कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतपेटिका संकलन गर्नै तीन दिन

गोरखा — अन्य स्थानीय तहमा मतगणना सुरु भइसक्दा गोरखाको चुमनुव्री गाउँपालिकामा भने मतपेटिका संकलन भइरहेको छ । शनिबार साँझसम्म १७ केन्द्रको मात्रै मतपेटिका चुमनुव्री–३ फिलिमस्थित निर्वाचन अधिकृतको कार्यलयमा आइपुगेको छ ।

मतपेटिका संकलन गर्नै तीन दिन

सामागाउँ र ल्होको मतपेटिका भने बाटोमै छन् । ‘ती दुई केन्द्रका मतपेटिका आइतबारसम्म आइपुग्ने अनुमान छ,’ चुमनुव्रीका निर्वार्चन अधिकृत नानीबाबु पोखरेलले भने ।

मतपेटिका ढुवानीका लागि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था नगर्दा पैदल नै ढुवानी गर्नुपरेको हो । चुमनुव्री–१ साम्दोको मतदान केन्द्रबाट फिलिमस्थित निर्वाचन अधिकृत कार्यालय आइपुग्न कम्तीमा ३ दिन लाग्छ । साम्दोका कर्मचारी शुक्रबार नै मतपेटिका बोकेर सिर्दिवासतर्फ झरेका छन् । सामागाउँ र साम्दो तथा ल्होका दुईवटा मतदान केन्द्रको मतपेटिका आइतबारसम्म आइपुग्ने अनुमान गरिएको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

चुमनुव्री–७ छेकम्पारलगायत अन्य मतदान केन्द्रबाट भने एक दिन लगाएर मतपेटिका शनिबार साँझ पुर्‍याइएको थियो । मतपेटिका ढुवानीका लागि आयोगसँग हेलिकोप्टरको ब्यवस्था गरिदिन अनुरोध गरे पनि स्वीकृत नभएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । चुमनुव्री गाउँपालिकामा २१ मतदान केन्द्र छन् । सबै मतपेटिका संकलन सकेपछि गणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतद्वारा राजीनामा

बाजुराको बुढीगंगा नगरपालिकामा खटिएका उपसचिव कृष्ण सापकोटाले सुरक्षित रहेको भन्दै निर्वाचन अधिकृतबाट राजीनामा दिएका छन् । आफूमाथि हूलहुज्जतसमेत हुन सक्ने भन्दै रानीनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए । विभिन्न केन्द्रमा निष्पक्ष मतदान हुन नसकेको भन्दै शुक्रबार कांग्रेस कार्यकर्ताले सापकोटालाई नियन्त्रणमा राखेका थिए ।

मतदानकै दिनदेखि आफू असुरक्षित रहेको भन्दै शनिबार दिउँसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा उनलाई एमाले कार्यकर्ताले बार्जुगाढबाट निर्वाचन कार्यालयमा फर्काएर मतपेटिका बुझ्न लगाएका छन् । निर्वाचन अधिकृत सापकोटाको थप सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।

बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदान केन्द्रमा झडप, उम्मेदवार घाइते, बुथकब्जा, उम्मेदवार मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मीले मतेपटिका छाडेर हिँडेकालगायत घटना भएका थिए । १० वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका शनिबार दिउँसोसम्म निर्वाचन कार्यालयले बुझ्न मानेको थिएन । एमालेले मतपेटिका बुझेर मतगणना गर्न माग गरिरहेको छ ।

कांग्रेसले केही मतदान केन्द्रमा एकलौटी भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । बुढीगंगा–२, ३, ५ र ९ वडामा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ । वडा ४ र ७ मा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दाबी छ ।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?