एक महानगरसहित ६८३ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?- समाचार - कान्तिपुर समाचार
स्थानीय तह निर्वाचन

एक महानगरसहित ६८३ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

कान्तिपुर संवाददाता

काठमाडौँ — एक महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार बिहान ६ बजेसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको हो । गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसयता लगातार मतगणना भइरहेको छ । 

परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । यस्तै जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।

जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १९, एमाले १७, माओवादी ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन् ।

उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । अझै काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६५ गाउँपालिकाको परिणाम बाँकी छ ।



प्रकाशित : जेष्ठ ७, २०७९ ०६:०२
प्रतिक्रिया
पठाउनुहोस्

तलब नलिने छेडागाडका नवनिर्वाचित मेयर खड्काको घोषणा

कान्तिपुर संवाददाता

जाजरकोट — छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवासुविधा नलिने घोषणा गरेका छन् । शुक्रबार पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलब भत्ता आफूले नलिने घोषणा गरेका हुन् ।

आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए । उनले भने, ‘मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरुमा लगानी गर्नेछु । एउटा कोषको स्थापना गरी उनीहरुलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्न ।’

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्काले यस पटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन दल ( नेपाली कांग्रेस) बाट उम्मेदवार बनेका थिए । ९ हजार १ सय ७३ मत ल्याएर खड्काले निवर्तमान महतारालाई पराजित गरेका थिए ।


प्रकाशित : जेष्ठ ७, २०७९ ०५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×