कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पोखराका कांग्रेस नेतालाई देउवाको आग्रह : ‘गठबन्धन गर्नुपर्ने बाध्यता छ, बुझिदिनुस्’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरूलाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकामा मेयरको दाबी छाडेर गठबन्धनकालागि सहयोग गर्न आग्रह गरेका छन् । सत्ता गठबन्धनमा स्थानीय चुनावमा तालमेल गर्ने तयारी छ । पाँच दलका शीर्ष नेताहरू महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट गर्न निरन्तर छलफलमा छन् ।

पोखराका कांग्रेस नेतालाई देउवाको आग्रह : ‘गठबन्धन गर्नुपर्ने बाध्यता छ, बुझिदिनुस्’

सोमबारको बैठकमा पोखरा महानगरको मेयर कांग्रेसले लिने या नेकपा एकीकृत समाजवादीले भन्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई काठमाडौं बोलाएका थिए । पोखराबाट आउने नेताहरू ढिलो आइपुग्दा विहान ११ बजे बस्ने भनिएको गठबन्धन बैठक दिउँसो ३ बजेसम्म सरेको थियो ।

प्रधानमन्त्री देउवाले पोखरा महानगरको अवस्थाबारे शर्मा, बराल र थापासँग परामर्श गरेका छन् ।

‘सभापतिज्यूले तुरुन्तै आउनु भनेर खबर गर्नुभयो । हामी विहान आयौँ । हामी आउन ढिलो भएपछि गठबन्धनको बैठक नै सर्‍यो,’ प्रधानमन्त्रीसँग भेटेर बाहिरिएपछि पोखराका कांग्रेस नेता थापाले भने, ‘हामीले पोखराको स्थिति र त्यहाँ गठबन्धनको अवस्थाबारे प्रष्टसँग कुरा राखेका छौँ । नेताहरूलाई तथ्य, तथ्यांक र तर्कहरू सुनाएपछि अब अप्रिय निर्णय आउँला भन्ने लागेको छैन ।’

नेता थापाले पोखरामा कांग्रेसबाहेक गठबन्धनको अर्को दललाई चुनाव जित्न मुस्किल हुने बताए । ‘पोखरामा २ लाख ७ हजार मत छ । त्यसमध्ये कांग्रेस एक्लैले ६५/७० हजार मत होल्ड गर्छ । अहिले कांग्रेसको पक्षमा माहोल आएको छ,’ उनले भने, ‘त्यो मतलाई अरुसँग लगेर मिलाउँदा सबै मत एकै ठाउँमा पर्छ भन्ने हुदैन । तर, कांग्रेस एक्लैले त्यति मत होल्ड गरेको ठाउँमा अरु दलको थोर थोरै मत थपिँदा पनि विजयी निश्चित हुन्छ ।’

उनले आफूहरूले गठबन्धन गर्नै नहुने वा गर्न नपर्ने अवस्था रहेको भनेर दाबी नगरेको सुनाए । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूसँग मिलेर जानुपर्ने अवस्था भएकाले त्यसलाई बुझिदिन आग्रह गरेका छन् । 'तपाइहरुको कुरामा म पनि सहमत छु । तर गठबन्धन गरेपछि सबै दललाई समेट्नुपर्ने बाध्यता छ । त्यसलाई तपाईहरुले पनि बुझिदिनुस्,' देउवालाई उदृत गर्दै थापाले भने ।

‘हामीले आफ्नो कुरा राख्यौँ । प्रधानमन्त्रीले हाम्रो कुरामा सहमति देखाउनुभयो । तर, गठबन्धनका अरु दललाई समेत समट्नुपर्ने बाध्यता रहेको कुरा उहाँले पनि शिष्टतापूर्ण राख्नुभयो,’ थापाले अघि भने, ‘हामी गठबन्धन भत्काउने पक्षमा छैनौँ, हाम्रो भनाइ यति मात्रै हो, पोखरामा चुनाव जित्नका लागि कांग्रेसको मेयर उम्मेदवार लिएर अन्य पदमा गठबन्धन गर्दा सहज हुने स्थिति छ । यो कुरालाई गठबन्धनका नेताहरूले बुझिदिनुपर्छ ।’

गत निर्वाचन पनि पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । तर, नेकपा एमालेका मानबहादुर जिसीले भारी मतान्तरसहित चुनाव जितेका थिए । जिसीले ६० हजार ४ सय २३ मत ल्याएका थिए भने गठबन्धनका लागि कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत मात्रै पाएका थिए ।

‘विगतको भन्दा अहिलेको अवस्था फेरिएको छ । त्यहाँ कांग्रेसको पक्षमा जनलहर छ । कांग्रेस एक्लैको मत ठूलो छ, अर्को दलमा हुँदा कांग्रेसको पक्षमा जुन माहोल छ, त्यस्तो माहोल आउने देखिदैन,’ नेता थापाले भने, ‘हामीले नेताहरूलाई त्यही कुरा राखेका छौँ ।’

नेता थापाले प्रधानमन्त्रीले पोखरा महानगर अर्को पार्टीलाई दिइसकेको वा कांग्रेसकै उम्मेदवार हुन्छ भनेर ढुक्क हुने गरी कुनै संकेत नगरेको बताए । ‘प्रधानमन्त्रीले पोखराको मेयर अर्को पार्टीलाई दिइसकेँ भनेर पनि भन्नुभएनँ, हाम्रो कुरामा उहाँको असहमति पनि होइन । तर, फेरि उहाँले तपाईहरु ढुक्क भएर जानुहोस् पनि भन्नुभएन,’ उनले भने, ‘हाम्रो चाहना हामीले राखेको कुरा गठबन्धनका नेताहरूसमक्ष पनि पुगोस् भन्ने हो ।’

अहिले सत्ता गठबन्धनको बैठक बसेको छ । बैठकमा नेताहरूबीच महानगर र उपमहानगरको सिट बाँडफाँटबारे छलफल भइरहेको छ । नेताहरूले मंगलबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबी गरेका छन् ।

प्रकाशित : वैशाख ६, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?