सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गर्‍यो : ओली- समाचार - कान्तिपुर समाचार

सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गर्‍यो : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाएका छन् । कैलालीको बौनियामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको बताए । 

‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो,’ ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’

प्रकाशित : वैशाख २२, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्

भोजेघाटका स्थानीय भन्छन् : नेताका मुख हेर्न चुनावै आउनुपर्छ

जति चुनाव आए पनि माझीगाउँको दु:ख उस्तै
‘सबका सब नेता चोर निस्के, चुनावमा अनुहार देखाउनबाहेक कोही आउने हैनन्, गाउँमा रोड आउँछ भनेको वर्षौं भयो, दूधकुण्ड जाने बाटो यही गाउँ भएर आउँछ भन्थे अहिलेसम्म आएन ।’
कुम्भराज राई

ओखलढुंगा — पारी खोटाङको रावाबेंसी गाउँपालिका–३ । वारी ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ । बीचमा दूधकोसी नदी । किनारमा छ भोजेघाट । भोजेघाटका ज्येष्ठ नागरिक हुन् सार्के माझी । ९० सालको भुईंचालोमा जन्मेका सार्के ८९ वर्षका भए ।

सार्केलाई बेस्सरी गाडी लाग्छ । गाउँदेखि डेढ घण्टा पिठ्यूँमा बोकेर छोरानातिले सडकमा पुर्‍याउँछन् । गाडी चढेर दुई घण्टामा सदरमुकाम पुग्दा उल्टी गरेर शिथिल हुन्छन् । ‘तपाईँ बिरामी हुनुहुन्छ कि क्या हो भनेर बैंकका मान्छेले सोध्छन्,’सार्केले भने, ‘आफूलाई गाडी लागेर टाउको उठाउन भाको हुँदैन, अरु बिमारी त के हुन्थ्यो र ?’

यति सुनाउँदा सार्के रिसले मुर्मुरिइसकेका थिए । ‘पहिले यहीँ भदौरे (हालको वडा) मै वृद्ध भत्ता पाइन्थ्यो,’उनले भने,‘अहिले सुविधा हुन्छ होला भनेको ओखलढुंगा (सदरमुकाम) पुग्नुपर्ने भयो, लौ त भन्ने हो भने घरमा ल्याएर भत्ता दिनुपर्नेमा यही हो सुविधा ?’

उनी हिजोआज गाउँमा नयाँ मान्छे देख्यो कि गाली गर्छन् । ‘के तमासा देखाउन आको ?,’ नेता होला भन्ने अनुमानमा रिस पोखे, ‘यहाँ कोही आएर केही हुनेवाला छैन । सबै ढाँट्न आउने त हुन् । गरिबलाई ठग्न पाइन्छ कि भन्ने मात्रै हो ।’

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ६ भोजेघाटका ८९ वर्षीय सार्के माझी ।

२०१५ देखि हालसम्म सार्केले १० वटा चुनावमा भोट हाले । ‘सबका सब नेता चोर निस्के,’उनले भने,‘चुनावमा अनुहार देखाउनबाहेक कोही आउने हैनन्, गाउँमा रोड आउँछ भनेको वर्षौं भयो, दूधकुण्ड जाने बाटो यही गाउँ भएर आउँछ भन्थे अहिलेसम्म आएन ।’

आफूलाई गाडी लाग्ने भए पनि गाउँबाटै गाडी कुदेको हेर्ने ठूलो इच्छा छ सार्केको । बिस्तारै उनलाई आश मर्न थालेको छ । ‘नेताहरु काठमाण्डु, धरानमा मुण्डे घर बनाउँछन्, हाम्रो दु:ख ज्यूँका त्यूँ,’ हरेश खाँदै सार्केले भने ।

१७ घरधुरी माझीहरु भएको भोजेबस्तीले पछिल्लो पाँच वर्षमा थोरै आवरण फेर्‍यो । १२ घरमा जस्तापाताको छानो छ । पुनर्निर्माणको अनुदानमा केही घर बने । गएको दशैंदेखि बिजुली बत्ति बल्यो । ‘तर अहिलेसम्म मिटर रिडर गाउँमा आइपुगेका छैनन्,’ मंगले माझीले भने, ‘माथि भदौरेबाटै बिल पठाउँछन्, हामी पैसा पठाउँछौ ।’

‘मिटर रिडर नआई कसरी बिल काट्छन् त ?’ मंगलेले भने, ‘खै त्यो त हामीलाई थाहा छैन ।’ बिजुली ल्याउने काममा कति बजेट आयो गाउँलेलाई थाहा छैन । खाल्डो खन्ने, पोल बोक्ने, तार टाँग्ने सबै काम गाउँलेले गरेका हुन् ।

छोएन चुनावले

भोट माग्ने अवधि एक साता मात्रै छ । कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बलराम कटवालबाहेक कोही माझी बस्ती पुगेका छैनन् । गाउँ, बजार, चोक, टोल चुनावी रंगले रंगिएको बेला भोजेबस्ती सुनसान छ ।

