कांग्रेसको नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने : ओली 

काठमाडौँ — नेपाली कांग्रेस सत्ताभोगमा लागेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधिसभामा सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले कांग्रेससँग देशको हितमा कुनै नीति र कार्यक्रम नरहेको बताएका हुन् । 

कांग्रेसको नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने : ओली 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ओलीले एमालेले अघि सारेका नीति तथा कार्यक्रम नै समातेर कांग्रेस नेतृत्वको सरकारले ल्याएको बताए । विगतमा एमालेलगायतका दलले ल्याएको नीति र कार्यक्रमलाई कांग्रेसले सुरुमा विरोध गर्दै आएको र पछि गएर त्यसैलाई अँगाल्ने गरेको ओलीको भनाइ थियो ।

'अब सूर्यजस्तै छर्लंग भएको छ कि नेपाली कांग्रेससँग नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति छैन । कार्यक्रम छैन, भिजन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य, सन्तव्य केही छैन,' ओलीले भने, 'यतिमात्रै होइन कांग्रेसँग एमालेले अघि बढाएका नीति तथा कार्यक्रमहरूलाई हटाउने आँट पनि छैन । विरोध गरिन्ज्याल गर्ने, हटाउने आँट पनि छैन । संशोधन गरेर हटाउन सक्नुहुन्छ भने हटाइदिए हुन्छ ।'

एमालेले ल्याएका नीति तथा कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रमबाट हटाउन ओलीले चुनौती दिए । कांग्रेसमाथि आक्रामक रूपमा प्रस्तुत भएका ओलीले भने, 'नेपाली कांग्रेससँग सत्ताभोग केन्द्रित नियतको नीतिबाहेक देश र जनताका लागि कुनै नीति र कार्यक्रम छैन । नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने । त्यसका लागि जे जे पूर्वाधार (हातले रुपैयाँको इशारा गर्दै) तयार गर्नुपर्छ गर्ने । कांग्रेसले यस नीति तथा कार्यक्रम मार्फत आफ्नो पहिचान पनि गुमाएको छ ।' सत्ताभोगका लागि कांग्रेसले जालझेल र षडयन्त्र गरिरहेको उनको भनाइ थियो ।

सरकारलाई वैकल्पिक नीति ल्याउन ओलीले चुनौती दिएका छन् । 'अन्य राजनीतिक दलहरूका सिद्धान्त, नीति, कार्यक्रम र एजेन्डाहरूको सुरुमा चर्को विरोध गर्ने, प्रतिवाद गर्ने, अस्वीकार गर्ने पछि केही समयको बीचमा मौका छोपेर तिनै सिद्धान्त, नीति, कार्यक्रम र एजेण्डाबाट लाभ लिने ! आफू गलत गर्ने, अनि आफ्ना गलत कार्यहरू उल्टै तिनै राजनीतिक दलहरूलाई लगाएर व्यापक कुप्रचार गर्ने, अनुचित सहारा लिएर सत्ताभोगका लागि अनुकूल इकोसिस्टम तयार गर्ने कांग्रेसको खान्दानी सिद्धान्त हो,' उनले भने, 'अर्काको एजेन्डालाई थाहा नपाएजस्तो गरेर उपयोग गर्ने विशिष्ट क्षमता कांग्रेसमै छ । अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त छ । यो हाम्रो इतिहासको वास्तविकता हो ।'

प्रकाशित : जेष्ठ १२, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?