२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

गृहमन्त्री खाँणलाई जनमत पार्टीले भन्यो - ११ बुँदे सहमति सम्बोधन गरियोस् 

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग भएको ११ बुँदे सहमति र किसान आन्दोलनका क्रममा उठाएका माग पूरा गर्न आग्रह गरेको छ ।

गृहमन्त्री खाँणलाई जनमत पार्टीले भन्यो - ११ बुँदे सहमति सम्बोधन गरियोस् 

जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार र आफ्नो पार्टीबीच भएको सहमति पूरा कार्यान्वयन हुन ढिलाइ भएको बताएका थिए । गृह मन्त्रालयमा बुधबार भएको भेटमा चुनाव पहिल्यै सहमतिमा उल्लेख गरिएका कुरा पूरा गराउन आग्रह गरेको सिंहले बताए ।

'हाम्रो पार्टी र सरकारबीच भएका सहमति कार्यान्वयन गर्नका लागि गृहमन्त्रीमार्फत सरकारसँग आग्रह गरेका छौं,' सिंहले भने, 'चुनावसमेत आइसक्यो तर अझैसम्म माग पूरा छैनन् । ती माग सम्बोधन गर्नका लागि गृहमन्त्रीलाई भनेका हौं ।'

सिंहले किसानका माग पनि पूरा गर्नका लागि सरकारसँग आग्रह गरेको बताए । जनमत पार्टीका अध्यक्ष सिके राउत र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबीच २०७५ फागुन २४ गते ११ बुँदे सहमति भएको थियो । तराई क्षेत्रमा आन्दोलन गरिरहेको राउतको पार्टी त्यसपछि मूलधारको राजनीतिमा आएको थियो ।

भेटमा गृहमन्त्री खाँणले जनमत पार्टीले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरेका थिए । स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाँणले बताएको सिंहले उल्लेख गरे । 'गृहमन्त्रीले माग पूरा गर्नेबारे केही दिनभित्रै कदम चाल्छु भन्नुभएको छ,' उनले भने ।

गृहमन्त्रीको सचिवालयले भने जनमत पार्टीसँग फेरि छलफल गरेर सहमति कार्यान्वयनबारे निष्कर्षमा पुग्ने समझदारी भएको जानकारी दिएको छ । गृहमन्त्री विगतमा भएका सहमति कार्यान्वयन गर्नका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रकाशित : चैत्र ३०, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?