आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा

कुनै सार्वजनिक निकायको स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था भए पनि प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टर लिएर चुनावी दौडाहामा
घनश्याम गौतम

रूपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हेलिकोप्टरमा देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत पनि सवार थिए । 



स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, प्रधानमन्त्रीले उक्त दफाविपरीत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् । बुटवलको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शनिबार बिहान पौने १२ बजे बुटवलस्थित नेपाली सेनाको २२ नं. वाहिनीमा उत्रिएका थिए । त्यहाँ उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका स्थानीय नेता र सुरक्षाकर्मीले स्वागत गरे । प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट उत्रिएफछि कार्यक्रमस्थलसम्म जान स्थानीय कार्यकर्ताको सेतो कलरको ल्यान्डत्रुजर गाडी चढेर थिए । कार्यक्रममा झन्डै १ घण्टा बिताएका उनले ८ मिनेट भाषण गरे र त्यही हेलिकोप्टरमा तनहुँ पुगे ।

निर्वाचन आचारसंहिताले सरकारका अधिकारी र स्थानीय तहमा राजीनामा नदिएका जनप्रतिनिधि आफू उम्मेदवार भएको अवस्थामा बाहेक अन्य अवस्थामा दलको चुनाव प्रचारप्रसारमा सहभागी हुन पनि रोक लगाएको छ । आचारसंहितामा ‘सरकारी अंग वा अधिकारीहरूले आफैं उम्मेदवार भएको खण्डमा बाहेक प्रचारप्रसार गर्न नपाउने’ पनि उल्लेख छ । तर, देउवाले बुटवलमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ‘गठबन्धनका उम्मेदवारले नजिते प्रजातन्त्र संकटमा पर्ने’ बताए । प्रजातन्त्रको रक्षा र गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि गठबन्धन बनेको र त्यसका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । ‘प्रजातन्त्रको भविष्यका लागि स्थायी रूपमा कसैले शंका गर्न नसक्ने ठाउँमा ल्याउन अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘त्यसैले गठबन्धनका सबै उम्मेदवारले जितेनन् भने प्रजातन्त्र पनि संकटमा पर्छ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्यन्तै ठूलो अत्याचारका कारण पनि गठबन्धन जन्मिएको बताए । विरोध गर्नकै लागि प्रजातन्त्र आए पनि ओलीले विरोध गर्दा संसद् नै भंग गरिदिएकाले गठबन्धन जरुरी रहेको स्पष्टीकरण पनि प्रधानमन्त्री देउवाले दिए । ‘विरोध गर्नकै लागि प्रजातन्त्र हो । अरूले विरोध गरेपछि पार्लियामेन्ट नै भंग गरिदिने ?’ उनले भने, ‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद् भंग गर्न दिँदैन तर ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गरै गर्ने अनि तपाईंहरूले उहाँको पार्टीलाई जिताएर के गर्ने ?’ गठबन्धनको सरकार बनेपछि जनताले राहत पाएको र स्थानीय तहमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराएपछि विकासको सुरुवात हुने उनले बताए ।

सभामा सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पनि गठबन्धनका दलहरूको पक्षमा मत मागेकी थिइन् । झाँक्री पनि तीन दिन गृहजिल्ला गुल्मीको चुनावी प्रचारप्रसारमा सहभागी भएर शनिबार बुटवल आएकी हुन् । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुख र नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपप्रमुखका उम्मेदवार छन् । बुटवल उपमहानगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ । मत तान्न केन्द्रीय नेताको दौडधुप बढेको छ । बुटवलकै निर्वाचनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार बुटवल आउने कार्यक्रम तय भएको एमाले जिल्ला सचिव यज्ञ गैरेले बताए ।

