२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

सशस्त्र प्रहरीको महानिरीक्षकमा केसी नियुक्त 

२१ दिनमै अवकाश पाउँदै

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी बढुवा भएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।

सशस्त्र प्रहरीको महानिरीक्षकमा केसी नियुक्त 

चारवर्षे पदावधिका कारण महानिरीक्षक शैलेन्द्र खनालले सोमबार अनिवार्य अवकाश पाएका थिए । ३० वर्षे सेवा हदअनुसार उनी आगामी वैशाख १८ सम्म सेवामा रहन पाउँथे । तर, महानिरीक्षकको ४ वर्षे पदावधिका कारण उक्त मितिअगावै अवकाशमा गएका हुन् । आईजीपीको दौडमा वरीयतामा दोस्रो नम्बरमा रहेका एआईजी रामशरण पौडेल पनि थिए । तर, पहिलो वरीयताका केसीलाई नै सरकारले बढुवा गरेको हो ।

केसी २०४९ वैशाख १८ मा नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । २०५८ मा सशस्त्र प्रहरी स्थापना भएपछि नेपाल प्रहरीबाट एआईजी कृष्णमोहन श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा प्रहरीले सेवा स्थानान्तरण गरेका थिए । त्यसबेला डीएसपी रहेका केसी विभिन्न मितिमा एसपी, एसएसपी, डीआईजी र एआईजी हुँदै सशस्त्रको महानिरीक्षक बनेका हुन् । केसी सशस्त्रको ११ औं महानिरीक्षक बनेका छन् । उनी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहनेछन् । उनीसँगै एआईजी पौडेल पनि अवकाशमा जानेछन् । त्यसपछिको नेतृत्व हाल डीआईजी रहेका ब्याचीमध्येबाट हुनेछ । त्यसका लागि वैशाख १८ अगावै आईजीपीका दाबेदार डीआईजीमध्ये एक जनालाई रिक्त एआईजीमा बढुवा गर्नुपर्ने हुन्छ ।

केसीपछि आईजीपीमा २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका राजु अर्याल, नारायणदत्त पौडेल र सैनिक पृष्ठभूमिबाट सशस्त्रमा स्थानान्तरण गरेका चन्द्रप्रकाश (सीपी) गौतम र प्रहरीबाटै आएका वंशीराज दाहालमध्येबाट बढुवा गर्नुपर्नेछ । वरीयतामा अर्याल पहिलो, पौडेल दोस्रो, गौतम तेस्रो र दाहाल चौथोमा छन् । भावी आईजीपीका रूपमा बढुवाका लागि रिक्त एआईजीमा दाबेदारमध्येका एक जना गएपछि पुनः रिक्त हुन आउने दुई एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा हुनेछ । ज्येष्ठता, वरीयता र कार्यसम्पादन/मूल्यांकनका आधारमा दाबेदारमध्येबाट एआईजीमा बढुवा गर्नुपर्ने हुन्छ ।

नेपाल प्रहरीमा वैशाख १८ बाट नयाँ नेतृत्व चयन हुँदै छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारी एकै दिन अवकाशमा जाने भएपछि त्यसपछिको नेतृत्वमा ज्येष्ठतामा समेत अगाडि रहेका एआईजी विश्वराज पोखरेल आईजीपी बन्ने प्रबल सम्भावना छ । पोखरेल २०७७ मंसिर २६ मा बढुवा भएका थिए । उनीसँगै सेवा प्रवेश गरेका सहकुल थापा २०७८ असार र पछिल्लो पटक एआईजीमा बढुवा भएका धीरजप्रताप सिंह र रवीन्द्र धानुक पनि आईजीपीको दौडमा छन् ।

आईजीपी चयनमा थप चलखेल गर्नकै लागि नेतृत्व परिवर्तनको सेरोफेरोमा सरकारले पोखरेलसँगै सेवा प्रवेश गरेका दुई डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो । पोखरेल पछिल्लो पटक बढुवा भएका सिंह र धानुकभन्दा १९ महिना र थापाभन्दा ७ महिना सिनियर हुन् । निर्वाचनको मुखमा ज्येष्ठता र वरीयता मिचेर आईजीपीमा बढुवा गर्दा विवाद निम्तिन सक्ने भएकाले स्वाभाविक प्रक्रियाबाटै नेतृत्व चयन हुने गृह स्रोतले जानकारी दियो ।

प्रकाशित : चैत्र ३०, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?