बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई सफाइ दिने सुनसरी अदालतको फैसला बदर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई सफाइ दिने सुनसरी अदालतको फैसला बदर

देवनारायण साह

मोरङ — सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।  

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जिल्ला अदालत सुनसरीको फैसला बदर र सबुद प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने फैसला भएको बताए ।

उनले पीडित र पीडक पक्षबीच भएको मोबाइलको भ्वाइस कलको परीक्षण, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्नुका साथै अन्य प्रमाण बुझेर पुन: इन्साफ गर्नका लागि मुद्दाको फाइल पठाउने निर्णय गरिएको बताए ।

महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

गिरीले बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएका थिएन् । जिल्ला अदालत सुनसरीको फैसलाले सहमतिमै शारीरिक सम्बन्ध भएको स्थापित भएकाले अन्यायमा परेको भन्दै उनले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी सुवेदीका अनुसार लोभ, मोह, काम क्रोध त्याग गरेर सन्यासी भएर हिँडेको अवस्थामा सहमतिमै शारीरिक सम्बन्ध भएको फैसलाले आफू अन्यायमा परेको भन्दै गिरीले पुनरावेदन दर्ता गराएका थिए । सरकारी वकिलको कार्यालय सुनसरीले पनि गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएकोविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएको मुद्दा फैसला भएको सूचना अधिकारी सुवेदीले बताए ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश कोइरालाको इजलासले उमेर पुगेका महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भन्न नमिल्ने भन्दै गिरीलाई सफाइ दिएको थियो । तर अदालतको फैसलाले महिलासँग शारीरिक सम्बन्ध कायम भएको स्थापित भएकाले अन्यायमा परेको हुँदा पूर्ण रूपमा सफाइको माग गर्दै गिरीले पुनरावेदन गरेका थिए ।

२०७६ कात्तिक ४ गते राति गिरीले करणी गरेको भनी २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आश्रममा बस्दै आएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

कृष्ण थापा

नुवाकोट — माओवादी केन्द्रले ककनी गाउँपालिकामा आफ्नो वर्चश्व कायम राखेर अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।

अध्यक्षमा सुमन तामाङले ४ हजार ९०९ मत प्राप्त गरे भने उपाध्यक्षमा मिठूमाया लामा तामाङले ४ हजार ९८ मत ल्याइन् ।

उनीहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार १७४ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी प्रमिशा तामाङले ३ हजार ८३० मत प्राप्त गरिन् ।

अध्यक्षमा ७३५ मत र उपाध्यक्षमा २६८ मत अन्तरले कांग्रेसलाई पछि पार्दै माओवादी विजयी भएको हो ।

यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा पनि माओवादी विजयी भएको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×