चुरे संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी- समाचार - कान्तिपुर समाचार

चुरे संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

शिव पुरी

रौतहट — राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेसको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् । रौतहटको माधवनारायण नगरपालिका–३ स्थित गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्दै उनले चुरेमा भइरहेको विनाश रोक्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभाावकारीताका साथ लैजानु पर्ने र चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।

कार्यक्रममा उनले 'बोक्सी र दाइजो प्रथा'को अन्त्यका लागि जोड दिइन् । ‘जातीय तथा सांस्कृतिक विभेदको अन्त्यका साथै दाइजो र बोक्सी प्रथालाई जरा देखी नै उखेलेर फाल्नु पर्छ,'उनले भनिन्, ‘दाइजो, तिलक प्रथा र बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्ने प्रवृतिको अन्त्य हुनु जरुरी छ ।’

मधेस प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेसका छोरीहरुको शैक्षिकस्तरमा वृद्धि भएकोले यसलाई सार्थकता दिन राष्ट्रपति भण्डारीले जोड दिइन् । ‘बालबालिकाहरुको पौष्टिकताको लागि दिवाखाजाको प्रबन्ध र गुणस्तरमा ध्यान दिनु पर्छ,'उनले भनिन्, ‘सरकारले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ तराई मधेसको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने उनको भनाइ थियो । राष्ट्रपति भणडरीले कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भइ स्थानीय समुदायको आयआर्जन गराउन र उद्यमशीलता प्रवर्द्धन गर्न मद्दत पुग्ने बताइन् । नेपाली सेनाको हेलिकोप्टर चढेर आएकी राष्ट्रपति भण्डारीले अस्पतालको निरीक्षण गरेकी थिइन् ।

अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्लाका बिरामीले समेत राहत पाउने भएको छ । अस्पताल बनाउन विभिन्न व्यक्तिहरुले चन्दा सहयोग गरेका छन् । कार्यक्रममा अस्पताल निर्माणको खर्च सार्वजनिक गरिएको छैन । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३ सय शय्याको अस्पताल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले प्रशंसापत्र दिएकी थिइन् । कार्यक्रममा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वउपप्रधानमन्त्री तथा जसपाका नेता राजेन्द्र महतो, पूर्वमन्त्री एवम सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झा लगायतका नेता आएका थिए ।

प्रकाशित : चैत्र २७, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

हिमाल सरसफाइमा कोका–कोलाको सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयूक्त नेतृत्वमा आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ । अरु थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा कोका–कोला फाउन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो । 

पर्वतारोहीले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको मुख्य उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंगा गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन् । चैत २२ देखि जेठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ ।

संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्टनरहरुलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।


प्रकाशित : चैत्र २७, २०७८ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×