कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सगरमाथा आरोहण गर्दै सागर

होचापुड्का संघका सदस्यसमेत रहेका कास्कीका सागर सुनारले आरोहण सम्पन्न गरेको खण्डमा सगरमाथा शिखरमा पुग्ने सबैभन्दा होचो व्यक्तिको रेकर्ड राख्ने छन् ।

काठमाडौँ — ३ फिट ७ इन्च अग्ला कास्कीका सागर सुनार विश्वकै अग्लो शिखर सगरमाथा आरोहणमा जाँदै छन् । उनलाई पर्यटन विभागले सोमबार आरोहण अनुमति पत्र प्रदान गरेको छ ।

सगरमाथा आरोहण गर्दै सागर

होचापुड्का संघका सदस्यसमेत रहेका सुनार काठमाडौंको हिमालयन सेफर्ड इको टुरिजमको व्यवस्थापनमा हुन लागेको आरोहण दलका सदस्यका रुपमा सगरमाथा जान लागेका हुन । उनले ६ महिनाअघि दोलखाको रोलवालिङ क्षेत्रमा पर्ने ५ हजार ९ सय २५ मिटर उचाइको रामदुङ हिमाल आरोहण गरिसकेका छन् ।

पेशाले सुनका गहना बनाउने कालिगढ सुनारले अशक्तता भएका व्यक्तिहरुका मुद्दा उठाउँदै वसन्तकालीन हिमाल आरोहणमा जान लागेको बताए । ‘विश्वकै सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने विश्वकै सबैभन्दा होचो व्यक्तिको लक्ष्य राखेको छु’ उनले कान्तिपुरसँग भने, ‘मेरो उद्देश्य होचापुड्कामाथि सामाजिक रुपमा हुने भेदभावलाई घटाउने, जलवायु परिवर्तनको असरबारे जागरण फैलाउने पनि हो ।’

हिमालयन सेफर्डका चार शेर्पा सहयोगी र गाइड पेम्बा दोर्जे शेर्पाको साथमा आरोहणको तयारीमा रहेका सुनारले सगरमाथा आरोहणमा विभिन्न संस्था र व्यक्तिको आर्थिक सहयोग संकलन गरिरहेको भन्दै आरोहणमा करिब ८० लाख खर्च हुने बताए ।

यसैबीच पर्यटन विभागले आइतबारसम्म सगरमाथासहित २२ वटा हिमाल आरोहणका लागि १ सय ५५ महिला र ५ सय ८५ पुरुष गरी ७ सय ४० जनालाई आरोहण अनुमति दिइसकेको छ । ९१ वटा आरोहण दलबाट विभागले ३९ करोड ५२ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।

प्रकाशित : वैशाख ५, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?