सरकारको नीति तथा कार्यक्रमबारे कुन नेताले के भने ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको नीति तथा कार्यक्रमबारे कुन नेताले के भने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा समावेश धेरै विषय पुरानै दोहोरिएको बताए ।

'नीति तथा कार्यक्रममा गर्न सकिने र नसकिने सबै विषयलाई सोलोडोलो कार्यक्रम राखिएको छ,' उनले भन्नुभयो, 'हाम्रो विकासको खर्च चार अर्बदेखि पाँच खर्ब रुपैयाँ हुन्छ, कम्तीमा २५ खर्ब यो नीति तथा कार्यक्रमले माग गरेको छ, त्यस कारण यो कार्यान्वयन हुन्छ कि हुँदैन तपाईं आफैं बुझ्नुहोस् ।'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रम समुन्नत नेपाल बनाउन सक्ने खाकासहित आएकाले दीगो शान्तिका साथ मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, 'नीति तथा कार्यक्रमले देशलाई समुन्नत गर्ने जुन हाम्रो सपना छ, त्यसलाई कार्यान्वयन गर्ने किसिमको यो कार्यक्रम छ, यसले अहिले मुलुकमा देखिएको आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने अभियानलाई अगाडि बढाउँछ, यो केवल आश्वासन मात्रै होइन, कार्यान्वयन हुन्छ ।'

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको टिप्पणी गर्दै समग्र आर्थिक विकासलाई नीति तथा कार्यक्रम अपुग भएको बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नीति तथा कार्यक्रम मुलुकको कृषि, ऊर्जा विकास, पर्यटन प्रवर्द्धनलगायतको क्षेत्रलाई उच्चतम प्राथमिकता दिएकाले पनि सकारात्मक भएको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा जस्तै परम्परागत बजेट भएको कारण कार्यान्वयनमा समस्या आउने टिप्पणी गरे ।

प्रकाशित : जेष्ठ १०, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

यू–२३ बास्केटबलमा टाइम्स र रोयल भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — टाइम्स कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल मंगलबार जीएए तेस्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको फाइनल पुगेका छन् । टाइम्सले विशाल मिलन केन्द्र (बीएमके) लाई ८७–६५ स्कोरले हरायो । टाइम्सबाट श्रेयश शाहले २० स्कोर गरे ।

रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो । फाइनल बुधबार हुनेछ ।

गर्ल्समा रोयल र जेभियर

रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर कलेज फादर वाटरिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनल पुगेका छन् । राउन्ड रोबिन लिगमा रोयल विजेता र जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

गोदावरी अल्मुनाई एसोसिएसन (जीएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँबजार क्लब कीर्तिपुरलाई ३४–१७ स्कोरले पाखा लगायो । रोयलकी प्रतीक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ स्कोर जोडिन् । फाइनल बिहीबार हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७९ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×