लिमीको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिमीको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने 

छपाल लामा

हुम्ला — नाम्खा गाउँपालिका ६ लिमीको मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएको छ । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएको हो । 

बराहाल दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काका अनुसार शनिबार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी हुने बताइएको छ । लिमीबाट आउने नारा र न्यालु लेकमा हिउँ जमेको कारण तीन मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याउन लागिएको हो ।

लिमीका तीन वटा मतदान केन्द्रहरुमा हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङमा ५ सय भन्दा बढी मत खसेको छ । लिमीमा मतदान कार्य गर्न खटिएका कर्मचारीहरु चार हजार आठ सय मिटर अग्लो नारा लेकको हिउँ सशस्त्र प्रहरीको सहयोगमा छिचोलेर पार गर्न सफल भएका हुन् ।

मतदान र अघिल्लो दिन लिमी जाने दुवै लेकमा हिमपात भएपनि कर्मचारी पैदल आउन नसक्ने अवस्था थियो । यसका लागि दुई दिन ढिलो गरि भए पनि निर्वाचन आयोग मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न राजी भएपछि जेठ १ गते मतपेटिका गाउँपालिका केन्द्र याल्वाङ आउने भएका हुन् । लिमीको मतपेटिका नआउदासम्म नाम्खा गाउँपालिकाको मत गणना नहुने भएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

चंखेली गाउँपालिका-२ मा पुन: मतदान गर्न गठबन्धनको माग

छपाल लामा

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका २ मा गठबन्धनले पुन: मतदानको माग गरेका छन् । स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन् ।

संघीय सांसद छक्कबहादुर लामासहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदानको माग गरेका हुन् । ९ सय ३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा ३ सय ९० मतमात्र खसेको थियो ।

सांसद लामाले यही मत संख्याबाट धाँधली भएको आरोप लगाए । उनले मतदातालाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र १५ प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकाले पुनः मतदान गर्न माग राखेको बताए ।

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्न वञ्चित भएकाले मतदान केन्द्रको मतदान कार्य रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गरिसकेका छन् ।

उनले गठबन्धन दलपक्षका मतदातालाई मतदान गर्नका लागि मतदान केन्द्र जाने वातावरण नै नबनाएको आरोप लगाए । उक्त पक्षले मुचुल्कामा समेत हस्ताक्षर गरेको छैन । स्वतन्त्र पक्षलाई गठबन्धनका दुई दलबाहेक अन्य पार्टीहरुको सहयोग रहेका छन् ।

यसअघि गठबन्धन दल र स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षबीच झडप हुँदा मतदान सुरु भएको केही समयमा नै स्थगित भएको थियो । झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×