२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८
स्थानीय तह निर्वाचन

निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर

'बैठकमा परिस्थिति ठीक भएन । साना दलहरूको अस्वस्थ भनाभन नाराबाजी भयो । हाम्रा पनि केही कुरा थिए ती कुरा राखेर पछि गरौंला भनेर हिँडेका हौं ।'

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन आचारसंहितामा प्रतिबद्धतास्वरुप हस्ताक्षर गरेको छैन । मंगलबार आयोगले स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका ७९ दलहरूलाई निर्वाचन आचारसंहितामा प्रतिबद्धताका लागि बोलाएको थियो । 

निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर

बैठकको वातावरण स्वस्थ नभएको भन्दै एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरिएका हुन् । एमालेका तर्फबाट आयोगले बोलाएको बैठकमा एमाले कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य सहभागी थिए ।

निर्वाचन विभाग उपप्रमुख आचार्यले बैठकमा साना दल र निर्वाचन आयोगका पदाधिकारीबीच अस्वस्थ बहस भएकाले आफूहरू बाहिरिएको बताए । 'बैठकमा परिस्थिति ठीक भएन । साना दलहरूको अस्वस्थ भनाभन नाराबाजी भयो । हाम्रा पनि केही कुरा थिए ती कुरा राखेर पछि गरौंला भनेर हिँडेका हौं,' उनले भने, 'आचारसंहिताजस्तो विषयमा आफ्ना कुरा पनि राख्ने भन्ने हाम्रो कुरा थियो ।'

निर्वाचन आचारसंहितामा एमाले प्रतिबद्ध भएको तर केही कुरा राख्नुपर्ने पनि रहेकाले होहल्लाबीच हस्ताक्षर नगरिएको आचार्यको भनाइ थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय निर्वाचन आयोगको आलोचना गर्दै आएका छन् । मतपत्रको रङ, आचारसंहितामा गरिएका व्यवस्थादेखि मनोनयनको समयलाई लिएर उनले आयोगका पदाधिकारीको विरोध गर्दै आएका छन् । उनले आयोगका पदाधिकारीहरू सत्तारुढ गठबन्धनसँग मिलेर अगाडि बढेको आरोप लगाउँदै आएका छन् ।

आयोगले बोलाएको बैठकको सुरुमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेका थिए । केही साना राजनीतिक दलहरूले छलफल हुनुपर्ने माग गरेपछि थपलियासहित अरु केही आयुक्तहरूले समेत छलफलका लागि नभई हस्ताक्षर गराउन बोलाएकाले सोही काम गर्न भनेपछि विवाद झनै बढेको थियो ।

बैठक हलमा त्यस्तो वातावरण बनेपछि आफ्ना कुरा राख्ने उचित प्रबन्ध नभएको भन्दै आफूहरू बाहिरिएको आचार्यले बताए । 'आजको परिस्थिति त्यस्तो भएको हुनाले सहज वातावरणमा जाउँला भनेर बाहिरिएका हौं,' उनले भने ।

प्रकाशित : चैत्र २२, २०७८ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?