पहिलोपटक नेपालका ढुसीको डाटाबेस तयार हुँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलोपटक नेपालका ढुसीको डाटाबेस तयार हुँदै

'नेपाल फंगल डाटाबेसको ७० प्रतिशत काम पूरा'
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले नेपालमा पाइने ढुसीको डेटाबेस यसैवर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । सन् २०२२ भित्रै नेपालमा पाइने ढुसीहरुको तथ्यांक सम्मिलित नेपाल फंगल डेटाबेस सार्वजनिक गर्ने तयारी गरेको हो । अघिल्लो वर्ष नै डाटाबेस सार्वजनिक गर्ने तयारी भएपनि जनशक्ति अभावले केही ढिला भएको थियो ।

डाटाबेस सञ्चालनमा आएपछि नेपालमा पाइने फान्जाई (ढुसी)को अवस्थाबारे एकै ठाउँबाट जानकारी पाउन सकिनेछ । कुन प्रकारको ढुसी कहाँ, कस्तो अवस्थामा छन् भन्ने जानकारी डाटाबेसबाट थाहा पाउन सकिनेछ ।

नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटले नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने तयारी गरेको हो । डाटाबेसको काम अहिलेसम्म ७० प्रतिशत सकिएको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत एवं च्याऊ विज्ञ डाक्टर जयकान्त राउतले जानकारी दिए । ढुसी एक कोषीयदेखि बहुकोषीयसम्मका हुन्छन् । सबै च्याऊ प्रजाति ढुसी वर्गमा पर्छन् । ढुसी प्रजाति वन्यजन्तु र वनस्पति जगतमा पर्दैनन् । सडेगलेको ठाउँमा उम्रने, प्रकाश संश्लेषण प्रक्रिया नगर्ने, हरितकण(क्लोरफिल) पनि नहुने ढुसीलाई वनस्पतिविद्हरु ‘स्याप्रोफाइट’ भन्छन् ।

विभिन्न कुनामा बसेर कुन प्रजातिको ढुसी कहाँ पाइन्छ भन्ने जानकारी लिनका डाटाबेस उपयोगी हुने उनले बताए । अहिलेसम्म डाटाबेसमा ११ सयवटा फन्जाई राखिएको उनले जानकारी दिए । विभिन्न जर्नल, किताब तथा आधिकारिक ठाउँबाट नेपालका ढुसी सम्बन्धी प्रकाशित भएका तथ्यांकहरु 'नेपाल फंगल डाटाबेस'मा राखिएको छ । ‘अहिले हामी डेटालाई प्रोसेसिङ गरिरहेका छौं, ’ उनले भने,‘ यो वर्षको अन्ततिर हामी सार्वजनिक गर्छौं । ’

डाटाबेसमा नास्टले संकलन गरेर पुष्टि भएका ढुसीका प्रजाति, तीनको अवस्थाबारे विवरण छ । तथ्यांक अनुसन्धानकर्ता, विद्यार्थीहरु, सरोकारवालाहरुलाई महत्वपूर्ण हुन्छ । फन्जाईमा काम गर्ने इच्छा भएका जोकोहीलाई डाटाबेस उपयोगी हुने राउतले बताए ।

नेपालमा २ हजार १ सय ८२ वटा ढुसीका प्रजाति रहेको अनुमान छ । त्यसमा एक हजार २ सय ९१ च्याऊ प्रजाति पर्छन् । तीमध्ये १५९ वटा खाना मिल्ने च्याऊ छन् भने ७४ वटा औषधीय गुण भएका छन् । एक सय प्रजातिका च्याऊहरु विषालु रहेको वनस्पतिविद्हरु बताउँछन् ।

नेपालमा ढुसीको अवस्था अहिले पनि अध्ययनकै क्रममा छ । हरित वनस्पतिको तुलनामा यसको अनुपात ६ गुणा बढी हुने मान्यता छ । नेपालमा १३ हजारवटा भास्कुलर(शिरा) भएका वनस्पति छन् तर ढुसी ३ हजार पनि भेटिएको छैन । त्यसैले यो नेपालमा अध्ययनकै क्रममा रहेको ढुसी अनुसन्धानकर्ताहरु बताउँछन् ।

विश्वका अन्य मुलुकहरुमा पनि फन्जाई डाटाबेस हुन्छ । यो डाटाबेस ढुसी प्रजातिका लागि नेपालको पहिलो हुनेछ ।

यो डाटाबेसमा कुनै नयाँ ढुसी प्रजाति वा त्यसको तस्बिरहरु राख्न पनि सकिन्छ । कुनै ढुसीमा नयाँ खालको विशेषता पाए भने यो डेटाबसमा पनि राख्न सक्नेछन् । सबै विवरणहरु डाटाबेसमा हालेर क्युरेटरले भेरिफाई गरेपछि तथ्यांकको रुपमा समावेश हुन्छ ।

