कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रसरवाला उम्मेदवार बन्दा त्रसित मतदाता

क्रसर उद्योगमार्फत सिंगो बस्तीलाई हानि गर्नेले चुनाव जित्दा ज्यादती झन् बढ्ला भन्ने सम्झेर स्थानीय बासिन्दा बेचैन
सन्तोष सिंह

धनुषा — महोत्तरीको भंगहा नगरपालिका–४ को रातु नदी किनारस्थित पलार टोलकी ६५ वर्षीया देवकीदेवी बातर एक सातायता राति शान्तसँग सुत्न पाएकी छन् । घरछेउकै क्रसर उद्योग राति चल्न छाडेपछि उनले निद्रा राम्ररी पुर्‍याउन पाएकी हुन् । ‘रातभर क्रसर चल्दा, खटखट गर्दै टिपर गुड्दा भूकम्प आएजस्तै लाग्थ्यो । झपक्क सुत्न पनि पाइँदैनथ्यो । चुनाव आएपछि शान्त भएको छ,’ देवकीदेवीले भनिन् । 

क्रसरवाला उम्मेदवार बन्दा त्रसित मतदाता

रातु नदी किनारमा ११ वटा क्रसर उद्योग छन् । तीमध्ये तीनवटाका सञ्चालक स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । सीता माई गिट्टी बालुवा वासिङ सेन्टरका सञ्चालक विजयकुमार मण्डल कांग्रेसबाट नगरप्रमुखमा उम्मेदवार बनेका हुन् । भतिजसहित तीन जनाको नाममा दर्ता रहेको क्रसर उद्योगमा पनि उनको लगानी छ । यस्तै पञ्चुधुरा क्रसर उद्योगका सञ्चालक प्रह्लाद क्षेत्री बर्दिबास नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार छन् । भंगहा–४ मा जनमत पार्टीबाट वडाध्यक्षका उम्मेदवार अशोकप्रसाद साह पनि क्रसर सञ्चालक हुन् । उनको सुरज क्रसर उद्योग रातु नदीमै छ ।

क्रसर उद्योगका कर्मचारी र श्रमिक चुनावी प्रचारप्रसारमै खटिएका छन् । प्रचारप्रसारमा कर्मचारी नगएका बेला भने दिउँसो केहीबेर क्रसर उद्योग चल्छन् । उम्मेदवारहरूले हरेक साझ भोज गर्ने हुनाले श्रमिकहरू साँझ त्यतै जान्छन् । त्यसैले राति उद्योग सञ्चालन ठप्प भएको स्थानीयले सुनाए । टिपर चालकहरूले उम्मेदवारको प्रचारप्रसार गर्ने गाडी चलाउने गरेका छन् । अरू बेला टिपरले उडाएको धूलोले छोपिने टोलको चौतारीमा मान्छे बस्न थालेका छन् । पलार टोलका पल्टु बतारले सुनाए, ‘लामो समयपछि चौतारी भरिभराउ देखिन थालेको छ ।’

पलार टोलमा ४० घरधुरी छन् । पलार टोलका धेरैजसो बासिन्दा रातु नदी किनारमा गिट्टी कुटेर र बालुवा चालेर गुजारा चलाउँथे । ५ वर्षअघि क्रसर उद्योग खुल्न थालेपछि स्थानीयको रोजगारी खोसियो । सँगै क्रसर उद्योगले प्रदूषण बढायो भने टोलको बिचोबीच हुइँकिने टिपरले त्राहिमाम् स्थिति निम्त्यायो । त्यति मात्रै होइन, २०७६ असारमा क्रसरकै टिपरले किचेर सोनियादेवीकी डेढ वर्षीय नाति ओम सरदारको मृत्यु भयो । लाइसेन्स नभएको चालकले चलाएको टिपरले बालकलाई किचेको थियो । स्थानीयले न्यायका निम्ति हारगुहार गरे तर स्थानीय नेता र प्रहरी टिपरवालाकै पक्षमा लाग्दा मुद्दा प्रक्रिया नै सुरु हुन सकेन । क्रसर सञ्चालकबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएर चुप लगाइयो । स्थानीयका अनुसार त्यतिबेला भंगाहका तत्कालीन मेयर सञ्जीव शाह र वडाध्यक्ष अशोक महतोलगायतले पीडित परिवारलाई मिल्न दबाब दिएका थिए । तत्कालीन मेयर साह भने आफू समवेदना दिन मात्रै पीडितको घर पुगेको, कुनै दबाब नदिएको दाबी गर्छन् । उनले प्रस्टीकरणको भाषामा भने, ‘मुद्दा प्रक्रियामा सहयोग गर्ने बताएको थिएँ तर पीडित परिवार आफैं तयार भएन ।’

