परम्परागत राजनीतिमाथि बालेन–विद्रोह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परम्परागत राजनीतिमाथि बालेन–विद्रोह

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जित स्थापित राजनीतिक दलहरुको भूमिका र कार्यशैलीमाथिको प्रश्न
मणि दाहाल

काठमाडौँ — राजनीतिक दलको वर्चस्व रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जितले हलचल मच्चाएको छ । यसले परम्परागत राजनीति गर्दै आएका दलहरूको सोच र शैलीमाथि प्रहार गरेको छ ।

‘आजसम्म दलले गरे, अब बदल्नेले गरौं’ चुनावी घोषणापत्रमा साहले भनेका थिए । ‘अब उनले महानगरलाई कसरी बदल्लान् ?’ प्रश्न उनीतिरै तेर्सिएको छ । संघीय राजधानीसमेत रहेको महानगरलाई नयाँ ढंगले बदल्ने जिम्मेवारी उनको काँधमा आएको छ ।

प्रमुख राजनीतिक दलहरूले नजरअन्दाज गरेका उम्मेदवार साहले दलका उम्मेदवारभन्दा करिब २० हजार बढी मत प्राप्त गरेका छन् । २० लाखभन्दा बढी जनसंख्या रहेको काठमाडौं महानगरपालिकाको प्रमुखमा ३२ वर्षीय साह र उपप्रमुखमा एमालेकी २९ वर्षीया सुनिता डंगोलको जित निश्चित भएको छ । डंगोल आफ्ना प्रतिद्वन्द्वीभन्दा तेब्बर मतले अगाडि छिन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की स्थापित राजनीतिक दलले बालेनका लागि पहिलेदेखि नै पृष्ठभूमि निर्माण गरेको बताउँछन् । ‘राजनीतिक दलको कार्यसम्पादनसँग मतदाता सन्तुष्ट छैनन् भन्ने पहिलेदेखि नै थाहा थियो, दलभन्दा बाहिर अभिमत दिने काम हुँदै आएको हो, यसअघिको चुनावमा विवेकशील र साझा पार्टीले प्राप्त गरेको मतलाई राजनीतिक दलहरूले अन्डरस्टिमेट गरे, बालेनको जित त्यसैको अभिव्यक्ति हो,’ कार्कीले भने, ‘काठमाडौंको क्रिटिकल मासले राजनीतिमा चाहिने क्रिटिकल नलेज र त्यसैअनुसार डेलिभरीको पनि कुरा गर्छ । त्यो दुवै विषय स्थापित राजनीतिक दलहरूलाई चुनौती हो ।’

यसअघिका चुनावमा काठमाडौंमा प्रमुख राजनीतिक दलकै वर्चस्व रहँदै आएको थियो । २०४९ मा भएको स्थानीय निकाय चुनावमा कांग्रेस तथा २०५४ र २०७४ मा एमालेका मेयर विजयी भएका थिए । वैशाख ३१ मा काठमाडौं महानगरपालिकाको वडा १ र ३२ को मतगणना सुरु भएदेखि नै साहले अग्रता लिएका थिए । यो समाचार तयार पार्दासम्म ३२ मध्ये २७ वडाको मतगणना सकिएको छ । बाहिरी क्षेत्रको तुलनामा पुरानो बस्ती रहेको भित्री सहरमा अन्य प्रतिस्पर्धीभन्दा कमजोर देखिए पनि साहले जितका लागि आवश्यक मत प्राप्त गरेका थिए । मुख्य (कोर) सहरका वडामा १६ देखि १९ प्रतिशतसम्म मत ल्याएका साहले बाहिरी क्षेत्रमा भने कम्तीमा २४ देखि ४६ प्रतिशतसम्म मत पाएका छन् ।