वैज्ञानिक राउतका अनुसार ढुसीले नेपालको अर्थतन्त्रमा पनि सघाउ पुर्‍याएको छ । उनी भन्छन्,‘च्याऊ पनि एक प्रकारको ढुसी प्रजाति हो । यार्सागुम्बा पनि ढुसीमा पर्छ । गुच्ची च्याऊ, रातो च्याऊ पनि यसमा पर्छ । यसको निर्यात पनि भइरहेको छ ।’ वनस्पतिहरु जति यसको अध्ययन/अनुसन्धान नेपालमा कम छ ।

ढुसीले प्राकृतिको फोहार सफा गर्न मुख्य भूमिका खेल्छ । त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा‍. हरिप्रसाद अर्याल ढुसीले पोषण चक्र सन्तुलन गर्न मुख्य भूमिका खेल्छ । उनी भन्छन्,‘ फान्जाईको महत्व धेरै छ । यसलाई गुड रिसाइक्लरको रुपमा लिन सकिन्छ । फन्जाई भएन भने नेचरको कल्पना नै गर्न सकिदैँन । ’ विभिन्न खाद्य उद्योगहरुमा पनि ढुसीको प्रयोग हुने गरेको छ ।

ढुसी अनुसन्धानकर्ताहरु यसलाई ‘फ्रेन्डस एन्ड फो’ दुवैको रुपमा लिन्छन् । ‘यसले रोग पनि लगाउँछ, खानाको रुपमा पनि खाना सकिन्छ,’ राउत भन्छन् ।

सहप्राध्यापक अर्याल ढुसीले मुख्य गरी सन्तुलित पारिस्थितकीय प्रणाली बनाउने मद्दत गर्ने बताउँछन् । प्रकृतिमा कुनै पनि मरेको बिरुवा र वन्यजन्तुलाई सडाउने र माटोमा मिलाउने काम ढुसीले गर्छ । ढुसीमा पाइने रसायनहरु औषधि बनाउन प्रयोग गरिन्छ । टेरामाइसिन, पेनिसिलिनजस्ता औषधीहरु ढुसीबाट बनिएको सहप्राध्यापक अर्यालले जानकारी दिए ।

ढुसीले रोगव्याधि पनि लगाउँछन् । एक्सपरजिलिसले फोक्सोमा असर गर्ने अर्यालले बताए । ‘कपालमा चाँया पर्नु भनेको पनि ढुसी हो । कानमा पनि ढुसी पर्छ,’ उनले भने । पृथ्वीमा पाइने कूल फन्जाईको ३० प्रतिशतले रोगव्याधि लगाउन भूमिका खेल्ने अनुमान गरिन्छ ।

प्रकाशित : वैशाख ५, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

मिसन ‘मुनाल’

नेपाल र थाइल्यान्डका विद्यार्थीले तयार पार्ने भूउपग्रह २०८० वैशाखभित्र प्रक्षेपण गर्ने लक्ष्य
गोविन्द पोखरेल

काठमाडौँ — काभ्रेको चैतन्य माध्यमिक विद्यालयको कक्षा ११ की विद्यार्थी संगीता मैनाली चार महिनायता व्यस्त छिन् । बिहान ७ देखि दिउँसो २ बजेसम्म कक्षाको पढाइ सकिएपछि उनलाई काठमाडौं विश्वविद्यालय पुग्न हतार हुन्छ । साढे २ बजे उनी विश्वविद्यालय परिसरको स्पेस सिस्टम ल्याबोरेटरी (एसएसएल) मा पुग्छिन् । र, ‘मुनाल’ निर्माणमा खटिन्छिन् । उनीजस्तै अरू आठ विद्यार्थीको दिनचर्या पनि यस्तै हुन्छ ।

मुनाल चराको नाम हो । मैनालीसहितका विद्यार्थीले बनाउँदै गरेको ‘मुनाल’ चाहिँ स्याटेलाइट अर्थात् भू–उपग्रह । व्यवस्थापन संकायको विद्यार्थी भए पनि मैनाली स्याटेलाइट निर्माणमा खटिएकी छन् । एक दिन विद्यालयमा स्याटेलाइट निर्माणसम्बन्धी दुईमहिने तालिमका लागि आवेदन मागिएको थियो । विभिन्न चरणपछि उनी छनोट भइन् । स्याटेलाइट कस्तो हुन्छ र कसरी बन्छ भन्ने उनलाई थाहा थिएन । अहिले उनी यसबारे बुझ्दै छिन् ।

सञ्जिवनी नमुना कलेजमा कक्षा ११ मा बायोलोजी विषयमा अध्ययनरत श्रेया तामाङ पनि दिउँसो २ बजेसम्म विद्यालयमै हुन्छिन् । त्यसपछि स्याटेलाइट बनाउन जान्छिन् । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै स्याटेलाइट बनाउन पाउँदा उत्साहित भएको उनले सुनाइन् ।

स्याटेलाइटमा सर्किट निर्माण, प्रिन्टेड सर्किट बोर्डलगायत ज्ञान पाएको उनको भनाइ छ । काठमाडौं युनिभर्सिटी हाइस्कुलका सुशान्त ढकाल पनि मिसनमा संलग्न हुन पाउँदा दंग छन् । ‘स्याटेलाइट प्रविधिबारे सानैदेखि उत्सुक थिएँ, तर काम गर्न सक्छु भन्ने लागेको थिएन,’ कक्षा ११ मा अध्ययनरत उनले भने ।

