कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘७ हजार बिरुवा रोपे चक्रपथको कार्बन उत्सर्जन शून्य’

वर, पीपल, काइँयो, ज्याकरान्डा, गुलमोहर, कपुर, किम्बु, फिरफिरे, पैयु, आँप, अम्बा, बैंस, भोगटे, कुट्मिरो, लप्सी, मसला, तेजपात, कल्की, खरी प्रजातिका बिरूवा रोप्न सुझाव
चक्रपथमा दैनिक गुड्ने १ लाखभन्दा बढी सवारीबाट ४२ हजार ५ सय ४७ टन खुद कार्बनडाइअक्साइड उत्सर्जन
अब्दुल्लाह मियाँ

काठमाडौँ — काठमाडौं चक्रपथमा मात्रै दिनभर साना–ठूला गरी एक लाखभन्दा धेरै सवारीसाधन गुड्छन् । पछिल्लो एक अध्ययनले वर्षभरिमा ती सवारीले ३ लाख १२ हजार ८ सय ८८ टन कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देखाएको छ । जलवायु परिवर्तनको मुख्य कारक मानिने हरितगृह ग्यासअन्तर्गत कार्बनडाइअक्साइड महत्त्वपूर्ण स्रोत हो ।

‘७ हजार बिरुवा रोपे चक्रपथको कार्बन उत्सर्जन शून्य’

वातावरण विभागले गरेको अध्ययनअनुसार वायु प्रदूषणको मुख्य स्रोतमा यातायात क्षेत्र (सवारीसाधनबाट निस्किने धूवाँ) र सडकमा जमेको धूलो मुख्य हुन् । त्यसका अलावा इँटाभट्टा, ब्वाइलर जडित उद्योग, सडक–भवनलगायत निर्माणजन्य गतिविधि, कृषिजन्य फोहोर जलाउने कार्य, प्राकृतिक एवं कृत्रिम डढेलो वायु प्रदूषणका स्रोत हुन् ।

यातायात व्यवस्था विभागमा अहिलेसम्म ३५ लाख ३९ हजार ५ सय १६ सवारीसाधन दर्ता भएका छन् । सबभन्दा बढी मोटरसाइकल (२५ लाख ३० हजार ७ सय २२) छन् । अध्ययनअनुसार चक्रपथमा गुड्ने १ लाख २ हजार २ सय २५ सवारीले वर्षभरिमा उत्सर्जन गर्ने खुद कार्बनडाइअक्साइडको मात्रा भने ४२ हजार ५ सय ४७ टन छ । सबै सवारीले २७ किमि लम्बाइको चक्रपथ परिक्रमा नगर्ने भएकाले यो खुद उत्सर्जन मात्रा हो ।

चक्रपथ क्षेत्रमा ९ प्रजातिका स–साना बिरुवा, १९ प्रजातिका लाथ्रा तथा २५ प्रजातिका रूख छन् । अध्ययनअनुसार यहाँका रूखले गरेको कार्बनडाइअक्साइडको सञ्चिति/संश्लेषणभन्दा सवारी साधनले वर्षभरिमा गरेको नेट कार्बनडाइअक्साइड उत्सर्जन (१४,०००.८ टन कार्बनडाइअक्साइड) बढी छ । सवारीसाधनले गर्ने ४२ हजार ५ सय ४७ टन कार्बनडाइअक्साइड उत्सर्जनमा २८ हजार ५ सय ७३ टन रूखले सोस्ने गरेको पाइएको हो । ‘करिब १४ हजार टन कार्बनडाइअक्साइड सिधै वायुमण्डलमा फैलिन्छ,’ अध्ययनको निष्कर्ष छ ।

एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायोरिसोर्सेज (एन्साब) का वन तथा जलवायु परिवर्तनविज्ञ डा. नवीनराज जोशीले अघिल्लो वर्ष ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा उपलब्ध वृक्षरोपणले गरेको बायोमास तथा कार्बन स्टकको क्षमता मूल्यांकनसम्बन्धी अध्ययन’ गरेका थिए । चक्रपथ क्षेत्रमा रहेका वर, किम्बु, पैयु, बैंस, गुलमोहर, कुट्मिरो, काइँयो, तेजपात तथा ज्याकरान्डाले सबैभन्दा बढी कार्बन तथा कार्बनडाइअक्साइडको सञ्चिति/संश्लेषणमा योगदान गरेको पाइएको जोशीले बताए । प्रतिवेदनमा भनिएको छ, ‘कम्तीमा १४ वर्षपछि मात्रै चक्रपथ क्षेत्रमा रहेका रूख/वृक्षहरूले गरेको कार्बनडाइअक्साइडको सञ्चिति/ संश्लेषण पर्याप्त मात्रामा भई सवारीसाधनले वर्षभरिमा गरेको नेट कार्बनडाइअक्साइड उत्सर्जन कटौती हुने अध्ययनको निष्कर्ष छ ।’

