कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनजंघामा दुई मानव अस्थिपञ्जर भेटिए

काठमाडौँ — नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविरमा पहिचान हुन नसकेका दुइटा मानव अस्थिरपञ्जर फेला पारेको छ । सैनिक मुख्यालयका अनुसार, सफा हिमाल अभियानका क्रममा त्यहाँ पुगेको सफाई टोलीले अस्थिरपञ्जर फेला पारेको हो ।

कञ्चनजंघामा दुई मानव अस्थिपञ्जर भेटिए

सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार, अस्थिरपञ्जर स्वदेशी वा विदेशी कसको हो, पहिचान हुने अवस्थामा नरहेकाले कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरीलाई बुझाएको छ । विश्वको तेस्रो अग्लो हिमाल सफाईमा सेनाले मेजर समिरबहादुर बस्नेत र शेर्पा सरदार छिरिङ जाङबु शेर्पासहित १० जनाको टोलीलाई वैशाख ३ गते काठमाडौंबाट बिदाई गरेको थियो ।

टोलीले कञ्चनजंघा हिमालबाट ३ हजार केजी कुहिने र सड्ने फोहोर संकलन गरेको छ । फोहोर बिहीबार सेनाले ताप्लेजुंगको फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । त्यस्तै बिहीबार मनास्लु हिमालबाट संकलन गरिएको १३ सय २३ किलोग्राम कुहिने र सड्ने फोहोर म्याग्दीको धार्चे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सेनाले ४५ दिनका लागि सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालका लागि २९ जना सेनासहित ९२ जनाको टोली परिचालन गरेको छ । सबै टोली जेठ १६ भित्र काठमाडौं फर्किसक्ने छन् ।

२०१९ को वशन्तकालिन हिमाल आरोहण सिजनदेखि सगरमाथा, धौलागिरि, मकालुलगायतका हिमाल सफाईमा खट्दै आएको सेनाले त्यस वर्ष र सन् २०२१ मा करिब ४० टन फोहोर र चारवटा शव फेला पारिसकेको छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?