफ्नो कार्यकक्ष र सबै वडामा नयाँ फर्निचर लगाउन निर्देशन नै दिए । अहिले नगरप्रमुखको कार्यकक्ष र ९ वटै वडामा नयाँ कुर्सी–टेबल र सोफा हालिएको छ । पुराना फर्निचर अन्यत्र प्रयोगमा लगाइएको नगरपालिकाले जनायो । निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नगरप्रमुख बस्ने कार्यकक्ष र वाडमा नयाँ फर्निचर लगाइएको बताए । ‘फर्निचर खरिद गर्न कति पैसा लाग्यो भन्ने यकिन छैन,’ उनले भने, ‘पहिलेका फर्निचर पुराना भए, त्यसैले नगर प्रमुखको आदेशमा नयाँ लगाएका हौं ।’

बृन्दावन नगरपालिकामा २०७४ को निर्वाचनमा कांग्रेसका रामस्नेही राय यादवले जितेका थिए । त्यसबेला कुर्मी पराजित भएका थिए । यसपटकको चुनावमा कुर्मीले जिते र यादव पराजित भए । यादव बस्ने कुर्सीमा नबस्ने भन्दै उनले नयाँ खरिद गर्न लगाएका हुन् । रौतहटका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पनि पुराना जनप्रतिनिधिले प्रयोग गरेका फर्निचर हटाउन लगाएका छन् । राजपुर नगरपालिकाले प्रमुखलगायत वडामा नयाँ फर्निचर खरिद गर्न लगाएको छ । त्यसका लागि झन्डै १५ लाख रकम लाग्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । ‘मेयरसाबले पुराना टेबल–कुर्सी हटाइदिनुस् भन्नुभयो,’ उनले भने, ‘त्यही भएर नयाँ खरिद गरेका हौं ।’

नयाँ प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षको फर्निचरलगायतका समान नयाँ राख्न निर्देशन दिने गरेका छन् । गरुडा नगरप्रमुख कन्तमुनि जैसवालले पदभार ग्रहण गर्न नपाउँदै कार्यालयको पुराना टेबल–कुर्सी र सोफा हटाई नयाँ लगाउन लगाएका थिए । चन्द्रपुर नगरप्रमुख सञ्जय काफ्लेले पनि कार्यकक्षमा नयाँ टेबल–कुर्सी हालिसकेका छन् । दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले निवर्तमान अध्यक्ष अरुण साह बसेको पुराना कुर्सी, फर्निचर सबै हटाएका छन् ।

१८ स्थानीय तह रहेको रौतहटमा मौलापुर, गुजरा, फुतुवाविजयपुर र परोहामा पुरानै नगरप्रमुख विजयी भएका छन् । यी नगरपालिकाबाहेक अधिकांशले प्रमुख, उपप्रमुख र वडा कार्यालयका फर्निचर नयाँ खरिद गरेका छन् । दुर्गाभगवतीका अध्यक्ष सिंहले टेबल–कुर्सी पुराना भएकाले नयाँ लगाएको बताए । ‘नयाँ खरिद गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘पुरानो सबै दागधब्बा लागेर कामै नलाग्ने भएकाले नयाँ फेरेको मात्र हो ।’

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×