कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको वडामा चाहिँ केही पनि जाने भएन, त्यहाँ कांग्रेसले जितेन : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा पैसाको प्रलोभन दिइएको बताएका छन् ।  उनले मतदातालाई धाक र धम्की दिइएको पनि बताए । 

प्रधानमन्त्रीको वडामा चाहिँ केही पनि जाने भएन, त्यहाँ कांग्रेसले जितेन : ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै ओलीले कांग्रेसले नजितेको ठाउँमा बजेट नजाने भनेर कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाले दिएको अभिव्यक्ति तर्फ इंगित गरेका हुन् ।

'प्रधानमन्त्री देउवाको वडामा केही पनि नजाने हो ? 'भनेर पनि ओलीले देउवालाई प्रश्न गरेका थिए । 'रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैन भनियो । संयोगकै कुरा हो, डडेलधुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा कांग्रेसले जितेको छ त्यहाँ जाने होला । अमरगढी जितेको छ कि छैन ? अमरगढी कांग्रेसले जितेको भए त ठीकै छ नत्र कुन कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज,' उनले भने, 'सम्माननीय प्रधानमन्त्रीको आफ्नै वडामा चाहिँ केही पनि जाने भएन, किनभनेर त्यहाँ रुखले केही पनि जितेन कि क्या हो । लोकतन्त्रको हरिबिजोग अरु के हुन्छ ।'

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको गन्यापधुराको वडा नम्बर १ मा कांग्रेस हारेको थियो । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवालाई १ सय २९ मतले पराजित गर्दै प्रधानमन्त्रीको वडामा कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसको चुनाव चिह्न करुवाबाट चुनाव लडेका नरेश भण्डारी निर्वाचित भए । भण्डारीले ६ सय ७३ मत ल्याए भने पराजित कांग्रेसका देउवाले ५ सय ४४ मत पाएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?