कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथामा रसियन आरोहीको मृत्यु

यस वर्षको वसन्तयाममा आरोहणका क्रममा एक नेपालीसहित चार जनाको मृत्यु
सुरज कुँवर

काठमाडौँ — सगरमाथा आरोहणका लागि गएका आरोहण अभ्यासका क्रममा शनिबार साँझ पहिलो शिविरमा रसियन नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार, सगरमाथा आरोहण अभ्यासका क्रममा ६४ सय मिटरको उचाईमा रहेको दोस्रो शिविरबाट ६ हजार मिटरमा रहेको पहिलो शिविरमा फर्किएका रसियन नागरिक ५५ वर्षीय पावेल कोस्ट्रीकिनको मृत्यु भएको हो

सगरमाथामा रसियन आरोहीको मृत्यु

पावेल सम्मिलित आरोहण दलको व्यवस्थापन गरिरहेको काठमाडौंस्थित सेभेन समिट क्लब प्रालिले उचाईमा अक्सिजनको अभाव (अल्टीच्यूट सिकनेस) का कारण उनको मृत्यु भएको जनाएको छ । आरोहण दलको सदस्यका रुपमा पावेल चैत अन्तिम साता काठमाडौंबाट लुक्ला हुँदै सगरमाथा गएका थिए ।

सेभन समिटका मिङ्मा गेलु शेर्पाका अनुसार, आरोही पावेलको शव आइतबार अल्टिच्यूट हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पावेलको शव उनको पारिवारिक सदस्यलाई सोमबार बुझाइने शेर्पाले बताए । मृतक पावेल रसियाली नागरिक एलेक्जेन्डर एब्रामुभको नेतृत्वको आरोहण दलका सदस्य थिए । उक्त आरोहण दलमा १२ रसियन, एक अमेरिकी र एक इजारयली नागरिक गरी १४ जना सदस्य थिए ।

विभागका अधिकृत भिष्मराज भट्टराईका अनुसार, यस वर्षको वसन्तयामको आरोहण सिजनमा सगरमाथामा ज्यान गुमाउने पावेल दोस्रो व्यक्ति हुन् । यसअघि वैशाख १ गते सगरमाथाको दोस्रो शिविरमै एक नेपाली आरोहण सहयोगी निङ्मा तेञ्जिङ शेर्पाको पनि मृत्यु भएको थियो । यसअघि धौलागिरि आरोहण सकेर फर्कंदै गर्दा चैत २९ मा ग्रीसका नागरिक एन्टिनिओस् शिकारिसको मृत्यु भएको थियो । त्यस्तै गत बिहीबार कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिक नारायणन ऐय्यरको मृत्यु भएको भट्टराईले बताए ।

विभागले आइतबारसम्म यस सिजनका लागि सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि ७४ वटा मुलुकका ९ सय ५३ जनालाई अनुमति दिइसकेको छ । जसमा सगरमाथा आरोहणका लागिमात्रै नेपालसहित ५८ देशका ३ सय १७ जना सगरमाथा आरोहणमा गएका छन् । जसमा नेपालका २१ जना आरोहण दलका सदस्य छन् । विभागका अनुसार यो सिजनमा सगरमाथा, ल्होत्से र नुप्चे हिमाल आरोहणका लागि सगरमाथा आधार शिविरमा १५ सय जना पुगेका छन् । त्यसमा ५ सय १५ आरोही छन् । बाँकी गाइड, भरिया, सम्पर्क अधिकृतलगायत छन् । विभागले यसपटक आरोहण अनुमति जारी गरेबापत ४७ करोड ४६ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।

प्रकाशित : वैशाख २५, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?