बुटवल उपमहानगरपालिकाका निर्वाचन अधिकृत लेखनाथ पौड्यालले प्रधानमन्त्री पदीय हैसियतमै पार्टीका उम्मेदवारको प्रचारप्रसारमा हिँड्नु आचारसंहिताविपरीत हुने बताए । ‘यो विषयमा आज नै निर्वाचन आयोगबाट पार्टीलाई सचेत गराइएको भन्ने पत्र प्राप्त भएको छ,’ उनले भने, ‘तर, फेरि आजै पनि प्रधानमन्त्रीले सेनाको हेलिकोप्टर प्रयोग गरेको भन्ने सुनियो । यो विषय पनि आयोगबाटै सम्बोधन होला, तपाईं–हाम्रो लेबलबाट केही सम्भव देखिँदैन ।’ स्थानीय निर्वाचन आचारसंहिताले सरकारका प्रधानमन्त्री, मन्त्री, कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिलाई पदीय हैसियतमा कार्यक्रममा सहभागी हुन र भोट माग्न बन्देज गरेको उनले बताए ।

प्रकाशित : वैशाख २५, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

चुनाव, राजनीति र परिवारवाद

कृष्ण खनाल

अबको पाँचौं दिन मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि चुन्न लामबद्ध हुनेछन् । चुनावको सरगर्मी बढ्दो छ, उम्मेदवारहरूले घरदैलो गर्नेदेखि सामाजिक सञ्जालका भित्ता रंग्याउनेसम्मका कामलाई तीव्रता दिएका छन् । ठूला दलका नेताहरूले चुनावी सभा गरिरहेका छन् ।

चुनाव नजिकिँदै जाँदा उनीहरू आआफ्ना दल र उम्मेदवारका पक्षमा मतदातालाई आकर्षित गर्न जोडतोडले लाग्नु स्वाभाविक मात्र होइन, अपेक्षित नै हो । तर भरतपुर र काठमाडौंका सभालाई हेर्दा उनीहरू मतदातालाई आकर्षण होइन, धम्क्याउने भाषा र शैलीमा प्रस्तुत भइरहेका छन् । आफ्नो पार्टी र उम्मेदवारलाई भोट नहाले देश दुर्घटनामा पर्ने भनेर पुष्पकमल दाहालको चेतावनी आएको छ । यस्तै अराजनीतिक भाषा प्रयोग गरेकी छन् प्रधानमन्त्री–पत्नी आरजु राणा देउवाले । डडेलधुरा पुगेर उनले कांग्रेसको मेयर नचुनिए त्यहाँ पैसा अर्थात् बजेट पनि जाँदैन भनेकी छन् । मानौं देशको बजेट उनको निजी सम्पत्ति हो । यो अभिव्यक्ति अराजनीतिक त छँदै छ, अत्यन्त आपत्तिजनक पनि । यस्तो अभिव्यक्तिले त अलिअलि बाँकी रहेको चुनावको मर्यादा पनि सिद्धिन्छ । यदि कांग्रेसमा लोकतन्त्रको कुनै मूल्य बाँकी छ भने पार्टीको आधारभूत सिद्धान्तविपरीत बोलेकामा उनीमाथि कारबाही हुनुपर्ने हो ।

जहाँसम्म मतदाताको कुरा छ, उनीहरूले त गएको चुनावमा दाहाल, माधव नेपाल र खड्गप्रसाद ओलीले भनेका चुनाव चिह्न र उम्मेदवारहरूलाई मनग्गे भोट दिएका थिए । त्यो भोटको हालत के भयो ? त्यसको हिसाबकिताब जनताले खोजे उनीहरूको जवाफ के हुने ? सबै दोष ओलीतर्फ देखाएर दाहाल, नेपाल पनि चोखिन सक्दैनन् । चुनावमा जनताले दिएको मत र आफ्नो जितलाई जोगाउन नसक्ने नेताले त भोट माग्न पनि लाज मान्नुपर्ने हो । माओवादी, एमाले र कांग्रेस कसैले पनि आफूले पाएको भोट जोगाउन नसकेको इतिहास छ । आरजुको भाषण त भुइँफुट्टा राजनीतिको चरम उदाहरण भएको छ । यसले त कांग्रेसप्रति बाँकी रहेको सहानुभूति पनि सिध्याउने देखिन्छ ।

