कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

राष्ट्रिय सभाका पूर्वसांसद शाहको निधन

काठमाडौँ — राष्ट्रिय सभाका पूर्वसांसद एवं नेपाली सेनाका पूर्वसहायक रथी दीप्तप्रकाश शाहको ८५ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति हृदयघातका कारण निधन भएको परिवारका सदस्यहरूले जनाएका छन् ।

राष्ट्रिय सभाका पूर्वसांसद शाहको निधन

२०४५ सालमा सेनाबाट अवकास भएपछि शाह राष्ट्रिय सुरक्षा लगायत विषयमा विश्लेषण तथा टिप्पणी गर्थे । १९९४ मा दैलेखको दुल्लुस्थित तत्कालीन राजपरिवारमा जन्मिएका शाहले तत्कालीन शाही नेपाली सेनामा कानुन हेर्ने प्राड विवाक स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माका अनुसार नेपाली सेनामा प्रवेश गर्ने कानुन पढेको पहिलो अधिकृत शाह नै थिए । 'प्राड विवाक गठन गर्नका लागि उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको हो । स्थापना भएपछि पहिलो प्रमुख हुनुभयो,' शर्माले भने, 'रिटायर्ड भएपछि उहाँ त्यतिकै बस्नुभन्दा राजनीतितर्फ लाग्नु भयो । सेनाबाट गएको मानिसलाई सफल हुन गाह्रो हुन्छ । उहाँलाई पनि त्यही भयो ।'

शाहले राष्ट्रिय सभाबाट राजीनामा दिएपछि भेटका क्रममा पनि राजनीतिमा सफल हुन नसकेको बताउने गरेको शर्माले स्मरण गरे । माओवादीको सशस्त्र विद्रोहको विषयमा दरवारसँग मत बाझिएपछि उनले राजीनामा दिएको जानकारहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकको अध्ययन पूरा गरेका शाह सेनामै छँदा बेलायतबाट छात्रवृत्तिमा एलएलएमको अध्ययन गरेका थिए ।

२०५८ सालमा राष्ट्रिय सभामा मनोनित भएका शाहले दरवारसँग राम्रो सम्बन्ध नभएपछि राजीनामा दिएका थिए । 'दरवारसँग विवाद भएपछि शाहले राजीनामा दिनु भएको हो' राष्ट्रिय सभाका पूर्व सांसद रंगनाथ जोशीले भने। शाहका दुई श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।

प्रकाशित : वैशाख ६, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?