१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जापान र इजिप्टसहित ५ मुलुकका लागि प्रस्तावित राजदूत अनुमोदित

ह्विलचेयरमा बसेर पनि आफ्नो अब्बल क्षमताको कारणले नेपालको कूटनीतिक इतिहासमा राजदूत बन्ने बाटोमा प्रस्तावित राजदूत सुशीलकुमार लम्साल पुगेका छन् 
जगदीश्वर पाण्डे

काठमाडौँ — जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरुको शनिबार संसदीय सुनुवाइपछि अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेलाई संसदीय सुनुवाइ समितिले शनिबार छुट्टाछुट्टै सुनुवाइ गरेलगत्तै अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जापान र इजिप्टसहित ५ मुलुकका लागि प्रस्तावित राजदूत अनुमोदित

प्रस्तावित राजदूतहरुले सम्बन्धित मुलुकहरुसँगै द्विपक्षीय सम्बन्ध मजबुद बनाउने, विदेशी लगानी भित्र्याउने, पर्यटनहरुलाई भित्र्याउन पहल गर्ने तथा उच्चस्तरीय भ्रमण गराउन पहल गर्नेलगायत विषयमा आफूहरुले प्राथमिकता दिने प्रतिबद्धता सुनुवाइका दौरान गरेका थिए । समितिले यसअघि बुधबार प्रस्तावित चार राजदूतलाई अनुमोदन गरेको थियो । यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरुमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन् । यस्तै, समितिले त्यसको अघिल्लो दिन मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङलाई पनि अनुमोदन गरिसकेको छ ।

समितिले बिहीबार प्रस्तावित राजदूतहरु साउदी अरेबियाका लागि नवराज सुवेदी, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, कतारका लागि नरेशविक्रम ढकाल र दक्षिण कोरियाको लागि ज्योति प्याकुरेल (भण्डारी) लाई सुनुवाइ गर्दै अनुमोदन गरेको थियो । शुक्रबारको सुनुवाइमा भने श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक रामस्वार्थ रायविरुद्ध उजुरी परेको र सुनुवाइको क्रममा चित्तबुझ्दो जवाफ नआएपछि परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जेठ ९ भित्र जवाफ पठाउने गरी पत्राचार गरेको छ ।

सरकारले २० जना राजदूतलाई सिफारिस गरेको थियो । जसमा १२ जना राजनीतिक कोटाबाट र ८ जना कूटनीतिक कोटाबाट थिए । अब तीन कोटा मुलुकमा प्रस्तावित राजदूतको सुनुवाइ आइतबार हुने समितिका सभापति कर्णले जानकारी दिए । प्रस्तावित राजदूतलाई संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति) को लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुनअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्ति गर्नेछिन् ।

ह्विलचेयरमैत्री छैन संसद्

देशको ऐन, कानुन र सरकारै निर्माण गर्ने महत्वपूर्ण संस्था संघीय संस्था ह्विलचेयरमैत्री भन्ने सन्देश शनिबार दिएको छ । इजिप्टका लागि प्रस्तावित राजदूत सुशीलकुमार लम्सालको सुनुवाइका दौरानमा नेपालको संघीय संसद् ह्विलचेयरमैत्री नभएको प्रस्ट देखियो । नेपालको इतिहासमै ह्विलचेयर प्रयोग गरे पनि आफ्नो अब्बल क्षमताका कारणले गर्दा राजदूतको लागि सिफारिस भएका परराष्ट्र मन्त्रालयका सहसचिव लम्साललाई सुनुवाइको दौरानमा संसदको सुनुवाइ समिति बैठकमा भाग लिनेक्रममा गाह्रो भयो । समितिको सचिवालयले ह्विलचेयरमैत्री कोठा नहुँदा समस्या भएको हो ।

‘संसद्‌मा ह्विलचेयरमैत्री कोठाको प्रयोग नगर्दा शनिबार प्रस्तावित राजदूत लम्सालको सुनुवाइमा समस्या भएको हो,’ संसद्का एक कर्मचारीले भने,‘सुनुवाइ समितिको सचिवालयले उहाँ (लम्साल) लाई अवगत गरेर त्यहीअनुसार तयारी गर्नु पर्ने थियो, जुन गरेन ।’ सुनुवाइका क्रममा कोठाभित्र आउन र जानका लागि लम्सालले अन्य व्यक्तिहरुको सहयोग लिनु परेको थियो । जबकी ह्विलचेयरमैत्री कोठा भइदिएको भए, उनलाई कसैको पनि सहयोग चाहिँदैन थियो । २०६० सालमा परराष्ट्र सेवामा प्रवेश गरेका लम्सालले बेइजिङ र ढाकामा उपनियोग प्रमुख तथा कार्यवहाक राजदूतको रुपमा काम गरिसकेका छन् । ह्विलचेयरमा बसेर पनि आफ्नो अब्बल क्षमताका कारण नेपालको कूटनीतिक इतिहासमा राजदूत बन्ने बाटोमा प्रस्तावित राजदूत सुशीलकुमार लम्साल पुगेका छन् । त्यसका लागि अब उनको सम्बन्धित मुलुकबाट एग्रिमोमात्र आउन बाँकी छ ।


प्रकाशित : जेष्ठ ७, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?