कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

ठूला राजनीतिक दलको अक्षमताले मुलुकको अवस्था गम्भीर : अध्यक्ष लिङ्देन

माधव ढुंगाना

भैरहवा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दल र ती दलका नेताका कारण मुलुकको अवस्था गम्भीर हुन पुगेको बताएका छन् । सोमबार भैरहवामा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले यतिबेला मुलुकका तीनवटै अङ्गले काम नगरेको बताए ।

ठूला राजनीतिक दलको अक्षमताले मुलुकको अवस्था गम्भीर : अध्यक्ष लिङ्देन

‘न अदालत अदालतजस्तो छ न त संसद् र सरकार नै‚’ लिङ्देनले भने, ‘मुलुकमा सरकार छ कि छैन ? कुनै आभास हुन सकेको छैन ।’

ठूला दल र ती दलका नेताको अक्षमताकै कारण मुलुकको आर्थिक अवस्था दिन प्रतिदिन बिग्रिँदै जान थालेको र श्रीलंकाकै जस्तो अवस्था आउन थालेको उनले बताए । बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएको बत्तीस वर्षको अवधिमा नेपाली जनताले सीमित राजनीतिक दल र तिनका नेतालाई विश्वास गरेर भोट दिँदै आएकाले देशको दुर्गति हुन थालेको उनले बताए ।

‘ठूला राजनीतिक दलले यतिका वर्षसम्म वैदेशिक सहयोगलाई सत्तामा चढ्ने सिँढीको रुपमा प्रयोग गर्दै आए‚’ उनले भने, ‘यसैको परिणाम स्वरुप प्रत्येक वर्ष नेपालीमाथि वैदेशिक ऋणको भार थपिँदै जाने गरेको छ ।’ नेपालमा वैदेशिक हस्तक्षेप बढाउँदै लैजानमा कांग्रेस, एमाले र माओवादी तीनवटै पार्टी जिम्मेवार रहेको उनले आरोप लगाए ।

उनले यी राजनीतिक दलले पटक पटक मुलुकको नेतृत्व गर्ने मौका पाए पनि देश र नेपाली जनताले सम्झिन लायक काम एउटा पनि गरेर देखाउन नसकेको आरोप लगाए ।

बत्तीस वर्षसम्म ठूला राजनीतिक दल र तिनका नेताले गरेको गल्तीका बारेमा आम नेपाली जनतामाझ लैजाने अवसर पाएर पनि नसकेकै कारण यस पटक आफ्नो पार्टीको नेतृत्वमा परिवर्तन गरिएको दाबी उनले गरे । मुलुककै नेतृत्व गर्ने अवसर यदि राप्रपामा आएमा अन्य दलका नेताजस्तो पटक पटक बन्न पाइने नभई दुईपटक भन्दा प्रधानमन्त्री हुन नपाइने व्यवस्था पार्टीमा गरिएको बताए ।

पार्टीकी केन्द्रीय सदस्य स्वाती थापाले मुलुकको समृद्धिका लागि जनताले पटक पटक दिएको अभिमतको महत्त्व ठूला दलले बुझ्न नसकेको आरोप लगाइन् ।

प्रकाशित : चैत्र २१, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?