चक्रपथ क्षेत्रका सबै खालका रूखले गरेको बायोमास तथा कार्बन/कार्बनडाइअक्साइडको सञ्चितिमा औसत प्रतिहेक्टर क्रमशः २४.०३ टन तथा ८८.१८ टन रहेको पाइएको छ । रूखले ९६, लाथ्राले ३ र घाँस/पातले १ प्रतिशत योगदान गरेको पाइएको छ । ‘चक्रपथमा गुड्ने गाडीले उत्सर्जन गर्ने कार्बनडाइअक्साइडको अवस्था कस्तो छ र त्यसमा रूखबिरुवाले कस्तो भूमिका खेलेको छ भनेर हेर्न खोजिएको हो,’ अध्ययनकर्ता जोशीले भने, ‘सरसर्ती हेर्दा १४ हजार टन कार्बन वायुमण्डलमा फैलिने गरेको देखियो ।’ चक्रपथमा गुड्ने सबै सवारीको हिसाब गर्दा कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा पनि बढी हुने जोशी बताउँछन् । ‘कतिपय पुराना सवारी अझै पनि चलिरहेका छन्, तिनले गर्ने प्रदूषणको मात्रा अझ बढी छ,’ उनले भने । अध्ययनका लागि चक्रपथ क्षेत्रको ४२ स्थानमा ‘स्याम्प्लिङ’ विधिबाट रूख मापन ६ मुख्य स्थानमा सवारीसाधनको अवस्था हेरिएको थियो ।

विभिन्न अध्ययनअनुसार विकासोन्मुख मुलुकमा वन क्षयीकरणका कारण विश्वव्यापी रूपमा १७–२० प्रतिशतसम्म हरितगृह ग्यास उत्सर्जन भइरहेको दाबी गरिएको छ । रूख तथा बोटबिरुवाले प्रकाश संश्लेषण (खाना बनाउने प्रक्रिया) का माध्यमबाट वायुमण्डलमा रहेको कार्बनडाइअक्साइडलाई सोस्छन् र रूखको विभिन्न भागमा कार्बनका रूपमा सञ्चित हुन्छ । ‘रूखबिरुवा बढ्नु भनेको कार्बनडाइअक्साइड सञ्चिति तथा भण्डारण गरेर राख्ने क्षमता वृद्धि हुनु हो,’ जोशीले थपे, ‘जब काठ इन्धनका रूपमा प्रयोग गरिन्छ वा कुहिन्छ, तब काठमा सञ्चित भएको कार्बन वायुमण्डलमा उत्सर्जन हुन्छ । यसरी कार्बन चक्र र कार्बन सञ्चितिमा व्यवस्थित किसिमको वनले अहम् भूमिका खेलिरहेको हुन्छ ।’

सहरी वातावरणलाई नजिकबाट नियालिरहेका वातावरणविद् भूषण तुलाधर भौतिक संरचना बनाउँदा वातावरणीय पक्षलाई वास्ता नगर्दा विकराल अवस्था भोग्नुपरेको बताउँछन् । ‘बिरुवा रोप्दा वातावरण सफा हुन्छ भन्ने विषयलाई प्राथमिकता नै दिइएन,’ उनले भने, ‘नेतृत्वले बुझेर पनि बुझ पचायो ।’

कम औसत गोलाइ भएका रूखको कार्बन सोस्ने क्षमता बढी हुने उनको भनाइ छ । चक्रपथ क्षेत्रमा भएका स–साना बिरुवा/लाथ्रा/रूखहरूको औसत घनत्व क्रमशः २१४९, ५८५ र १९४ प्रतिहेक्टर रहेको छ । औसत भुइँ क्षेत्र घनत्व (बेसल एरिया) क्रमशः ०.३३ र ८.०४ मिटर स्क्वायर प्रतिहेक्टर रहेको पाइएको छ । चक्रपथ क्षेत्रमा रहेका रूख र लाथ्राहरूले गरेको बायोमास तथा कार्बन/कार्बनडाइअक्साइडको सञ्चिति औसतमा क्रमशः १.७५, ०.८२ र ३.०२ रहेको पाइएको छ ।