लोकतन्त्रको निरन्तरताका लागि चुनाव अनिवार्य छ, त्यसैले यसप्रति निरपेक्ष रहने कुरा भएन, तर राजनीतिक दल र नेता नसुध्रिने हो भने चुनावको सैद्धान्तिक एवं बौद्धिक व्याख्या गरेर मात्र कहीँ पुगिँदैन । मतदाता पनि अपेक्षित रूपमा सचेत हुन सके चुनाव भनेको राजनीति सुधार्ने अवसर पनि हो । पार्टीप्रतिको कथित आस्थाबाट मुक्त सचेत मतदाताले गलत प्रवृत्ति र नेताका स्वार्थका लागि प्रस्तुत गरिएका उम्मेदवारलाई अस्वीकार गरेर अर्थात् मत नदिएर चुनावलाई राजनीति सुधार्ने अवसर साबित गर्न सक्छन् । चुनावमा एउटा उम्मेदवारले अर्को उम्मेदवारलाई हराउने होइन, कुनै उम्मेदवारले आफैं जित्ने पनि होइन । उनीहरूलाई जिताउने वा हराउने त हाम्रो मतले हो । राजनीतिमा मौलाउँदै गएको परिवारवाद, नेताहरूको स्वेच्छाचारिता र गलत प्रवृत्तिलाई सम्भव भएसम्म फाल्ने अवसर यही चुनाव हो । मतदानको पूर्वसन्ध्यामा यसतर्फ मतदाताको चेतना जागोस् भन्ने मेरो शुभकामना पनि छ ।

नेपालको राजनीतिमा बेथिति त धेरै छन्, तीमध्ये अहिले मौलाउँदै गएको परिवारवाद पनि हो । यसमै केन्द्रित भएर केही विमर्श गर्नु सान्दर्भिक होला भन्ने लागेको छ । यो चुनावमा मात्र होइन, २०४८ सालदेखि नै नेताका छोराछोरी, पतिपत्नी लगायत आफ्नै परिवारका व्यक्तिलाई उम्मेदवार बनाइएका चर्चा र टीकाटिप्पणीहरू आउने गरेका छन् । चुनावका बेला यस्ता टिप्पणीहरू अस्वाभाविक पनि होइनन्, तर ती गलत छैनन्, जायज छन् । पार्टीका नेताले संघर्षमा साथ दिएका छन्, पार्टीमा योगदान गरेका छन्, र योग्य छन् भनेर आफ्ना परिवार र आफन्तजनलाई चुनाव लडाउने काम लोकतान्त्रिक संस्कार होइन । यो प्रवृत्ति चुनावी निष्पक्षताको विपरीत पनि हो । यसलाई मतदाताले अस्वीकार गर्न सक्नुपर्छ । हाम्रा राजनीतिक दलहरूको सदस्यता वितरण र नेतृत्व संरचना नै नेताको परिवारमुखी छ । राजनीतिमा परिवारको यो लर्को रोक्न पार्टीको संरचनामै परिवर्तन आवश्यक छ ।

यो चुनावमा पनि स्थानीय वडादेखि महानगरका मेयर–उपमेयरमा प्रमुख भनिएका नेताहरूका परिवारजन र आफन्तहरूलाई उम्मेदवार बनाइएको छ । त्यो सबैको चर्चा यो संक्षिप्त लेखमा सम्भव छैन, काठमाडौं र भरतपुर महानगरलाई मैले यहाँ प्रतिनिधि उदाहरणका रूपमा लिएको छु । काठमाडौंमा एमालेका तर्फबाट उम्मेदवारी पाएका केशव स्थापित आफ्नै बोली र विवादका कारण चर्चित भएका छन् भने कांग्रेसका तर्फबाट उम्मेदवारी पाएकी सिर्जना सिंह र भरतपुर महानगरमा माओवादी केन्द्रकी रेणु दाहाल परिवारका कारण चर्चामा छन् । यस्तै, भरतपुर महानगरमा कांग्रेसको तर्फबाट विद्रोही उम्मेदवारका रूपमा चर्चित जगन्नाथ पौडेल छन् । जगन्नाथजी मेरा पुराना मित्र पनि हुन् । उनको राजनीतिक निष्ठा र सार्वजनिक व्यवहारसँग म राम्ररी परिचित छु ।

