बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्छौं : मन्त्री झाँक्री- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्छौं : मन्त्री झाँक्री

कान्तिपुर संवाददाता

काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । काठमाडौंको फोहोर आकस्मिकरूपमा बन्चरेडाडाँमा फालिएपछि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारेकी हुन् ।

मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्यान्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन् । बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उनले बताइन् ।

‘बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौं,’ उनले भनिन्, ‘उक्त ल्यान्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ ।’

छलफलका क्रममा नुवाकोटबाट निर्वाचित सांसद हितबहादुर तामाङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए । समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने उनको भनाइ थियो ।

धादिङबाट निर्वाचित सांसद भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताए ।

धादिङको धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी उपमन्त्रीले नेपाली भूमिमा तिब्बती शरणार्थीहरुलाई उक्साउने काम गरिन् : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप लगाएका छन् । 

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जियाको भ्रमणको क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने काम भएको बताए ।

'अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरु छन् त्यसलाई खण्डित गर्ने प्रकारको व्यवहार भयो,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, 'नेपालले जहिलो पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ, हामी अहस्तक्षेप र कुनै पनि देशको मामिलामा जहिले पनि असंलग्न रहँदै आएको स्थितिमा तिब्बती शरणार्थीको क्याम्पमा पुगेर जुन प्रकारले उक्साउने काम भयो र नेपाली भूमिलाई प्रयोग गर्ने त्यो वास्तवमा बेठीक थियो भन्ने विषय पनि हाम्रो पार्टीको अध्यक्षले सविस्तार चर्चा गर्नु भएको थियो ।'

बैठकमा अध्यक्ष ओलीले सधैंभर नेपालको परराष्ट्र नीति असंलग्न रहँदै आएको पनि स्मरण गराएका थिए । उपमन्त्री जियाले गत साता तीनदिने नेपाल भ्रमण गरेकी थिइन् । भ्रमणको क्रममा उनले ललितपुरको जालवालेखमा रहेको तिब्बती शरणार्थी शिविरको पनि भ्रमण गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×