‘राम-सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर हुँदैन : देउवा - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राम-सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर हुँदैन : देउवा 

सन्तोष सिंह

धनुषा — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता भएका बुबाआमाका छोराछोरीले चाँडै नागरिकता पाउने बताएका छन् । 'बुबाआमाले नागरिकता पाएका छोराछोरी मधेसमा नागरिकता पाएका छैनन्', देउवाले भने,‘आमा बुबाको नागरिकता हुने छोरोछोरीलाई गठबन्धनको सरकारले चाँडै नागरिकता उपलब्ध गराउने छन् ।’ 

जनकपुरधाममा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेसको हक दिलाउने गठबन्धनको प्रमुख प्राथमिकता रहेको बताए । ‘राम–सीता’को गठबन्धन भएको ठाउँ जनकपुरमा पाँच दलीय गठबन्धन कमजोर नहुने बताए । नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर आएका प्रधानमनत्री देउवाले पार्टीको अनुशासनमा बसेर गठबन्धनका उम्मेदवारलाई विजयी गराएर गठबनधन टिकाउन कार्यकर्तालाई आग्रह गरे ।

'गठबन्धनलाई अब पराजित हुने छुट छैन,' उनले भने,‘देशभरि गठबन्धनको पक्षमा माहोल छ । असन्तुष्टि हुन सक्छन् । गठन्धनको विरोध सह्य हुँदैन ।’

प्रकाशित : वैशाख २४, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

क्रसरवाला उम्मेदवार बन्दा त्रसित मतदाता

क्रसर उद्योगमार्फत सिंगो बस्तीलाई हानि गर्नेले चुनाव जित्दा ज्यादती झन् बढ्ला भन्ने सम्झेर स्थानीय बासिन्दा बेचैन
सन्तोष सिंह

धनुषा — महोत्तरीको भंगहा नगरपालिका–४ को रातु नदी किनारस्थित पलार टोलकी ६५ वर्षीया देवकीदेवी बातर एक सातायता राति शान्तसँग सुत्न पाएकी छन् । घरछेउकै क्रसर उद्योग राति चल्न छाडेपछि उनले निद्रा राम्ररी पुर्‍याउन पाएकी हुन् । ‘रातभर क्रसर चल्दा, खटखट गर्दै टिपर गुड्दा भूकम्प आएजस्तै लाग्थ्यो । झपक्क सुत्न पनि पाइँदैनथ्यो । चुनाव आएपछि शान्त भएको छ,’ देवकीदेवीले भनिन् । 

रातु नदी किनारमा ११ वटा क्रसर उद्योग छन् । तीमध्ये तीनवटाका सञ्चालक स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । सीता माई गिट्टी बालुवा वासिङ सेन्टरका सञ्चालक विजयकुमार मण्डल कांग्रेसबाट नगरप्रमुखमा उम्मेदवार बनेका हुन् । भतिजसहित तीन जनाको नाममा दर्ता रहेको क्रसर उद्योगमा पनि उनको लगानी छ । यस्तै पञ्चुधुरा क्रसर उद्योगका सञ्चालक प्रह्लाद क्षेत्री बर्दिबास नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार छन् । भंगहा–४ मा जनमत पार्टीबाट वडाध्यक्षका उम्मेदवार अशोकप्रसाद साह पनि क्रसर सञ्चालक हुन् । उनको सुरज क्रसर उद्योग रातु नदीमै छ ।

क्रसर उद्योगका कर्मचारी र श्रमिक चुनावी प्रचारप्रसारमै खटिएका छन् । प्रचारप्रसारमा कर्मचारी नगएका बेला भने दिउँसो केहीबेर क्रसर उद्योग चल्छन् । उम्मेदवारहरूले हरेक साझ भोज गर्ने हुनाले श्रमिकहरू साँझ त्यतै जान्छन् । त्यसैले राति उद्योग सञ्चालन ठप्प भएको स्थानीयले सुनाए । टिपर चालकहरूले उम्मेदवारको प्रचारप्रसार गर्ने गाडी चलाउने गरेका छन् । अरू बेला टिपरले उडाएको धूलोले छोपिने टोलको चौतारीमा मान्छे बस्न थालेका छन् । पलार टोलका पल्टु बतारले सुनाए, ‘लामो समयपछि चौतारी भरिभराउ देखिन थालेको छ ।’