यहाँ मेरो उद्देश्य राजनीति गर्नेको निजी स्वार्थ र त्यसबाट उत्पन्न राजनीतिक विचलनप्रति मतदाताको ध्यानाकषर्ण गर्ने हो, उनीहरू सजग होऊन् भन्ने हो । उम्मेदवार र पार्टीका नेतृत्वलाई मात्र औंला ठड्याएर पुग्दैन, ऐनमौकामा मतदाताले पनि आफ्नो भूमिका खरो रूपमा निर्वाह गर्न सक्नुपर्छ । आम मतदाताबाट त्यो अपेक्षा गर्न कठिन होला, तर जागरुक मतदाता मात्र त्यसप्रति सजग हुने हो भने पनि स्थिति बदल्न सकिन्छ, अर्को चुनावमा दलहरू मतदाताको चाहना बुझ्न बाध्य हुनेछन् । त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण समय भनेको मतदानको समय नै हो । वैशाख ३० गते हामीले मतदान गर्दा सही निर्णय र विवेकको प्रयोग गर्न चुक्यौं भने निर्वाचित प्रतिनिधि खराब भए भनेर सडकमा उफ्रिनुको औचित्य पनि कमजोर हुन्छ । सडकमा गएर विरोध गर्न हुँदैन भन्ने मेरो आशय होइन, त्यसभन्दा अघि आफ्नो हातमा निर्णयको अधिकार भएका बेला बढी ध्यान पुगोस् भन्ने हो ।

लोकतान्त्रिक राजनीतिमा परिवारवादको समस्या नेपालमा मात्र होइन, अन्यत्र पनि छ । भारतमा नेहरू–गान्धी परिवार, अमेरिकामा केनेडी परिवार विश्वव्यापी रूपमा चर्चित छन् । भारतमा परिवारवादको राजनीति भित्र्याउने जवाहरलाल नेहरू नै हुन् । उनी आफू प्रधानमन्त्री छँदै बहिनी विजयालक्ष्मी पण्डित, छोरी इन्दिरा गान्धी, ज्वाइँ फिरोज गान्धी सब राजनीतिमा थिए । उनकै संरक्षणमा नेहरू–गान्धीको राजनीतिक परिवारवृक्ष हुर्के–बढेको हो । कुनै बेला नेहरू–गान्धी परिवार चुनावमा भारतीय कांग्रेसको मत माग्ने सबैभन्दा प्रभावकारी माध्यम थियो । तर आज त्यो भाँडो कबाडी साबित भएको छ । पारिवारिक विरासत र परिवारवादले लोकतान्त्रिक राजनीति धान्न सक्दैन भन्ने टड्कारो उदाहरण भारत हो, भारतीय कांग्रेस हो ।

संयुक्त राज्य अमेरिकामा केनेडी परिवारका कतिपय सदस्य अहिले पनि राजनीतिमा छन् । अमेरिकामा केनेडी परिवारप्रति राजनीतिक आकर्षण थियो, त्यसलाई डेमोक्रेटिक पार्टीको राजनीतिक पुँजी भनेर पनि मानिन्थ्यो । केनेडी परिवारको राजनीतिक विरासत अहिले पनि कायम छ । क्यानडाका वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोका बाबु पेरे ट्रुडो पनि प्रधानमन्त्री थिए, सन् १९७१ मा जस्टिन जन्मिँदा । अमेरिका, क्यानडा र युरोपका देशहरूमा उम्मेदवारीका लागि पार्टीभित्र जुन प्रतिस्पर्धा हुन्छ, त्यो हेर्दा पारिवारिक विरासतले मात्र सहजै कोही उम्मेदवार बन्न सक्तैन । तर भारतसहित दक्षिण एसिया र अन्य कतिपय अफ्रिकी–एसियाली देशमा परिवारवादको जुन राजनीति छ, त्यो युरोप–अमेरिकामा छैन, तुलना गर्न मिल्दैन । सन्दर्भका लागि मात्र मैले यहाँ उल्लेख गरेको हुँ ।