काठमाडौं महानगरपालिकाका ठूला वडाहरू ४ (बालुवाटार), ६ (बौद्ध), ७ (चाबहिल), १४ (कलंकी), १६ (बालाजु–सोह्रखुट्टे), ३१ (शान्तिनगर) र ३२ (काटेश्वर) बाट साहले प्रतिस्पर्धीभन्दा राम्रो मत पाए । एमाले र कांग्रेसले वडाध्यक्ष जितेका स्थानमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहभन्दा साहले बढी मत प्राप्त गरेका छन् । ‘कोर सिटी’ का केही वडामा स्थापित, सिंह र स्वतन्त्र उम्मेदवार सुमन सायमीको तुलनामा मत कम आए पनि साहको जितलाई त्यसले कुनै असर पारेन । हालसम्म गणना गरिएका वडामा उनले १६ प्रतिशतभन्दा कम मत प्राप्त गरेका छैनन् । एमाले र कांग्रेसका उम्मेदवार दुवैले ‘कोर सिटी’ बाट आफ्नो मत बढ्ने दाबी गर्दै आएका थिए । ती वडामा भित्री सहरको सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न रहने गुठीको मत निर्णायक हुने अनुमान गरिँदै आएको थियो । तर, परिणाम त्यसअनुसार आएन । २०७४ सालको चुनावमा विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शना र साझा पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार किशोर थापाले राम्रो मत ल्याएका थिए । त्यतिबेला एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको पक्षमा भित्री सहरबाट अत्यधिक मत परेको थियो र त्यसैका आधारमा ठूलै मतान्तरले जित हासिल गरेका थिए । दर्शना र थापाले करिब ४२ हजार मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि शाक्यको कार्यसम्पादनका विषयमा आमरूपमा प्रश्न उठ्दै आएको थियो ।

नर्थ साउथ कलेक्टिभ्सका राजनीतिशास्त्री भाष्कर गौतम बालेनको जितमा एउटा मात्रै कारण नभएको बताउँछन् । गैरजिम्मेवारपन र उत्तरदायित्वविहीन शासनको विकल्प खोजेको युवा पुस्ताले पुराना दललाई नपत्याएको उनको भनाइ छ । ‘दलप्रति एक किसिमको चरम असन्तुष्टि छ, त्यो दलहरूको गैरजिम्मेवारीपन र उत्तरदायित्वविहीन शासन पद्धतिका कारण आएको हो,’ गौतम भन्छन्, ‘मतदाताले देशभरि विकल्प खोजिरहेका थिए । काठमाडौंमा पनि पहिल्यैदेखि त्यो खोजी भइरहेको थियो । रञ्जु दर्शना वा किशोर थापाले पाएको मत (कांग्रेस–एमालेभन्दा बाहिर) मा पनि अलि ठूलो मतदाताको संख्या छँदैथियो ।’

गत स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीकी उम्मेदवार दर्शना आफूहरूलाई आएको एमाले–कांग्रेसइतरको मत अहिले बालेनतर्फ गएको बताउँछिन् । ‘कांग्रेस, एमालेबाहेकको मत आधार थियो, छ र रहन्छ भन्ने देखायो,’ उनले भनिन्, ‘साझा र विवेकशीलले लान नसकेको मत कांग्रेस–एमालेमा गएन, परिवर्तनको नारा दिने अन्य पार्टीमा पनि गएन । एउटा व्यक्तिको लहर र लोकप्रियता त छ नै, मतदाताले पनि परिवर्तन खोजेको देखिन्छ ।’

यस पटक विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा उम्मेदवार बने पनि मतदाताले रुचाएनन् । गौतमका अनुसार देशभरिको नतिजा हेर्दा पनि कांग्रेसको गढ भएका ठाउँमा एमाले आएको र एमालेको वर्चस्व भएका ठाउँमा कांग्रेस–माओवादीले पकड जमाएको देखिएको छ । काठमाडौंमा एमाले उम्मेदवारको विवादास्पद छवि र अभिव्यक्ति तथा कांग्रेस उम्मेदवारमाथिको परिवारवादको विषयले मतदातालाई प्रभावित पार्न नसकेको उनको बुझाइ छ । ‘कांग्रेस र एमालेले राम्रो उम्मेदवार नदिएको पनि हो,’ उनी भन्छन्, ‘केशव स्थापित धेरै कुरामा विवादमा परेका व्यक्ति भए, कांग्रेस देशैभर परिवारवादमा फसेको पार्टी भयो । त्यसको प्रतिबिम्ब पनि यहाँ देखियो । ठूला दलले दिएका अयोग्य उम्मेदवार र बालेनको आफ्नै तयारीको कारणले पनि अहिलेको परिणाम आएको हो ।’

एमाले उम्मेदवार स्थापित २०४३ सालदेखि काठमाडौंका सबैजसो चुनाव लड्दै आएका छन् । २०५४ सालमा उनी महानगरपालिकाको पहिलो मेयर बनेका थिए । बीचमा अस्थिर राजनीतिक चरित्र देखाएका उनीमाथि यौन दुर्व्यवहारको गम्भीर आरोपसमेत लाग्दै आएको छ भने लामो समय राजनीतिबाट बाहिर रहेकी सिंहलाई मतदाताले कांग्रेस नेता प्रकाशमानकी पत्नीका रूपमा लिएका थिए ।