पलार टोलमा ४० घरधुरी छन् । पलार टोलका धेरैजसो बासिन्दा रातु नदी किनारमा गिट्टी कुटेर र बालुवा चालेर गुजारा चलाउँथे । ५ वर्षअघि क्रसर उद्योग खुल्न थालेपछि स्थानीयको रोजगारी खोसियो । सँगै क्रसर उद्योगले प्रदूषण बढायो भने टोलको बिचोबीच हुइँकिने टिपरले त्राहिमाम् स्थिति निम्त्यायो । त्यति मात्रै होइन, २०७६ असारमा क्रसरकै टिपरले किचेर सोनियादेवीकी डेढ वर्षीय नाति ओम सरदारको मृत्यु भयो । लाइसेन्स नभएको चालकले चलाएको टिपरले बालकलाई किचेको थियो । स्थानीयले न्यायका निम्ति हारगुहार गरे तर स्थानीय नेता र प्रहरी टिपरवालाकै पक्षमा लाग्दा मुद्दा प्रक्रिया नै सुरु हुन सकेन । क्रसर सञ्चालकबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएर चुप लगाइयो । स्थानीयका अनुसार त्यतिबेला भंगाहका तत्कालीन मेयर सञ्जीव शाह र वडाध्यक्ष अशोक महतोलगायतले पीडित परिवारलाई मिल्न दबाब दिएका थिए । तत्कालीन मेयर साह भने आफू समवेदना दिन मात्रै पीडितको घर पुगेको, कुनै दबाब नदिएको दाबी गर्छन् । उनले प्रस्टीकरणको भाषामा भने, ‘मुद्दा प्रक्रियामा सहयोग गर्ने बताएको थिएँ तर पीडित परिवार आफैं तयार भएन ।’

भंगहा नगरपालिकामा भने निवर्तमान मेयर साहमाथि कार्यकालको अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई ‘सेटिङ’ गरेर आफू नजिकका व्यक्तिलाई खोला उत्खननको ठेक्का दिएको आरोप लागेको छ । साह अहिले लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका उम्मेदवार छन् । मेयरकै अर्का उम्मेदवार विजयकुमार मण्डलले नगरपालिकाले उत्खननका लागि लगाएको ठेक्काविरुद्ध उच्च अदालत जनकपुरमा रिट नै दायर गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गत बाँके नदीमा नवबुद्ध क्रसर उद्योग सञ्चालन गर्दै आएका समर लामाकी श्रीमती लालकुमारी लामा लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुखको उम्मेदवार बनेकी छन् । महोतरी–सर्लाहीको सिमाना बाँके नदी र सागरनाथ वन क्षेत्रमा चार वर्षयता राजनीतिक आडमा अवैध उत्खनन गर्दै आएका लामाले नवबुद्ध क्रसर उद्योग आफूले बेचेको घोषणा गरी गाउँमा मत माग्न थालेको स्थानीय बताउँछन् ।

गौशाला नगरपालिकाले भने चुनावको मुखमा नदीजन्य स्रोतको उत्खननले मतदातामा नकारात्मक असर पर्ने भएकाले बाँके, मरहा र सोनी खोलामा उत्खनन रोकेको छ । प्रक्रिया पूरा गरेका उद्योगलाई पनि चुनावपछि मात्रै उत्खननको अनुमति दिने नगरको तयारी छ ।

क्रसरको विरोध गर्दा डाँका मुद्दा
रातु नदीमा हुने अवैध उत्खननको विरोधमा स्थानीय बासिन्दाले कति बोले, लेखाजोखा छैन । उनीहरूले क्रसर उद्योगले सडक भत्काएकामा विरोध गरेनन् कि, सडकमा धूलो उड्दा पानी छर्किनुपर्ने माग राखेनन् । तर उनीहरूका माग क्रसर सञ्चालकले नेता र प्रहरी लगाएरै किनारा लगाए । कुनै बेला आर्थिक प्रलोभनमा पारे । कुटपिट गरेर वा फर्जी मुद्दा लगाएरसमेत चुप बस्न बाध्य पारिएका घटना पनि छन् ।

क्रसर उद्योगको अवैध उत्खननविरुद्ध २०७६ जेठमा स्थानीयले क्रसर उद्योगमा गएर आवाज उठाएका थिए । सुनुवाइ नभएपछि उनीहरूले अवैध उत्खनन गरेका क्रसर उद्योगका टिपर, लोडर र जेसीभी नियन्त्रण गरेर प्रहरीलाई बुझाएका थिए । तर केही दिनपछि पञ्चुधुरा गिट्टी बालुवा वासिङ सेन्टरमा लुटपाट गरेको भन्दै भंगहा–४ का सन्तोष महतो, गंगाप्रसाद महतो, हीरालाल महतो र सञ्जीव साहविरुद्ध जिल्ला प्रहरीले अनुसन्धान सुरु गर्‍यो । हीरालाललाई भंगहा प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिटसमेत गरे । प्रहरीले बुझाएको प्रतिवेदनकै आधारमा जिल्ला अदालत महोत्तरीमा चारै जनाविरुद्ध डाँका मुद्दा दर्ता भयो । यो मुद्दा अहिले विचाराधीन छ । हरेक महिना पेसी तोकिन्छ तर अन्तिम समयमा त्यो पनि सर्छ ।

