कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहिले खुल्छ त्रिविको ताला ?

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पदाधिकारी कार्यालय, कार्यकक्ष, केन्द्रीय विभाग र क्याम्पसहरूमा ताला लागेको बिहीबार १ सय २९ दिन पुगेको छ । नेपाल विद्यार्थी संघ त्रिवि इकाईले गत माघ ७ देखि तालाबन्दी गरिरहेको छ । त्यसैमाथि आंशिक प्राध्यापक संघले माघ २१ मा अर्को ताला थपेको छ ।

कहिले खुल्छ त्रिविको ताला ?

तालाबन्दी भएयता त्रिवि पदाधिकारीको कार्यकक्ष सुनसान छ । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटा, रेक्टर शिवराज भुसाल र रजिस्ट्रार पेशल दाहालले अन्यत्रै बसेर काम गरिरहेका छन् । उपकुलपति कार्यालयको मूलढोकामा ताला लागेदेखि दैनिक दुई जना गार्डले बाहिरबाटै रखबारी गर्छन् । ‘ढोकामै ताला छ, भित्रतिर के कसो छ केही थाहा छैन,’ कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा खटिएकी महिला गार्डले भनिन्, ‘ढोका खोल्न कोही पनि आउनुभएको छैन ।’ यति लामो समयदेखि तालाबन्दी हुँदा पनि खोल्न पदाधिकारी र सरकारले गम्भीर पहल गरेका छैनन् ।

रेक्टर शिवलाल भुसालले तालाबन्दी खुलाउन पहल भइरहे पनि परिणाम ननिस्किएको बताए । ‘पहलहरू भइरहेका छन् तर ताला खुल्न सकेको छैन,’ भुसालले भने, ‘सायद अलिकति पोलिटिकल इस्यु भएकाले माथिबाटै केही आदेश, निर्देश पर्खेका हुन् कि जस्तो लाग्छ । प्रधानमन्त्रीकै पार्टीको विद्यार्थी संगठनलाई जबर्जस्ती गर्न पनि नमिल्ने ।’

नेविसंघले केपी ओली नेतृत्व सरकारले त्रिवि पदाधिकारीको एकलौटी नियुक्ति गरेको भन्दै राजीनामाको माग राखेको छ । आंशिक प्राध्यापकले समान कामका लागि समान ज्याला, त्रिवि शिक्षक/कर्मचारी ऐन २०५० अनुसार करिब २ हजार २ सय आंशिक शिक्षकलाई दरबन्दीअन्तर्गत करारको माग राखेका छन् । त्रिवि रजिस्ट्रार कार्यालयले गत चैतदेखि आंशिक रूपमा पढाउँदै आएका शिक्षकलाई करार नियुक्ति गर्न क्याम्पसलाई परिपत्र गरेको थियो तर वार्ता नगरी त्यसरी परिपत्र गरिएपछि आन्दोलनरत प्राध्यापक संघले असहमति जनाएको थियो ।

आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूले तालाबन्दीपछि त्रिवि पदाधिकारीसँग भेटघाट र वार्ताको पहल नभएको बताए । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिवि पदाधिकारीले तालाबन्दीलाई गम्भीर रूपमा नलिनु नै समस्या भएको बताए । ‘हामीले भीसीलगायत पदाधिकारी, केन्द्रीय कार्यालयहरू, क्याम्पसहरूमा लगाएको ताला खोलेका छैनौं,’ उनले भने, ‘अबको बजेट भाषणमा हामीलाई सम्बोधन गरिएन भने जेठ १५ पछि थप सशक्त आन्दोलन गर्नेछौं ।’ तालाबन्दीपछि त्रिवि पदाधिकारीसँग भेटघाट र वार्ताको पहल नभएको उनले बताए ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ त्रिवि इकाईले गरेको तालाबन्दीलाई आफूले गम्भीर रूपमा लिएको बताए । ‘त्रिवि पदाधिकारीले तालाबन्दीलाई गम्भीर रूपमा नलिनु नै समस्या हो,’ उनले भने, ‘अहिलेसम्म औपचारिक वार्तामा नबोलाएका कारण समस्या नटुंगिएको हो । हामीले नेविसंघ त्रिवि इकाईलाई वार्ताबाट टुंग्याउन भनिरहेका छौं । चाँडोभन्दा चाँडो समस्या हल गर्न पदाधिकारीहरू पनि गम्भीर हुन जरुरी छ ।’

त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले तालाबन्दी भएदेखि पदाधिकारीले वार्ताबाट समस्याको समाधान गर्ने पहल हुन नसकेको बताए । ‘आन्दोलनरत पक्षको मागलाई लिएर प्रधानमन्त्रीसमक्ष कुरा पुर्‍यायौं,’ उनले भने, ‘पदाधिकारी सरहरूले हामीलाई यसबारेमा छलफलमा बोलाउनुभएको छैन । उहाँले नियुक्त गर्नुभएका क्याम्पस चिफ, निर्देशक, डिनलगायतको कार्यालयमा बसेर काम गर्नुभएको सुनिएको छ ।’

तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक काम प्रभावित भएको छ । पदाधिकारी नभेटिँदा प्राध्यापकहरूलाई साधारण मिलाउन, अध्ययन बिदा लिन, अनुसन्धान प्रतिवेदन बुझाउन, बढुवा पुनरावेदन, अवकाश मिलाउन समस्या परेको छ । ‘महिनौं भयो त्रिविमा ताला लागेको, पदाधिकारीहरू कहाँ बसेका छन्, थाहा पाइएन र हामीले भेटघाट गर्न पनि पाएका छैनौं,’ त्रिविका एक प्राध्यापकले भने, ‘वर्तमान पदाधिकारी आएदेखि दुई वर्ष लकडाउनमा बित्यो । त्यसपछि तालाबन्दीमा बितिरहेको छ । यसरी विश्वविद्यालयको हालत ओरालो लागिरहेको अनुभूति भइरहेको छ ।’ त्रिवि नेतृत्वले आफ्नो पदलाई बचाउनमात्र लागेकाले लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?