भंगहा नगरपालिकामा भने निवर्तमान मेयर साहमाथि कार्यकालको अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई ‘सेटिङ’ गरेर आफू नजिकका व्यक्तिलाई खोला उत्खननको ठेक्का दिएको आरोप लागेको छ । साह अहिले लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका उम्मेदवार छन् । मेयरकै अर्का उम्मेदवार विजयकुमार मण्डलले नगरपालिकाले उत्खननका लागि लगाएको ठेक्काविरुद्ध उच्च अदालत जनकपुरमा रिट नै दायर गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गत बाँके नदीमा नवबुद्ध क्रसर उद्योग सञ्चालन गर्दै आएका समर लामाकी श्रीमती लालकुमारी लामा लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुखको उम्मेदवार बनेकी छन् । महोतरी–सर्लाहीको सिमाना बाँके नदी र सागरनाथ वन क्षेत्रमा चार वर्षयता राजनीतिक आडमा अवैध उत्खनन गर्दै आएका लामाले नवबुद्ध क्रसर उद्योग आफूले बेचेको घोषणा गरी गाउँमा मत माग्न थालेको स्थानीय बताउँछन् ।

गौशाला नगरपालिकाले भने चुनावको मुखमा नदीजन्य स्रोतको उत्खननले मतदातामा नकारात्मक असर पर्ने भएकाले बाँके, मरहा र सोनी खोलामा उत्खनन रोकेको छ । प्रक्रिया पूरा गरेका उद्योगलाई पनि चुनावपछि मात्रै उत्खननको अनुमति दिने नगरको तयारी छ ।

क्रसरको विरोध गर्दा डाँका मुद्दा
रातु नदीमा हुने अवैध उत्खननको विरोधमा स्थानीय बासिन्दाले कति बोले, लेखाजोखा छैन । उनीहरूले क्रसर उद्योगले सडक भत्काएकामा विरोध गरेनन् कि, सडकमा धूलो उड्दा पानी छर्किनुपर्ने माग राखेनन् । तर उनीहरूका माग क्रसर सञ्चालकले नेता र प्रहरी लगाएरै किनारा लगाए । कुनै बेला आर्थिक प्रलोभनमा पारे । कुटपिट गरेर वा फर्जी मुद्दा लगाएरसमेत चुप बस्न बाध्य पारिएका घटना पनि छन् ।

क्रसर उद्योगको अवैध उत्खननविरुद्ध २०७६ जेठमा स्थानीयले क्रसर उद्योगमा गएर आवाज उठाएका थिए । सुनुवाइ नभएपछि उनीहरूले अवैध उत्खनन गरेका क्रसर उद्योगका टिपर, लोडर र जेसीभी नियन्त्रण गरेर प्रहरीलाई बुझाएका थिए । तर केही दिनपछि पञ्चुधुरा गिट्टी बालुवा वासिङ सेन्टरमा लुटपाट गरेको भन्दै भंगहा–४ का सन्तोष महतो, गंगाप्रसाद महतो, हीरालाल महतो र सञ्जीव साहविरुद्ध जिल्ला प्रहरीले अनुसन्धान सुरु गर्‍यो । हीरालाललाई भंगहा प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिटसमेत गरे । प्रहरीले बुझाएको प्रतिवेदनकै आधारमा जिल्ला अदालत महोत्तरीमा चारै जनाविरुद्ध डाँका मुद्दा दर्ता भयो । यो मुद्दा अहिले विचाराधीन छ । हरेक महिना पेसी तोकिन्छ तर अन्तिम समयमा त्यो पनि सर्छ ।

अदालतमा हाजिर हुन गएका हीरालाल महतो १ लाख धरौटी राखेर साधारण तारिखमा छुटेका थिए । त्यसलगत्तै ०७६ मंसिर २२ मा अदालतको पत्र लिएर हाजिर हुन गएका २७ वर्षीय सन्तोष र गंगाप्रसादलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो । पुनरावेदन गरेपछि जिल्ला कारागार महोत्तरीबाट पुस २५ मा १/१ लाख धरौटी राखेर उनीहरू दुवै छुटे । सञ्जीव भने नागरिकताको नाम र बुबाको नाम उजुरीमा नमिल्दा थुनामा जानबाट बचेका छन् । उनीहरूलाई जुन क्रसर उद्योगमा तोडफोड र डाँका गरेको मुद्दा लगाइएको थियो, त्यही क्रसर उद्योगले वडाध्यक्ष अशोक महतोमार्फत अदालतमा धरौटी बुझाइदिएको थियो । यसरी धरौटी रकमका लागि समन्वय भने भंगहा नगरपालिका मेयर सञ्जीव साहले गरेको स्थानीयको भनाइ छ । ‘उत्खननको विरोध गर्दा स्थानीयमाथि क्रसर व्यवसायीले झूटा मुद्दा लगाएकाले अदालतमा धरौटी राख्न मैले आर्थिक सहयोग गरेको हो,’ मेयर साहले भने ।