पार्टीहरूले पुरानै तौरतरिकाले काम गरेका कारण सहरमा हुर्किरहेका युवाले नपत्याएको गौतम बताउँछन् । ‘उनीहरू नयाँ तरिकालाई पछ्याउँछन् भन्ने प्रस्ट संकेत अहिलेको चुनावले दिएको छ, युवा मतदाताले दललाई नपत्याउनु भनेको तिनको गैरजिम्मेवार र अनुत्तरदायी कार्यशैलीमाथिको प्रश्न हो,’ उनले भने । काठमाडौं महानगरपालिकामा यस पटक २१ हजार नयाँ मतदाता थपिएका थिए । काठमाडौंका कुल मतदातामा नयाँ पुस्ताका बढी छन् ।

राजनीतिशास्त्री खगेन्द्र प्रसाईं राजनीतिक दलहरूको असफलताको रूपमा मात्रै हेर्न नहुने बताउँछन् । ‘कुनै पनि मेयर वा उपमेयरप्रति पूर्वाग्रही भएर होइन, काम कसरी गर्छन् भनेर हेर्नुपर्छ,’ उनले भने, ‘तर स्वतन्त्र उम्मेदवारका रूपमा उनलाई यति छोटो समयमा जसरी प्रोजेक्सन गरियो, त्यो सामान्य होइन । यसमा कुन संयन्त्रले काम गरेको छ, त्यो आगामी दिनमा खुल्दै जाला । यो दलहरूप्रति वितृष्णामात्रै हो जस्तो लाग्दैन । पार्टीकै उपमेयरले त्यत्रो भोट ल्याएकी छन् । प्रमुख दलका उम्मेदवारले वडा जितेका छन् ।’ बुधबार बेलुकीसम्म सार्वजनिक भएको मतपरिणामअनुसार काठमाडौं महानगरमा कांग्रेसले १६ र एमालेले ११ वडाध्यक्ष जितेका छन् ।

सिनासका कार्यकारी निर्देशक कार्की साहको जितको दीर्घकालीन महत्त्व रहेको बताउँछन् । ‘सिद्धान्तमा आधारित राजनीतिक दल मात्रै नभएर पहिचानको राजनीति गर्दै आएका दलका लागि पनि बालेनको जित चुनौती र अवसर हो,’ उनले भने, ‘काठमाडौंको क्रिटिकल मासले पहिचानवादी दलहरूलाई बालेनजस्तो सामर्थ्य निर्माण गरे जसले पनि स्वीकार्छ भन्ने सन्देश दिएको छ ।’

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्

दाताको भर पर्दा खोप अनिश्चित

६ अर्ब रूपैयाँ बचाउन खोज्दा ४० लाख बालबालिका कोभिडको जोखिममा
प्रशान्त माली

काठमाडौँ — सरकारले खोप खरिद गर्न लाग्ने ६ अर्ब रुपैयाँ बचाउन खोज्दा ४० लाख बालबालिका अझै जोखिममा छन् । स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई चैतभित्रै खोप लगाइसक्ने बताएको थियो । तर, दातृ निकायको मुख ताक्दा जेठ पहिलो साता बितिसक्दा पनि खोप आउन सकेको छैन । खोप खरिद गर्न वैशाखमा मन्त्रिपरिषद्बाट स्वीकृति भइसकेको छ । यदि वैशाख दोस्रो साताभित्र कोभ्याक्सले नदिएमा किनेर भए पनि लगाइसक्ने भनिएको थियो । मंगलबार सार्वजनिक नीति तथा कार्यक्रममा पनि ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिने उल्लेख छ । तर कहिलेसम्म भन्ने खुलाइएको छैन ।

स्वास्थ्य विभाग खोप शाखा प्रमुख सागर दाहालले असारको दोस्रो साताभित्र खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) मार्फत ल्याइसक्ने दाबी गरे । ‘त्यसका लागि गृहकार्य भइरहेको छ,’ उनले भने, ‘दातृ निकायले दिन्छु भनेको अफर किन स्वीकार नगर्ने ?’ उनले चुनाव भए पनि प्रत्येक साता बालबालिकालाई खोप लगाउने विषयमा छलफल जारी रहेको बताए । ‘निर्वाचनसँग हाम्रो कुनै तालमेल छैन,’ उनले भने ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुनका अनुसार अहिले कोभिड संक्रमित बिरामी नभएको भन्न मिल्दैन । ‘त्यसले कम प्रभाव मात्र पारेको हो । यदि उत्तर कोरियामा जस्तै कडा रूपमा संक्रमण फैलिएमा सबभन्दा बढी जोखिम बालबालिका पर्नेछन्,’ उनले भने, ‘सरकारले पैसा बचाउनेभन्दा पनि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।’

