गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ : सचेतक भुसाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ : सचेतक भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सत्तारुढ दलबीचको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायमै रहने बताएकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक भुसालले कांग्रेस स्थानीय तहमा रहेको गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म निरन्तरता दिने पक्षमा रहेको बताइन् । 

उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महसुस भएको बताइन् । उनले निर्वाचन परिणामले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताइन् ।

‘नेपाली कांग्रेसले जुन अग्रता लिइराखेको छ, त्यसबाट आमजनताको नेपाली कांग्रेस प्रतिको आस्था, विश्वास बढेको हामीले महशुस गरेका छौँ । नेपाली कांग्रेसको काँधमा जिम्मेवारी थपिएको छ । र यही निर्वाचनमा जस्तै अहिलेको गठबन्धनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत अगाडि बढाउने कुरामा हाम्रो पार्टी सकारात्मक छ,’ उनले भनिन् ।

सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको पाएको बताइन् । पार्टी भित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ । उनले महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको बताइन् ।

‘अहिले ३५ लाख बढी युवाहरु नयाँ मतदाता थपिएका छन् । अहिले नयाँ युवा मतदाताहरु थपिदै गर्दा पपुलर भोटका कुराहरु आउँछन् । दोस्रो, पार्टी भित्रका आन्तरिक असन्तुष्टिका कुराहरु पनि त्यहाँ प्रकट हुने गर्दछन् । तर पनि काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो । तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ, यसबाट भोलीको दिनमा पार्टीले उम्मेदवारी दिदैँ गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ,’ उनले भनिन्, ‘अहिलेको जुन परिणाम छ, त्यसैलाई हेरेर निष्कर्षमा त पुग्न सकिदैन, तर त्यो सन्देश चाँहि हाम्रो पार्टीले पनि ग्रहण गर्नुपर्ने देखिन्छ ।’

प्रकाशित : जेष्ठ ४, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

हाम्रो एजेन्डा जनताले रुचाए भन्ने पुष्टि भएको छ : वर्षमान पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।


निर्वाचन परिणामले माओवादी केन्द्रको एजेन्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रियासमेत उनले दिए । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेद मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको उनको भनाइ थियो । ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेन्डा देशमा स्थापित छ । त्यो एजेन्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ । अपेक्षा योभन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवार मिलाउने, आन्तरिक मतभेद मिलाउनेमा हामी सकेनौँ । नत्र योभन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए।

‘कतिपय ठाउँमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनविरुद्ध, लोकतन्त्र रक्षाका लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझै पनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ । अहिले स्थानीय निर्वाचनमा मूलत: सफल भएको छ । हामी यो गठबन्धन अगाडि लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन,' उनले भने ।

उनले अहिले पनि २५ प्रतिशत पालिकामा मात्रै गठबन्धन भएकाले हार जितको कारण यही हो भन्न नमिल्ने उनको भनाइ थियो । उनले भने, 'अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन् । आ–आफ्ना संगठनहरु छन् । आ–आफ्ना एजेन्डा छन् । मूल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मूलत: सफल भएको छ ।’

प्रकाशित : जेष्ठ ४, २०७९ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×