कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोटो पत्रकार श्रेष्ठले गरिन् मकालु आरोहण

काठमाडौँ — फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शुक्रबार बिहान करिब १०.५० बजे मकालुको शिखर चुमेकी हुन् ।

फोटो पत्रकार श्रेष्ठले गरिन् मकालु आरोहण

सातौं सफल आरोहणसँगै श्रेष्ठ नेपालतर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनी कीर्तिमान कायम गरेकी छन् ।

नेपालमा आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु भए पनि चोयु हिमाल भने तिब्बततिरबाट मात्र चढिन्छ ।

८,४८५ मिटर अग्लो मकालु विश्वको पाँचौं अग्लो हिमाल हो। जुन नेपाल र चीन तिब्बतको स्वायत्त क्षेत्रको सीमामा रहेको सर्वोच्च शिखर सगरमाथाबाट १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित महालङ्गुर हिमशृंखलामा पर्छ ।

आठ हजार मिटर अग्लो हिमालमध्ये एक मकालु पृथक चारकुने पिरामिड आकारको छ । मकालु हिमालको शिखरमा पाइला टेकेसँगै एकै सिजनमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल आरोहण गरेकी फोटो पत्रकार पूर्णिमालाई फोटो पत्रकार क्लबले सम्मान गरेको छ । उनको आरोहणलाई फोटो पत्रकार संघले सम्पूर्ण नेपाली महिला, फोटो पत्रकारिता जगत तथा फोटो पत्रकारको लागि गौरवपूर्ण क्षण भएको जनाएको छ ।

गोर्खाको आरुघाटमा जन्मिएकी श्रेष्ठले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), धवलागिरी (८,१६७ मिटर), ल्होत्से (८,५१६ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), मनास्लु (८,०१६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गरिसकेकी छन्। एक दशकदेखि फोटो पत्रकरितामा सक्रिय पूर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन्।

प्रकाशित : जेष्ठ १३, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?