कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं र धरानका मेयरहरू विशिष्ट विचार र संकल्पसहित जनतासामु जानु भएको थियो : दाहाल

'संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको जस्तो ठान्छु'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं र धरानका जनताले राजनीतिक दललाई सच्चिने मौका दिएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले स्वतन्त्र उम्मेदवारहरूको जितलाई दलहरूप्रतिको वितृष्णा भन्न नमिल्ने बताएका हुन् । 

काठमाडौं र धरानका मेयरहरू विशिष्ट विचार र संकल्पसहित जनतासामु जानु भएको थियो : दाहाल

दलहरूले आत्मसमीक्षा गर्नैपर्ने गरी भने दुवै ठाउँका जनताले प्रश्न उठाएको उनले बताए । 'संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको जस्तो ठान्छु म । यही संविधानकै फूलबारीभित्र उहाँहरू आउनु भएको हो,' उनले भने ।

राजनीतिक दलबाट उम्मेदवार छनोट गर्दा त्रुटि भएको हुन सक्ने उल्लेख गर्दै उनले भने, 'हामीलाई सचेत हुन र आफ्ना कमीकमजोरी सच्याउनका लागि अवसर पनि हो ।

तर राजनीतिक दलहरूप्रतिको वितृष्णा होइन ।' काठमाडौं र धरानका मेयर साँचो अर्थमा स्वतन्त्र भएको पनि उनको भनाइ थियो । काठमाडौंका मेयर वालेन्द्र साह र धरानका मेयर हर्कराज साम्पाङ राई जनताका बीचमा जाँदा विशिष्ट विचार र संकल्पसहित गएको पनि उनले बताए । 'जुन विचार, प्रवृत्ति र संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ । उहाँहरूका पछाडि कुनै पार्टी र पार्टीका मान्छे पछि लागेको देखिएन । अब तपाईंहरू जनताका भावना र जनताका आकांक्षाहरूलाई पूरा गर्नतर्फ लाग्नुहोला,'उनले भने ।

राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि उनको भनाई छ । 'राजनीतिक दलहरू हामी एक्लै पूर्ण छौँ भनेर अघि बढेका थियौँ भने काठमाडौं र धरानका जनताले हामीलाई प्रश्न खडा गरेकै हो,' उनले भने ।

इतिहासमा धरान र काठमाडौंका मेयरजस्ता पात्रहरू देखा परे पनि घेराबन्दीमा पारिने खतरा रहेको पनि उनले बताए । 'यस्ता पात्रलाई घेराबन्दी गरेर चुनावमा गरेका वाचालाई पूरा गर्न नदिइने चुनौती देखा पर्छ तर त्यसलाई चिर्दै अघि बढेमा राजनीतिक दललाई पनि सच्चिने मौका मिल्नेछ,' उनले भने ।

प्रकाशित : जेष्ठ १४, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?