बालबालिकालाई दिइने खोपको डोज १२ वर्ष वा त्योभन्दा बढी उमेर समूहलाई दिनेभन्दा कम छ । सरकारले खोपमा मिलाउने सोडियम क्लोराइड र खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजरको ‘गुलाबी खोप’ ल्याउने भनेको थियो । सरकारले खोप खरिद गर्न आलटाल गरेको मात्र छैन, मुलुकभरका स्वास्थ्यकर्मीलाई तालिम पनि दिएको छैन । उपत्यकाबाहेक २१ जिल्लाका स्वास्थ्यकर्मीलाई मात्र तालिम दिएको छ । अझै ५३ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिन बाँकी छ । खोप शाखा प्रमुख दाहालले बढी जनसंख्या भएको जिल्लामा तालिम सम्पन्न भइसकेको बताए । ‘अन्य जिल्लामा क्रमशः दिइरहेका छौं,’ उनले भने ।

स्वास्थ्य विभागका अनुसार बालबालिकालाई दिइने खोपमा ०.९ प्रतिशत सोडियम क्लोराइड मिसाउनुपर्छ । मिसाएपछि हल्लाउने तरिका पनि छुट्टै छ । सिरिन्ज पनि ०.२ मिलिलिटर मार्जिनको हुने भएकाले अन्य उमेर समूहलाई लगाउने जस्तो सहज नभएकाले तालिमको आवश्यकता छ । मुलुकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ४० लाख छन् ।

विश्व स्वास्थ्य संगठनले कोभिड भाइरसको विकासक्रम जारी नै रहेको भन्दै सबैलाई खोप अनिवार्य लगाउन आग्रह गर्दै आइरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १० वर्षमुनिका २२ हजारभन्दा धेरै बालबालिका संक्रमित भएका छन् । हालसम्म १० वर्ष उमेर समूहका ९ हजार २ सय ९९ संक्रमित भइसकेका छन् । कोभिड संक्रमणका कारण ९ वर्ष उमेरसम्मका ५१ जना, १० देखि १९ वर्ष उमेर समूहका ५७ जनाको मृत्यु भएको तथ्यांक छ । हाल मुलुकमा १२ वर्ष वा त्योभन्दा माथिको जनसंख्याका लागि मात्र कोभिडविरुद्धको खोप उपलब्ध छ । खोप अभियान सुरु भएदेखि बुधबारसम्म ४ करोड २६ लाख १७ हजार १ सय ३६ जनाले खोप लगाइसकेका छन् । एक मात्रा खोप एक करोड ८९ लाख ७९ हजार ४ सय ४९ र पूर्ण मात्रामा एक करोड ९७ लाख ८३ हजार ५ सय ९७ जनाले लगाइसकेका छन् । अतिरिक्त मात्रामा ३८ लाख ५४ हजार ४० जनाले लगाइसकेका छन् । ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज प्राप्त भइसकेको छ ।

बालबालिकाका लागि भनेर ल्याउन लागिएको खोप उत्पादन मितिले माइनस ६० देखि ९० डिग्री तापक्रमको कोल्ड रुम (फ्रिज) मा ६ महिनासम्म मात्र राख्न मिल्छ । टेकुस्थित खोप भण्डार केन्द्रमा १५ लाख मात्रा राख्न सक्ने क्षमता छ । प्रदेशस्तरमा यो खोप भण्डार गर्न मिल्ने कोल्ड रुम छैन । त्यसैले खोप आएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ, नत्र खेर जान्छ ।

स्वास्थ्य विभाग क्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले खोप प्राप्त भएमा तालिका मिलाएर वितरण गर्न सकिने बताए । विश्व स्वास्थ्य संगठनले ५ वर्षमुनिका बालबालिकाका लागि भने खोपको लगाउन स्वीकृति दिएको छैन । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिकको वेबसाइटमा उल्लेख भएअनुसार खोप नलगाएका बालबालिकालाई कोभिड भएमा मुटु पोल्ने, सुत्न समस्या, ध्यान केन्द्रित गर्न नसक्ने, मांसपेशी र जोर्नी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने समस्या हुन सक्छ । चीनले अझै पनि कोभिडकै कारण अन्य देशका नागरिक भित्र्याएको छैन । वैशाखको पहिलो साता भारतका विभिन्न राज्यमा संक्रमण दर उच्च गतिमा फैलिएको थियो । तर, मुलुकमा दातृ निकायको मुख ताक्दा त कहिले स्थानीय तहको निर्वाचनको बहानामा खोप खरिद गर्न आलटाल भएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×