घाँस/पातहरूले गरेको बायोमास तथा कार्बन/कार्बनडाइअक्साइडको सञ्चिति क्रमशः ०.४८, ०.२२ र ०.८ रहेको छ । ती रूखहरूको औसत गोलाइ १९.१ तथा औसत उचाइ ८.७ मिटर छ । यसलाई आधार मान्दा चक्रपथमा वर, पीपल, काइँयो, ज्याकरान्डा, गुलमोहर, कपुर, किम्बु, फिरफिरे, पैयु, आँप, अम्बा, बैंस, भोगटे, कुट्मिरो, लप्सी, मसला, तेजपात, कल्की, खरी प्रजातिका सात हजार पाँच सय वटा रूख रोपिएको खण्डमा वार्षिक कार्बन उत्सर्जन खुद शून्यमा झर्ने देखिन्छ । ‘चक्रपथ क्षेत्रमा रहेका खाली जमिन तथा अन्य सार्वजनिक जग्गामा यस्ता रूखबिरुवा रोप्न सके जोशीले कार्बन उत्सर्जन कटौती हुन्छ,’ जोशीले भने ।

विकासोन्मुख मुलुकमा अव्यवस्थित रूपमा रूख कटानी र काठ व्यापार, अनियन्त्रित वन डढेलो, वन विनाश, अतिक्रमण, अव्यवस्थित चरिचरनले वनबाट हरितगृह ग्यासका रूपमा रहेको कार्बनडाइअक्साइड उत्सर्जन हुने गर्छ । वन क्षेत्रले कार्बनडाइअक्साइड उत्सर्जन, सञ्चिति तथा भण्डारणको भूमिका निर्वाह गर्छ । वन विनाश भएमा कार्वनडाइअक्साइड तथा अन्य हरितगृह ग्यास उत्सर्जन भई वायुमण्डलमा जान्छ । तर, यसको ठीकविपरीत वन विनाश नियन्त्रण, वन कार्बनको संरक्षण, वनको दिगो व्यवस्थापन गरेमा वन क्षेत्रले प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) प्रक्रियामार्फत वायुमण्डलमा रहेको कार्बनडाइअक्साइडलाई आफूमा सञ्चित गर्छ ।

वृक्षरोपणको वार्षिक तालिका बनाई रूखको ‘सिल्भिकल्चरल’ गतिविधिमा ध्यान दिन र काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले एक घर पाँच रूख वृक्षरोपण अभियान सुरु गर्न सुझाएको छ । अर्को विकल्प भनेको विद्युतीय सवारीसाधनमा बढावा नै हो । आयोगले चक्रपथ क्षेत्रमा कार्बनडाइअक्साइडको सञ्चिति/ संश्लेषणसम्बन्धी ज्ञान तथा तथ्य व्यवस्थापन एकाइ स्थापना गर्नसमेत सुझाव दिएको छ ।

महानगरअन्तर्गत उपत्यका सहरी आयोजनाका उपाध्यक्ष सरोज बस्नेत चक्रपथ क्षेत्रमा लामो समयदेखिको सडक विस्तार र अन्य संरचना निर्माणका कारण बिरुवा रोप्ने अभियानलाई अघि बढाउन नसकिएको बताउँछन् । उनले भने, ‘विज्ञहरूले दिएको सुझावअनुसार पानी पर्न सुरु भएपछि बढी कार्बन सोस्ने प्रजातिका बिरुवा रोप्ने अभियान थाल्छौं ।’

महानगरका अलावा वन तथा भू–संरक्षण विभागले पनि बेलाबेला चक्रपथ र सहरी क्षेत्रभित्र बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । विभागकी सूचना अधिकारी सबनम पाठकका अनुसार विभागले विभिन्न निकायसँगको सहकार्यमा २०७६ असारमा कोटेश्वरदेखि कलंकीसम्म लाखौं बिरुवा रोपेको थियो । विभागले केही वर्षयता सहरी क्षेत्रभित्रका सडक, खोलानाला, किनार, फुटपाथलगायतका स्थानमा बिरुवा रोप्दै आएको छ ।

प्रकाशित : चैत्र ३०, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?