कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अमेरिकी सांसद भन्छन् : सहयोग जारी रहन्छ, द्विपक्षीय सम्बन्ध मजबुत बनाऔं

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी सांसदको टोलीले नेपाल-अमेरिका सम्बन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । युक्रेनमाथि रुसी आक्रमणविरुद्ध एकमत निर्माण गर्ने क्रममा नेपाल आइपुगेको उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेपालका उच्चपदस्थ अधिकारीहरुसँगको भेटमा द्विपक्षीय सम्बन्धमा जोड दिएको हो । 

अमेरिकी सांसद भन्छन् : सहयोग जारी रहन्छ, द्विपक्षीय सम्बन्ध मजबुत बनाऔं

नेपालको तीन दिने भ्रमणमा आइतबार नयाँ दिल्लीबाट काठमाडौं उत्रिएका ५ सांसदले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायण खड्का र नेपाल–अमेरिका संसदीय मैत्री समूहका संयोजक मिनेन्द्र रिजालसँग द्विपक्षीय भेटवार्ता गर्‍यो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा टोली नेपाल आइपुगेको हो । नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । टोलीका अन्य सदस्यमा सिनेटरहरु शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फागुनमा अनुमोदन भएपछि अमेरिकाबाट भएको यो उच्चस्तरीय भ्रमण हो । गत साता अमेरिकाबाटै पब्लिक डिप्लोमेसी ब्यूरो अफ साउट एन्ड सेन्ट्रल एसियाकी अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ्गले नेपालको भ्रमण गरेकी थिइन् ।

अमेरिकी सांसदको टोलीले शनिबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा नेपाललाई एमसीसी परियोजना अनुमोदन गरेकोमा धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धलाई अघि बढाउनको लागि थप सहयोग गरिरहने प्रतिबद्धता जनाएको थियो । प्रधानमन्त्री देउवाका प्रेस चिफ गोविन्द्र परियारका अनुसार प्रधानमन्त्री देउवाले अमेरिकी टोलीलाई नेपालको आर्थिक र सामाजिक क्षेत्रमा दिदै आएको सहयोगलाई लिएर धन्यवाद दिएका थिए । अमेरिकी सांसदहरुले भने नेपाल र अमेरिका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप मजबुध बनाउदै जाने पर्ने बताएका थिए ।

उनीहरुले नेपाललाई सहयोग गरिरहनेमा प्रतिबद्धता पनि दिएका थिए । उक्त भेटवार्तामा नेपाल–अमेरिका बीचको ७५ वर्षको मैत्री सम्बन्ध, सरकारी तह, संसदीय तह र जनस्तरमा भएको सम्बन्धको बारेमा पनि कुरा भएको प्रेस चिफ परियारले बताए । ‘प्रधानमन्त्री (देउवा) जीले नेपालमा अमेरिकाले भूकम्पपछि र कोभिड–१९ को दौरानमा गरेको सहयोगलाई लिएर पनि धन्यवाद दिनु भयो ।’ अमेरिकाले नेपाललाई भूकम्पपछि उद्धार, पुननिर्माण तथा कोभिड–१९ को दौरानमा स्वास्थ्य सामग्री र पछि खोप सहयोग गरेको थियो । देउवाले र टोलीबीचमा प्रजातन्त्रलाई थप मजबुत बनाउने र जलवायु परिवर्तनको विषयमा पनि विचारहरु आदान–प्रदान भएको थियो ।

युक्रेन मामिलामा नेपालले पहिले नै एउटा सार्वभौम मुलुकका रूपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको कारणले गर्दा त्यस विषयमा थप कुरा भएको बैठकमा सहभागी एक अधिकारीले बताए । ‘नेपालले मानव अधिकारको सम्बन्धमा लेखेको भूमिकालाई लिएर टोलीले नेपाललाई धन्यवाद दिएको थियो,’ ती अधिकारीले भने ।

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि अमेरिकी सांसदको टोली बिहान करिब ९ बजे परराष्ट्र मन्त्री खड्कालाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको कार्यकक्षमा पुगेका थिए । टोलीको नेतृत्व गरेकी सिनेटर जिलिब्रान्डसामु मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको लामो सम्बन्धको प्रशंसा गर्दै यस्तो भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उक्त भेटपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकी भ्रमण टोलीले समान चासो भएका विषयहरुमा नजिकबाट नेपालसँग काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कृषि र खाद्य सुरक्षाको सम्बन्धमा पनि छलफल भएको थियो । साथै, त्यसै अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालले पठाउँदै आएको शान्ति सैनिकको बारेमा पनि चर्चा भएको थियो ।

मेरिकी टोलीले प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष ओलीसँग मेरियट होटलमा भेटवार्ता गरेको थियो । उक्त अवसरमा द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । बैठकमा सहभागी एमाले विदेश विभागका प्रमुख राजन भट्टराईका अनुसार अमेरिकी टोलीले एमसीसी अनुमोदन गरेकोमा नेपाललाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धलाई जारी राख्ने प्रतिबद्धता जनायो । ‘उनीहरुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउँदै लाने विषयमा जोड दिए,’ भट्टराईले कान्तिपुरसँग भने,‘हाम्रो अध्यक्ष (ओली) जीले अमेरिकाले नेपाललाई भूकम्प, कोभिड–१९ र अन्य बेलामा गरेको सहयोगलाई लिएर धन्यवाद दिनुभयो ।’

त्यसपछि अमेरिकी संसदीय टोलीले नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग अन्तरक्रिया गरेको थियो । त्यस अवसरमा अमेरिकी सांसदहरुले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टी (डेमोक्र्याट र रिपब्लिकन) का सांसदहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।

नेपालका तर्फबाट छलफलमा नेतृत्व गरेका मैत्री समूहका संयोजक तथा सांसद मिनेन्द्र रिजालले नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्र विकास, नवीकरणीय ऊर्जालगायतका लागि एमसीसी सम्झौता अति महत्त्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको जानकारी दिए । अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको रिजालले बताए । नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता अमेरिकी टोलीले गरेको रिजालले बताए ।

‘नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नवीकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्त्वपूर्ण स्रोत भएको देश हुन सक्छ, दक्षिण एसियाका लागि भन्ने कुरा हामीले राख्यौं,’ रिजालले भने,‘त्यसमा उहाँहरुले सन्तोष व्यक्त गर्नुभयो । अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्‍याएको सहयोगबारेमा कुरा भयो । उहाँहरुले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’

यस्तै, शनिबारै अमेरिकी संसदीय टोलीले ललितपुरस्थित जलवायु क्षेत्रको अनुसन्धान गर्ने संस्था इसिमोडको समेत भ्रमण गरेको थियो । उक्त टोली आइतबार फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित : वैशाख १०, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x