नेपालमा पनि कोइराला परिवार राजनीतिक आकर्षणको केन्द्र थियो । नेपालमा राजनीतिक परिवर्तनका लागि भारतमा नेहरू परिवारको भन्दा कोइराला परिवारको भूमिका कम छैन । कृष्णप्रसाद कोइरालादेखि सुरु भएको त्यो भूमिका मातृका, बीपी हुँदै गिरिजाप्रसाद कोइरालासम्मले निर्वाह गरे । तर बीपीले आफू राजनीतिमा सक्रिय होउन्जेल भाइभतिजा वा छोराहरूलाई चुनाव लडाउने, मन्त्री बनाउने मात्र होइन, कुनै राजनीतिक नियुक्ति पनि गर्नुभएन । २००३ सालमा विराटनगर जुट मिलको आन्दोलनमा होस् वा २००७ सालको क्रान्तिमा, कोइराला परिवारका आमा, छोरा, भाइबहिनीहरूको संलग्नता कम थिएन; सिंगो परिवार नै होमिएको थियो । तर २००७ सालपछि त्यसलाई देखाएर परिवारजनलाई चुनावमा उम्मेदवार बनाउने र सरकारमा छँदा राजनीतिक सुविधाको पदमा ल्याउने काम बीपीले गर्नुभएन । आफ्नो परिवार मात्र होइन, पार्टीको नेतृत्व पंक्तिमा रहेका अरूलाई पनि त्यस्तो गर्न दिनुभएन ।

२०१५ सालको चुनावमा मंगलादेवीले भक्तपुरबाट स्वतन्त्र उम्मेदवारी दिंँदा ‘यदि फिर्ता नलिए तपाईंको विरुद्ध गणेशमानजीलाई प्रचार गर्न लाउँछु’ भनेर दबाब दिएपछि मंगलादेवी आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य हुनुभएको थियो । मंगलादेवी कांग्रेसका तर्फबाट सांसदको उम्मेदवार बन्न अयोग्य पनि हुनुहुन्नथ्यो । २००७ सालको क्रान्तिमा, पार्टी संगठनमा उहाँको पनि योगदान थियो । तर गणेशमान र उहाँ दुवै उम्मेदवार बन्ने कुरा बीपीलाई स्वीकार्य थिएन । यस्तै, कम्युनिस्ट पार्टीमा साधना र साहना प्रधानको भूमिका पनि कम थिएन, २००७ सालको क्रान्ति र कम्युनिस्ट पार्टीको निर्माणमा । तर पुष्पलाल र मनमोहन दुवै राजनीतिक नेतृत्वमा सक्रिय रहेकाले उहाँहरूलाई पनि कम्युनिस्ट पार्टीले २०१५ सालको चुनावमा उम्मेदवार बनाएको थिएन ।