अन्तरिक्ष दिवसका अवसर पारेर गत मंगलबार काठमाडौंमा भएको कार्यक्रममा कक्षा ११ का विद्यार्थीले बनाएको ‘हाइस्कुल क्युब स्याट नक्षत्र’ का बारेमा नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालले जानकारी दिएको थियो । यो परियोजनाअन्तर्गत थाइल्यान्डका ४ र नेपालका ९ विद्यार्थी सहभागी छन् । स्याटेलाइट निर्माणमा नेपालबाट श्रेया प्रधान, समृद्धि शर्मा, श्रेया तामाङ, संगीता मैनाली, सिद्धार्थ कर्माचार्य, सुरेश गुरुङ, कान्छाराम स्याङतान, रजिन रन्जित र सुशान्त ढकाल जुटेका छन् । उनीहरूलाई इन्जिनियर जनार्दन सिलवालले ‘मेन्टरिङ’ गरिरहेका छन् । यस कार्यक्रममा थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर एकोनोमिक डेभलपमेन्ट पनि संलग्न छ । बुट क्याम्पमा सिकेको कुरालाई लागू गर्न हाइस्कुल क्युब स्याट नक्षत्र परियोजना सुरु गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रमुख एवं नेपाली स्याट–१ का निर्माणकर्ता आभास मास्केले जानकारी दिए । उनका अनुसार बुट क्याम्प सञ्चालन गर्नॅअघि काठमाडौं विश्वविद्यालयमा एसएसएलको निर्माण गरिएको थियो । त्यही ल्याबमा उनीहरूलाई प्रशिक्षण दिएर नयाँ स्याटेलाइट बनाउन लागिएको हो । ‘एसएसएल ल्याबोरेटरी २०२१ अक्टोबरमा बनाइयो । नोभेम्बरदेखि डिसेम्बर अन्तिमसम्म तालिम दिइयो । जनवरी २०२२ देखि उनीहरू मुनाल मिसनमा छन्,’ मास्केले कान्तिपुरसित भने ।

बुट क्याम्पमा विद्यार्थीले ०.५ यूको ‘मिनी मुनाल’ स्याटेलाइट बनाएको इन्जिनियर सिलवालले जानकारी दिए । उनीहरूलाई इलेक्ट्रोनिक्स, स्याटेलाइट, कम्प्युटर एडेड डिजाइन (सीएड) र अन्तरिक्षसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रमअन्तर्गत नेपालमा एउटा र थाइल्यान्डमा अर्को स्याटेलाइट निर्माण गरेर एकैपटक प्रक्षेपण गर्ने तयारी छ । सन् २०२३ जुनभित्रमा यी स्याटेलाइट अन्तरिक्षमा गइसक्ने तालिका छ ।

स्याटेलाइटको आकार नेपाली स्याट–१ जस्तै १–यूको छ । यसको आकार भनेको १० घनसेमिको हुनेछ । करिब एक केजीसम्मको तौल हुने अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ । ‘बर्डस्–३ परियोजनाअन्तर्गत नेपालको पहिलो स्याटलाइट नेपाली स्याट–१ को निर्माण भएको थियो । त्यसबेला श्रीलंका र जापानका स्याटेलाइट पनि सँगै उडाइएका थिए,’ सिलवालले भने, ‘जापानीले स्याटेलाइटको नाम चराको जस्तै राखे, नेपालको यो स्याटेलाइट पनि बर्ड्स मिसनअन्तर्गत भएकाले चराको नाम दिएका हौं ।’

अन्तरिक्ष प्रतिष्ठान नेपालमार्फत ‘डाँफे’ मिसन पनि सञ्चालनमा छ । थाइल्यान्डमा निर्माण गरिएको ‘मल्टी पे लोड क्युब स्याट’ मा दुई वटा मिसनलाई ‘डाँफे मिसन’ नाम दिइएको छ । जसमा दुईवटा प्रविधिको प्रयोग हँॅदै छ । एउटामा स्याटेलाइटमा प्रयोग गरिने सफ्टवेयरको परीक्षण र अर्कोमा सन् २०२० मा आएको एउटा चिपको अध्ययन हुँदै छ । उक्त चिपले अन्तरिक्षको वातावरणमा विकिरणहरूले कस्तो असर गर्छ भन्ने सम्बन्धमा अनुसन्धान गरिने सिलवालले जानकारी दिए । मुनाल स्याटेलाइटमा क्यामरा मिसन, प्यासिभ अल्टिच्युड डिटरमिनेसन एन्ड कन्ट्रोल (पीएडीसीएस) मिसन, कम्युनिकेसन पेलोड टेस्ट मिसन, रेडिएसन मेजरमेन्ट मिसन र आर्ट मिसन रहनेछन् । यो स्याटेलाइट अन्तरिक्षमा पुर्‍याउन करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । यसलाई २०८० वैशाखभित्र प्रक्षेपण गर्ने लक्ष्य छ ।

प्रकाशित : वैशाख ४, २०७९ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×