माछा मार्ने मारिरहेका छन् । मकै छर्ने छरिरहेका छन् । चतुरे माझी आँगनको छेउमै पर्खाल बनाउन ढुंगा बोक्ने काममा व्यस्त छन् । ‘बिजुली ल्याइदियौँ, अब रोड ल्याइदिन्छौँ भनेका छन्,’ चतुरेले भने, ‘सबैले चुनावका बेला मख्ख पार्छन्, पछि हेरेको हेर्‍यै बनाउने हुन् ।’

भोट माग्न आएपछि फेरि नेताको मुख देख्न अर्को चुनाव आउनुपर्ने भोजेबस्तीका माझीहरु बताउँछन् । आउँछु भन्ने तर चुनावमा बाहेक नेताहरु कहिल्यै नआउने मंगलबहादुर माझीले बताए । माझीबस्तीमा ३२ जना मतदाता छन् । यहाँ कक्षा तीनसम्म पढाइ हुने कालिका आधारभूत विद्यालय छ । विद्यालयमा प्रधानाध्यापक महिनामा एकदुई पटक उपस्थित हुन्छन् । ६ जना केटाकेटी पढ्छन् ।

कक्षा तीनपछि पढ्नलाई डेढ घण्टाको बाटो उकालो चढेर भदौरे पुग्नुपर्छ । यहाँ बढीमा कक्षा १० सम्म पढ्ने छन् । १० कक्षा पास गर्ने तीन जना मात्रै छन् ।

दु:ख उस्तै

गाउँका चारजना वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । गाउँलेको मुख्य पेसा माछा मार्नु हो । दूधकोसीमा मारेको माछा नजिकको बजार रबुवा, भदौरे लगेर बेच्छन् । प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री हुने माछा मार्न सिजन कुर्नुपर्छ । सिजनमा एकघरले महिनामा १५–२० किलो माछा मारेर बेच्छन् ।

भोजेघाटका स्थानीय पिउनका लागि दूधकोसीको पानी बोतलमा भर्दै ।

माछा मार्नु माझीहरूको परम्परागत पेसा हो । पहिले नाउमा डुंगा तार्थे । थुप्रै पटक डुंगा पल्टियो । गाउँलेले ज्यान गुमाए । वारी भोजेघाटदेखि पारी खोटाङको तिर्पा तर्ने झोलुंगे पुल मागेको दशकौंमा पुल बन्यो ।

पुल बनाउने काममा ठेकेदारले माझी बस्तीको मान्छेलाई काम लगाए । पुल सकिने बेलामा काम गरेको झन्डै दुई लाख पैसा नदिई ठेकेदार भागे । कतिसम्म भने उनीहरुलाई ठेकेदारको नाम ठेगानासमेत थाहा छैन ।

‘काम लगाउनेलाई सोध्दा एउटाले अर्कोलाई देखाउँछन्,’स्थानीय भन्छन्,‘मुख्य ठेकेदार को हो भन्ने हामीलाई थाहा छैन, हामीले मरेर बगाएको पसिनाको मूल्य खाएर भाग्यो ।’ अहिले भोजेघाटमै एउटा लिफ्टिङको योजना चलिरहेको छ । भदौरे पानी लाने लिफ्टिङको काममा खटिएकाले फेरि समयमा पैसा पाएका छैनन् ।

भोजेघाटका मंगले माझी दूधकोसी नदीमा माछा मार्न जाल हान्दै ।

‘मेरै केटाकेटीले काम गरेको पैसा पाएका छैनन्, पूर्णे आइसक्यो । नुनतेल खानुपर्ने,’सार्के माझीले दु:खेसो पोखे,‘गरिबले चाहिँ खानु लाउनै पर्दैन जस्तो गर्छन् ।’ उनीहरूको गाउँमा चाहिँ फागुन लागेदेखि मुहान सुक्यो । धारा आँगनमा ठडिएका छन् । पानी आउँदैन । कोसीको पानी बोकेर पिउनुपर्छ ।

दूधकोसी नदी किनारका माझी यहाँका आदिवासी हुन् । कति पुस्तादेखि यहाँ बसे भन्ने यकिन छैन । सदरमुकामदेखि दुई–तीन दिन पैदल हिँड्नुपर्ने बस्तीमा सडक पुगिसके । तर भोजेघाटमा अझै सडक पुगेको छैन । कोही बिरामी भयो कि बोकेर कुदाइहाल्नुपर्छ । सुत्केरी व्यथा लाग्नेलाई सबैभन्दा बढी समस्या हुने गरेको स्थानीय सीता माझीले बताइन् । व्यथा लाग्यो कि स्ट्रेचरमा बोकेर कुदाउनुको विकल्प छैन ।

चुनावमा भोजेबस्तीका माझीहरु भोट बैंक बन्ने गरेका छन् । उनीहरूको आर्थिक अवस्था सुध्रिने कुनै कार्यक्रम स्थानीय सरकारले पुर्‍याएको छैन । भोजेबस्ती जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रूपमा परिचित छ ।

प्रकाशित : वैशाख २२, २०७९ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×