कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले स्वीकार्‍यो एमसीसीभन्दा ठूलो अमेरिकी अनुदान

काठमाडौँ — अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएआइडी)ले नेपाललाई एमसीसीभन्दा ठूलो अनुदान रकम दिने भएको छ । सो अनुदान सहयोग प्राप्तिका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले यूएसएआइडीबाट नेपालका लागि प्राप्त हुने ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग लिने निर्णय भएको जानकारी दिए । 

सरकारले स्वीकार्‍यो एमसीसीभन्दा ठूलो अमेरिकी अनुदान

यो रकम यसअघिको बहुचर्चित अमेरिकी अनुदान परियोजना एमसीसीको भन्दा ठूलो हो । संसद्‌बाट अनुमोदन गर्नुपर्ने कारणले राजनीतिक दलहरूबीचमै विवादित बनेको एमसीसीले नेपाललाई विद्युत् र सडक परियोजनाका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान दिनेछ । यूएसएआइडीले त्योभन्दा १५९ मिलियन डलर बढी अनुदान दिने भएको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सो अनुदान रकम लिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । ‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।

बैठकले थप १५० मिलियन अमेरिकी डलर ऋण सहायतासमेत स्वीकार गरेको छ । मन्त्री कार्कीका अनुसार बैठकले विश्व बैंकसहितका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सिरहाको कर्जन्हा नगरपालिकालाई प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने तथा मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

प्रकाशित : वैशाख २, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?