कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्रमन्त्री

भू–राजनीति र भू–अर्थशास्त्रका लागि महफ्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन गएनन् मन्त्री खड्का
जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण सम्मेलनमा भाग लिने कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा होमिएका छन् । भारतमा बिहीबार सम्पन्न भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन नगई मन्त्री खड्का गृहजिल्ला उदयपुरमा व्यस्त भएका हुन् ।

कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्रमन्त्री

भारत सरकारको विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले गरेका थिए । भारतको विदेश मन्त्रालयका अनुसार तीनदिने सम्मेलनमा ९० भन्दा बढी मुलुकका २ सय १० भन्दा बढी वक्ताले एक सयभन्दा बढी सत्रमा छलफल गरे । भारतसहित विभिन्न मुलुकका विदेशमन्त्रीदेखि अन्य मन्त्री र विभिन्न क्षेत्रका विज्ञको उक्त संवादमा उपस्थिति भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सम्मेलनमा भाग लिन खड्कालाई सम्मानजनक निम्तो आएको थियो तर उनले परराष्ट्रमन्त्रीको जिम्मेवारीभन्दा आफ्नो जिल्लाको निर्वाचनलाई महत्त्व दिए । ‘स्थानीय निर्वाचनमा व्यस्त हुनुपर्ने कारणले गर्दा नै उहाँ (मन्त्री खड्का) भारत जान नपाउनुभएको हो,’ मन्त्रीका स्वकीय सचिव लीला भट्टराईले भने, ‘मन्त्रीजी मंगलबार जिल्ला जानुभएको थियो । बुधबार फर्कनुभयो ।’

हरेक वर्ष हुने ‘रायसिना डाइलग’ मा राजनीति, व्यापार, मिडिया र नागरिक समाजका नेताहरू नयाँदिल्लीमा भेला भएर विश्वको अवस्था र समसामयिक मामिलाको विस्तृत दायरामा सहयोगका अवसरमाथि छलफल गर्छन् । संवादलाई बहुपक्षीय, अन्तरक्षेत्रीय छलफलको रूपमा संरचित गरिएको विदेश मन्त्रालयले जनाएको छ । जसमा राज्यका प्रमुखहरू, मन्त्रीहरू र स्थानीय सरकारका अधिकारीहरू समावेश छन् । जसमा निजी क्षेत्र, सञ्चारमाध्यम र शिक्षाविद्का विचारशील नेताहरू सम्मिलित छन् ।

सन् २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए तर त्यसपछि कोभिड–१९ को कारण दुई वर्ष भर्चुअल रूपमा सम्मेलन भएको थियो र सीमित प्रतिनिधिलाई मात्र बोलाइएको थियो । कोभिड संक्रमण कम भएपछि फेरि ओआरएफले यसपटक उक्त सम्मेलनलाई व्यक्तिगत रूपमा सहभागी भएर गरेको हो ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली रायसिना डाइलगजस्ता फोरम (मञ्च) हरूको नेपालले सदुपयोग गर्नुपर्ने मान्छन् । ‘आफ्ना कुरा राख्ने हो । त्यहाँ (मञ्चमा) कुनै प्रतिबद्धता गर्नुपर्ने पनि होइन । कसैलाई लक्षित गरेर कसैको पक्ष वा विपक्षमा हुन्छन् जस्तो पनि मलाई लाग्दैन,’ उनले टिप्पणी गरे, ‘एजेन्डा आयोजकहरूले तय गर्ने हो । त्यो एजेन्डामा आ–आफ्ना दृष्टिकोण राख्दा राम्रो गर्छ । विचारलाई एउटा बौद्धिक समुदाय, सञ्चारमाध्यम र नीति/निर्माताहरूमा पुर्‍याउनका लागि मद्दत गर्छ ।’

उनले यस्ता सम्मेलनमा साइडलाइनमा कतिपय भेटवार्ता पनि हुन सक्ने बताए । ज्ञवालीले मन्त्री किन नजानुभएको आफूलाई थाहा नभए पनि यस्ता मञ्चहरूको मुलुकले सदुपयोग गर्नुपर्ने बताए ।

अर्का पूर्वपरराष्ट्रमन्त्री भेखबहादुर थापाले खड्का मन्त्री र पार्टीको उच्च राजनीतिज्ञ पनि भएकाले मुलुकमा निर्वाचन हुन लागेका बेला फोरममा सहभागिता जनाउन जाने वा नजाने भन्ने उनकै निर्णय हुने बताए । ‘तर संवादका लागि यो एउटा प्लेटफर्मचाहिँ हो, त्यहाँ विभिन्न विषयमा कुरा हुन्छन्,’ उनले भने, ‘उहाँले अहिले बाह्यभन्दा आन्तरिक विषयलाई बढी जोड दिनुभएको होला । यो निर्णय गर्ने उहाँले नै हो ।’

परराष्ट्र मामिला विज्ञ तथा कूटनीतिज्ञ दिनेश भट्टराई भने निर्वाचन हुन लागेका बेला मन्त्री खड्का भ्रमण जान नखोज्नु स्वाभाविक भएको मान्छन् । ‘लोकतन्त्रको सबैभन्दा ठूलो अभ्यास निर्वाचन हो, त्यसमा पनि निर्वाचन आचारसंहिता लागिसकेपछि यसरी विदेश भ्रमण गर्नु उचित हुन्छ वा हुन्न भन्ने प्रश्न पनि हुन्छ,’ उनले भने । परराष्ट्रमन्त्री खड्का निर्वाचन आचारसंहिताकै कारणले विदेश नगएको तर्क गरिए पनि निर्वाचन आयोगकै स्वीकृत लिएर सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका, ऊर्जामन्त्री पम्फा भुसाल बंगलादेश र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मलेसिया भ्रमणमा छन् ।

रायसिना डाइलग अन्तर्राष्ट्रिय मञ्चमा भूराजनीतिक र अर्थनीतिलगायत विभिन्न विषयमा छलफल गर्ने महत्त्वपूर्ण स्थल हो । चीनले आयोजना गर्ने बोआओ फोरम, एसियाको रक्षा मन्त्रालयमा छलफल गर्ने चर्चित फोरम ‘सांग्रिला डाइलग’, स्वीट्जरल्यान्डमा हुने ‘वर्ल्ड इकोनोमिक फोरम’ लगायत विभिन्न मुलुकका सरकार प्रमुख, सरकारी प्रतिनिधिले धारणा राख्छन् । यो वर्ष बोआओ फोरममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भर्चुअल रूपमा सहभागिता जनाएकी थिइन् । सांग्रिला डाइलग सिंगापुरमा हुन्छ ।

रायसिना डाइलगमा परराष्ट्रमन्त्री खड्का नभए पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सहभागिता जनाएका छन् भने राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले व्यक्तिगत रूपमा भाग लिएका छन् ।

प्रकाशित : वैशाख १६, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?