अदालतमा हाजिर हुन गएका हीरालाल महतो १ लाख धरौटी राखेर साधारण तारिखमा छुटेका थिए । त्यसलगत्तै ०७६ मंसिर २२ मा अदालतको पत्र लिएर हाजिर हुन गएका २७ वर्षीय सन्तोष र गंगाप्रसादलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो । पुनरावेदन गरेपछि जिल्ला कारागार महोत्तरीबाट पुस २५ मा १/१ लाख धरौटी राखेर उनीहरू दुवै छुटे । सञ्जीव भने नागरिकताको नाम र बुबाको नाम उजुरीमा नमिल्दा थुनामा जानबाट बचेका छन् । उनीहरूलाई जुन क्रसर उद्योगमा तोडफोड र डाँका गरेको मुद्दा लगाइएको थियो, त्यही क्रसर उद्योगले वडाध्यक्ष अशोक महतोमार्फत अदालतमा धरौटी बुझाइदिएको थियो । यसरी धरौटी रकमका लागि समन्वय भने भंगहा नगरपालिका मेयर सञ्जीव साहले गरेको स्थानीयको भनाइ छ । ‘उत्खननको विरोध गर्दा स्थानीयमाथि क्रसर व्यवसायीले झूटा मुद्दा लगाएकाले अदालतमा धरौटी राख्न मैले आर्थिक सहयोग गरेको हो,’ मेयर साहले भने ।

गत चुनावमा राजपाबाट निर्वाचित मेयर साह पनि प्रहरीको आडमा क्रसर सञ्चालकहरूले अवैध उत्खनन गरेको बताउँछन् । उनले अवैध उत्खननमा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरे । ‘नदीमा अवैध उत्खनन गराउने काममा मेरो कुनै संलग्नता छैन । विपक्षीले फसाउन आरोप लगाएका हुन्,’ उनले भने । अदालतमा मुद्दा खेपिरहेकाहरूका अनुसार स्थानीय तहका उम्मेदवारहरूले उनीहरूलाई धम्क्याइरहेका छन् । ‘निर्वाचनमा सहयोग गरे मुद्दाको फैसला गराउन सहयोग गर्ने, नत्र जेल जान तयार रहनुपर्ने धम्की आइरहेको छ,’ सन्तोष महतोले भने ।

क्रसर उद्योगमार्फत सिंगो बस्तीलाई हानि गर्नेले चुनाव जित्दा ज्यादती झन् बढ्ला भन्ने सम्झेर स्थानीय बासिन्दा बेचैन छन् । ‘हाम्रो समस्या कसैले देखेनन्,’ पलार टोलकी देवकीदेवीले भनिन्, ‘गाउँटोलमा उनीहरूकै बोलवाला छ । उनीहरू नै चुनावमा उठेर गाउँमा मासु र दारु बाँड्न थालेका छन् । पैसामा किन्ने धम्की दिँदै छन् ।’

मुहान सुक्यो, खेत बग्यो
रातु नदीबाट पलार टोल हुँदै बग्ने कुलोको पानीले सय बिघाभन्दा बढी खेत सिञ्चित हुन्थ्यो । पछिल्लो समय कुलोमा आउँदैन । क्रसर उद्योगले अवैध रूपमा १०/१५ फिट गहिरो गरी उत्खनन गर्दा नदी कुलोभन्दा धेरै तल बग्ने गर्छ । क्रसर सञ्चालकले नदीलाई पोखरी जस्तै गहिरो बनाउँदै लगेको स्थानीय ओपिन्दर सरदारले बताए । ‘कुलोमा पानी आउन छाडेपछि पम्पसेटले सिँचाइ गर्नुपरेको छ । त्यसका लागि पैसा तिरेर पनि पालो कुर्नुपर्छ । पहिले कुलो चल्दा पैसा तिर्नु पर्दैनथ्यो,’ उनले भने ।

रातु नदीको पानीले भंगहाको पलारसँगै बिर्ता, मजरा, हतिसर्वा, जमुनियालगायत क्षेत्रमा सिँचाइ हुन्थ्यो । ‘अहिले त कुलोमा नदीको पानी चढ्नै सक्दैन,’ स्थानीय विकास सरदारले भने ।

रातु नदीको बाढीबाट बस्ती र उब्जाउ खेत जोगाउन बाँध बनाइएको थियो । ‘जनताको तटबन्धन’ भनिने यस्तो बाँधलाई नदीजन्य पदार्थ ढुवानी गर्न भन्दै क्रसर उद्योगीले भत्काइदिएका छन् । भत्किएको ठाउँबाट रातुको बाढी सोझै स्थानीयको खेतमा पस्छ । जसका कारण बालीमा क्षति पुग्ने गरेको छ । भंगहा–४ का ७३ वर्षीय चौठी बातरले रातु नदीको बाढीले पलार बस्तीभन्दा दक्षिणको ५० बिघाभन्दा बढी खेत कटान गरेको बताए । रातुको बाढीले चौठीको मात्रै एक बिघाभन्दा बढी जग्गा कटान गरेको छ । ‘बाँध मर्मतका लागि नगरपालिका, नदी नियन्त्रण कार्यालय जलेश्वर पटक–पटक गयौं । तर हाम्रो कुरा कसैले सुनेनन्,’ चौठीले भने ।

प्रकाशित : वैशाख २१, २०७९ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×