कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

देउवासहितका नेतालाई भेटेर चितवन कांग्रेसले भन्यो- 'गठबन्धन गर्न तयार छौँ, तर मेयरमा कांग्रेस'

काठमाडौँ — चितवनका कांग्रेस नेताहरूले चुनावी तालमेल हुँदा भरतपुर महानगरपालिका प्रमुख (मेयर) कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन् । चुनावमा गठबन्धन नै गर्न हुँदैन भन्ने अडानमा रहेका नेताहरूले पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम गठबन्धन गर्नैपर्ने भएपनि महानगरपालिकाको मेयर पदको उम्मेदवार कांग्रेसबाट हुनुपर्ने दाबी गरेका हुन् ।

देउवासहितका नेतालाई भेटेर चितवन कांग्रेसले भन्यो- 'गठबन्धन गर्न तयार छौँ, तर मेयरमा कांग्रेस'

उनीहरूले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई भेटेर गठबन्धन गर्दा भरतपुर महानगरपालिकाको प्रमुख कांग्रेसले पाउनुपर्ने माग गरेका हुन् । चितवन कांग्रेसका पूर्वसभापति एवं केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाललगायतले नेताहरूलाई भेटेर छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भरतपुरमा अघिल्लो पटक पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल हाल भरतपुरको मेयर छन् । अध्यक्ष दाहाल यसपटक पनि भरतपुरमा आफ्नै छोरीलाई उम्मेदवार बनाउने गरी मात्रै गठबन्धन हुने भन्दै आएका छन् । तर, कांग्रेस नेताहरूले भने आलोपालोको सिद्धान्तका आधारमा समेत यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने दाबी गर्छन् ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकामा कांग्रेसका मतदाताको संख्या ठूलो भएको र अघिल्लो निर्वाचनमै माओवादी केन्द्रलाई सहयोग गरेका कारण यसपटक महानगरको प्रमुख कांग्रेसले पाउनुपर्ने दाबी गर्छन् । ‘भरतपुरमा कांग्रेसको अत्याधिक बाहुल्यता रहेको छ । हामी गठबन्धन गर्न तयार छौँ, तर गठबन्धन गर्दा मेयर पद कांग्रेसले लिनुपर्छ, बाँकी पदमा अन्य पार्टीहरूबीचमा बाँडफाँड गर्न सकिन्छ,’ उनले भने, ‘गठबन्धनभित्र आबद्ध दलहरुमा कांग्रेस एक्लैको मतभार अन्य दलहरुको भन्दा अत्याधिक बढी छ । तर, पटक–पटक बहुमतले अल्पमतको नेतृत्व स्वीकार गर्ने कुरा अस्वाभाविक र आत्मघाती हुन्छ । यसले संगठनलाई समेत ठूलो क्षति पुर्‍याउँछ ।’

भरतपुरमा मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवनका कांग्रेस नेताहरू एक ठाउँमा उभिएका छन् । चितवनका केन्द्रीय सदस्यहरू, मन्त्री, पूर्वमन्त्रीहरू, पूर्वसभापतिहरू, सांसद र पूर्वसांसदहरू, महानगरपालिका कार्यसमिति, क्षेत्रीय समिति, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महानगरपालिकाका २९ वटै वडा सभापति तथा कांग्रेसकातर्फबाट निर्वाचित वडा अध्यक्षहरु समेतले महानगरपालिकाको प्रमुख पदको उम्मेदवार कांग्रेसलाई राखेर बाँकी पदहरू गबठन्धन दलसँग बाँडफाँड गर्न सकिने निर्णय गरेको जिल्ला सभापति खनालले जानकारी दिए ।

‘केन्द्रीय समितिले जे निर्णय गरेको छ, हामीले त्यही आधारमा गठबन्धन गर्ने, तर मेयर हामीले पाउनुपर्ने कारणसहित नेताहरूलाई धारणा राखेका छौँ, यसबारे ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, हामी आशावादी छौँ । अन्यथा चुनावमा नतिजा फकर आउन सक्छ ।’

अघिल्लो स्थानीय चुनावमा भरतपुरका १३ वडामा कांग्रेस एक्लैले जितेको थियो । त्यसबाहेक वडा नं. ४, ५, ७ र २६ मा सदस्यहरु कांग्रेसबाटै निर्वाचित थिए । नेताहरूले पटक पटक सहयात्री दलको नेतृत्वलाई स्वीकार गर्नु समग्र चितवनका लागि अपमानजनक हुने र त्यसले चीरकालसम्म क्षति पुग्ने दाबी गरेका छन् ।

‘२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचनमा कांग्रेसको समर्थनमा विजयी माओवादी केन्द्रले आलोपालोको सिद्धान्त अनुरुप पनि कांग्रेसको संवेदनशिलतालाई बुझ्नुपर्ने सो नगरी महानगर प्रमुखको पदमा पुनः दाबी गर्नु अस्वभाविक र असन्तुलित हुने कुरामा हामी विश्वस्त छौँ,’ चितवन कांग्रेसले केन्द्रीय कार्यालयमा बुझाएको ज्ञापन–पत्रमा लेखिएको छ, ‘यो कुरालाई आत्मसाथ गरिदिनुहुन आदरणीय केन्द्रीय सभापतिज्यूसँग विशेष आग्रह गर्दछौँ, स्मरण रहोस् लोकतान्त्रिक गठबन्धनका नाममा २०७४ को संघीय निर्वाचनमा पनि उक्त क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो ।’

नेताहरूले मतभारका आधारमा अन्य स्थानीय तहहरूमा समेत गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग तालमेल गर्न सकिने निर्णय गरेको बताएका छन् ।

कांग्रेसका सभापति देउवा, महामन्त्री थापा र शर्मासहित सबैजसो नेताहरूले यसअघि भरतपुर पुगेर महानगरपालिकामा मेयर उम्मेदवार कांग्रेसको हुने वचन दिइसकेका छन् । तर, चुनावी तालमेल गर्दा माओवादी केन्द्रका अध्यक्ष दाहालले भरतपुर जसरी पनि आफैंले पाउनुपर्ने अडान राख्दै आएका छन् । छोरीलाई पुनः मेयर बनाउन दाहाल हप्तामा तीन पटकसम्म भरतपुर पुगिरहेका छन् ।

गत निर्वाचनमा महानगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार दिनेश कोइरालाले मनोनयन दर्ता गरेका थिए । तर, सभापति देउवाले केन्द्रबाटै चिठी लेखेर उनको उम्मेदवारी खोसेका थिए । यसपटक पनि महानगरपालिकाको टिकट केन्द्रबाटै वितरण गर्ने तयारी छ ।

प्रकाशित : चैत्र २७, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?