निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउन सरकारलाई लेखी पठाउने आयोगको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गराउन सरकारलाई लेखी पठाउने आयोगको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ ।

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैगरी स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २२, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसका बागी उम्मेदवार पार्टीबाट स्वतः निष्कासित

विवरण पठाउन जिल्ला कार्य समितिलाई निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टी निर्देशनविपरीत उम्मेदवारी दिने र समर्थन गर्नेको विवरण पठाउन जिल्ला कार्य समितिहरूलाई निर्देशन दिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका सबैजना पार्टीबाट स्वतः निष्कासित भएको स्मरण गर्दै कांग्रेसले विवरण पठाउन सम्बन्धित जिल्ला समितिहरूलाई निर्देशन दिएको हो ।

कांग्रेसले विभिन्न पदमा दलगत वा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुको उम्मेदवारी फिर्ताका लागि वैशाख १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म समय तोक्दै सूचना जारी गरेको थियो ।

यस्तै, आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन अनुरोध गर्दै २०७९ वैशाख १९ गते प्रेस विज्ञप्ति मार्फत अनुरोध गर्दा समेत अटेर गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरुको पार्टी सदस्यता खारेज गरेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्कासन भएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : वैशाख २२, २०७९ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×