नेपालको क्रान्तिमा गणेशमान सिंह र उहाँको परिवारको योगदान कम छैन । २०४६ सालको क्रान्तिका महानायक नै गणेशमान हुनुहुन्थ्यो । गणेशमान आफू पदीय राजनीतिबाट अलग रहेको अवस्थामा त्यो परिवारबाट कोही राजनीतिमा आउनु अन्यथा पनि थिएन । तर २०४८ सालको संसदीय निर्वाचनमा मंगलादेवी र प्रकाशमान आमाछोरा नै उम्मेदवारका रूपमा प्रस्तुत हुनुलाई जनताले उचित मानेनन्, मतदातालाई पनि स्वीकार्य भएन, दुवैको पराजय भयो । तर एमालेका केही जोडी उम्मेदवारले भने चुनाव जितेका पनि थिए । यस पटक सिर्जना सिंहको उम्मेदवारी कांग्रेसका लागि राम्रो कुरा होइन । हारजित एउटा कुरा हो, तर यसले आम जनतामा कांग्रेसप्रति कुनै सकारात्मक सन्देश दिएको छैन । सिर्जना सिंह वा रेणु दाहाललाई उम्मेदवार बनाउनु हुँदैन भन्ने होइन, त्यसका लागि पहिले प्रकाशमान र पुष्पकमलले राजनीतिबाट विश्राम लिनुपर्छ । यस्तै आरजुलाई राजनीतिमा अघि बढाउँदा शेरबहादुर देउवाले पहिले राजनीतिबाट विश्राम लिनुपर्दथ्यो । त्यसो भएमा मात्र यो स्वस्थ प्रतिस्पर्धा मानिन्छ र परिवारवाद भयो भन्न पनि मिल्दैन ।

परिवारवादको सबैभन्दा नग्न रूप २०६४ सालमा संविधानसभाको चुनावदेखि देखिएको हो । यो मामिलामा माओवादीले एमालेलाई पनि उछिन्यो । दुवैले सँगै बन्दुक बोकेका, संघर्षको मोर्चामा खटेका भनेर पतिपत्नीको जोडीका जोडी संविधानसभामा पुगे । समानुपातिक प्रतिनिधित्व त परिवारवादको भर्‍याङ नै साबित भयो । कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले समानुपातिक सूची रोजे; उनका छोरी, भतिजाहरू प्रत्यक्षतर्फ उम्मेदवार थिए । तर मतदाताले त्यो रुचाएनन्, बीपीपुत्र शशांक कोइरालाले जिते पनि सुजाता, शेखर कोइरालाले चुनाव हारे । देउवाले पनि पत्नी आरजुलाई समानुपातिक सूचीबाट अघि बढाए । आरजु र देउवा जोडी दुवै संविधानसभामा सदस्य थिए । मतदाताले अस्वीकार नगरेका भए अहिलेको संसद्मा पनि सँगै हुने थिए । दोस्रो संविधानसभादेखि सुजाता पनि समानुपातिक सूचीबाट संसद्मा छिन् । राजनीतिमा लागेका कारण दुःख पाउने परिवार कोइराला, सिंहबाहेक पनि कांग्रेसमा हजारौं छन् । यस्ता परिवार एमाले र माओवादीमा पनि छन् । फेरि पारिवारिक विरासत बोक्दैमा राजनीतिक क्षमता हुँदैन भन्ने उदाहरण शशांक, सुजाता र आरजु नै छन् ।

नेता र पार्टीहरूमा परिवारमोह र परिवारवादी प्रवृत्ति देख्दा लोकतन्त्र, गणतन्त्रको नारा फजुल लाग्छ । चुनावको उम्मेदवारीमा मात्र यो सीमित छैन, राजनीतिक/कूटनीतिक नियुक्ति, ठेक्कापट्टा, व्यापार–व्यवसाय सर्वत्र व्यापक छ । गणतन्त्र त जंगबहादुरका सात भाइ र धीरशमशेरका सत्र भाइ छोराको अर्को अवतारजस्तो देखिन थालेको छ । तर विचारणीय कुरा के हो भने, यसका कारण स्थापित नेताहरू नै बदनाम पात्र भनेर इतिहासमा गनिने भएका छन् । यसले तत्कालका लागि लोकतन्त्र, गणतन्त्रलाई घात गरे पनि जनता जागरुक भएपछि परिवारवाद कायम रहन सक्तैन । समय गतिशील छ, एक दिन त्यो समय अवश्य आउनेछ, लोकतन्त्रमा सुधार सम्भव छ । यो यही चुनावबाट पनि प्रारम्भ हुन सक्छ मतदाता सचेत भए, तर बदनाम भइसकेपछि नेताहरूको बदनामी इतिहासबाट मेटिँदैन ।

प्रकाशित : वैशाख २५, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×