गत चुनावमा राजपाबाट निर्वाचित मेयर साह पनि प्रहरीको आडमा क्रसर सञ्चालकहरूले अवैध उत्खनन गरेको बताउँछन् । उनले अवैध उत्खननमा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरे । ‘नदीमा अवैध उत्खनन गराउने काममा मेरो कुनै संलग्नता छैन । विपक्षीले फसाउन आरोप लगाएका हुन्,’ उनले भने । अदालतमा मुद्दा खेपिरहेकाहरूका अनुसार स्थानीय तहका उम्मेदवारहरूले उनीहरूलाई धम्क्याइरहेका छन् । ‘निर्वाचनमा सहयोग गरे मुद्दाको फैसला गराउन सहयोग गर्ने, नत्र जेल जान तयार रहनुपर्ने धम्की आइरहेको छ,’ सन्तोष महतोले भने ।

क्रसर उद्योगमार्फत सिंगो बस्तीलाई हानि गर्नेले चुनाव जित्दा ज्यादती झन् बढ्ला भन्ने सम्झेर स्थानीय बासिन्दा बेचैन छन् । ‘हाम्रो समस्या कसैले देखेनन्,’ पलार टोलकी देवकीदेवीले भनिन्, ‘गाउँटोलमा उनीहरूकै बोलवाला छ । उनीहरू नै चुनावमा उठेर गाउँमा मासु र दारु बाँड्न थालेका छन् । पैसामा किन्ने धम्की दिँदै छन् ।’

मुहान सुक्यो, खेत बग्यो
रातु नदीबाट पलार टोल हुँदै बग्ने कुलोको पानीले सय बिघाभन्दा बढी खेत सिञ्चित हुन्थ्यो । पछिल्लो समय कुलोमा आउँदैन । क्रसर उद्योगले अवैध रूपमा १०/१५ फिट गहिरो गरी उत्खनन गर्दा नदी कुलोभन्दा धेरै तल बग्ने गर्छ । क्रसर सञ्चालकले नदीलाई पोखरी जस्तै गहिरो बनाउँदै लगेको स्थानीय ओपिन्दर सरदारले बताए । ‘कुलोमा पानी आउन छाडेपछि पम्पसेटले सिँचाइ गर्नुपरेको छ । त्यसका लागि पैसा तिरेर पनि पालो कुर्नुपर्छ । पहिले कुलो चल्दा पैसा तिर्नु पर्दैनथ्यो,’ उनले भने ।

रातु नदीको पानीले भंगहाको पलारसँगै बिर्ता, मजरा, हतिसर्वा, जमुनियालगायत क्षेत्रमा सिँचाइ हुन्थ्यो । ‘अहिले त कुलोमा नदीको पानी चढ्नै सक्दैन,’ स्थानीय विकास सरदारले भने ।

रातु नदीको बाढीबाट बस्ती र उब्जाउ खेत जोगाउन बाँध बनाइएको थियो । ‘जनताको तटबन्धन’ भनिने यस्तो बाँधलाई नदीजन्य पदार्थ ढुवानी गर्न भन्दै क्रसर उद्योगीले भत्काइदिएका छन् । भत्किएको ठाउँबाट रातुको बाढी सोझै स्थानीयको खेतमा पस्छ । जसका कारण बालीमा क्षति पुग्ने गरेको छ । भंगहा–४ का ७३ वर्षीय चौठी बातरले रातु नदीको बाढीले पलार बस्तीभन्दा दक्षिणको ५० बिघाभन्दा बढी खेत कटान गरेको बताए । रातुको बाढीले चौठीको मात्रै एक बिघाभन्दा बढी जग्गा कटान गरेको छ । ‘बाँध मर्मतका लागि नगरपालिका, नदी नियन्त्रण कार्यालय जलेश्वर पटक–पटक गयौं । तर हाम्रो कुरा कसैले सुनेनन्,’ चौठीले भने ।

प्रकाशित : वैशाख २१, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?