नेतृत्व लिन युवा अग्रसर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेतृत्व लिन युवा अग्रसर

समयानुकूल विकास, भ्रष्टाचार न्यूनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि उम्मेदवार बन्ने युवाको चाहना
मधेस ब्युरो

जनकपुर — आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारीका लागि युवाले दाबी गर्न थालेका छन् । समयानुकूल विकास र भ्रष्टाचार न्यूनीकरण गर्नका लागि आफूहरूलाई उम्मेदवार बनाउन युवाले दलका स्थानीय नेतृत्वलाई दबाब बढाएका छन् ।

गत निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुखको स्वतन्त्र उम्मेदवारी दिँदा ३२ वर्षीय राकेशविक्रम साहले चर्चा पाएका थिए । निर्वाचनपछि नेपाली कांग्रेसमा प्रवेश गरेका उनले यसपटक कांग्रेसबाटै उम्मेदवारी दिने तयारी गरेका छन् । टिकट पाए व्यक्तिगत क्षमताकै आधारमा निर्वाचित हुने उनको दाबी छ ।

जनप्रतिनिधि बन्न निर्वाचनमा लाखौं खर्च गर्नु नपर्ने उनको भनाइ छ । ३२ वर्षीया रिंकु मिश्रले पनि उपप्रमुखमा उम्मेदवारी दिने बताएकी छन् । कांग्रेसले योग्य ठानेर उम्मेदवार बनाए आफू तयार रहेको मिश्रले बताइन् । युवामा अरूलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएकाले निर्वाचनमा नयाँ पुस्तालाई पार्टीले स्थान दिनुपर्ने उनको भनाइ छ ।

धनुषाकै सहिद नगरपालिकाका मेयर २८ वर्षीय उदय बरबरिया यादवले युवावस्थामै उम्मेदवार बनेर जित्नु चुनौती भएको बताए । ‘इन्जिनियर पढेर २४ वर्षमै मेयर निर्वाचित भएपछि अपरिपक्वताको आरोप लाग्यो,’ उनले भने, ‘ममाथि लागेको आरोप केही महिनामै गलत सावित भयो । निर्वाचित भएपछि मैले पार्टी बिर्सिएँ । सबैलाई समान व्यवहार गरें ।’

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव पाँच वर्षअघि चुनावमा होमिँदा ३४ वर्षका तन्नेरी थिए । साविकका पाँचवटा गाविस सोठियाइन, महादेवा पोर्ताहा, सखुवानन्कारकट्टी, इटहर्वा र मौवाहीलाई जोडेर गाउँपालिका बनाइएको थियो । यसअघि ती सबै गाविसका अध्यक्ष ६५ देखि ८१ वर्षका थिए । उनीहरूले विकास पूर्वाधारदेखि युवा मतदाताको मर्म बुझ्न नसकेको विषयलाई यादवले चुनावी एजेन्डा बनाएका थिए । त्यही एजेन्डाले उनी एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष बन्न सफल भए । सिरहामै कान्छो गाउँपालिका अध्यक्ष बनेका यादवले चुनावका क्रममा बाचा गरेका ९० प्रतिशत काम पूरा गरेको दाबी गरे । यस पटक एकीकृत समाजवादीबाट चुनाव लड्ने तयारीमा छन् ।

विद्यार्थीदेखि राजनीतिमा होमिएका यादवलाई टक्कर दिन यस पटक अन्य दलबाट समेत युवा उम्मेदवारले तयारी गरेका छन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका ४० वर्षीय कप्लेश्वर साहले परिवर्तन आवश्यक भएको भन्दै युवाको माग पूरा गर्न उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘सुशासन, पारदर्शिता र सामाजिक रूपान्तरणको एजेन्डा अगाडि सारेको छु,’ उनले भने, ‘परिवर्तनको संवाहक युवा भएकाले पालिका नेतृत्वमा मेरो दाबी छ ।’ जनता समाजवादीबाट उठ्ने घोषणा गरेका दिपेश यादवले पनि युवाकै मुद्दा अघि सारेका छन् ।

औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ दास यादव पनि निर्वाचनको तयारीमा जुटेका छन् । ३९ वर्षीय यादवले माओवादी केन्द्रबाट चुनाव जितेका हुन् । आफ्नो कार्यकालमा ८५ प्रतिशत चुनावी एजेन्डा पूरा गरेको दाबी गर्दै बाँकी काम पूरा गर्न चुनावमा होमिने बताए । सिरहाकै लहान नगरपालिकामा कांग्रेसबाट सन्तोष चौधरीलगायतले दाबी गरेका छन् । नागरिक समाज सिरहाका अगुवा राजकुमार राउत कुर्मी शान्ति, विकास, सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माणका लागि युवा पुस्ता नेतृत्वमा आउनु आवश्यक रहेको बताउँछन् । ‘विगतका निर्वाचनमा युवाको एजेन्डा उठाएर जित्न सफल भए,’ उनले भने, ‘त्यही आधारमा यसपटक उम्मेदवारमा दाबी गर्ने युवा धेरै छन् ।’

सामाजिक न्यायका निम्ति वकालत, विकास, सुशासन र सामाजिक रूपान्तरणका लागि समतामूलक समाज निर्माण गर्न युवाको नेतृत्व हुनुपर्ने उनको धारणा छ । स्थानीय तहको निर्वाचनमा नयाँ सोचका साथ नेतृत्व सम्हाल्न तयारी गरिरहँदा सर्लाहीका युवा पार्टीले नपत्याउने हो कि भन्ने चिन्तामा छन् । केहीले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

मलंगवा–८ का २८ वर्षीय अमित अग्रवालले वडाको नेतृत्वका लागि पहल थालेका छन् । मतदाता रिझाउन सक्रिय रहेका उनलाई पार्टीले नपत्याउँदैन कि भन्ने चिन्ता छ । ‘अहिलेका वडाध्यक्षले सोचेअनुसार विकास निर्माण गर्न सक्नुभएन, त्यसैले मतदाताको इच्छाअनुसार मैले उम्मेदवारी दिने सोच बनाएको छु,’ उनले भने, ‘पार्टीले पत्याउँछ कि पत्याउँदैन भन्ने ठूलो कुरो हो ।’

गोडैता नगरपालिका–११ मा हेमन्त झाले वडाध्यक्षको उम्मेदवारका रूपमा आफूलाई उभ्याएका छन् । यसअघिका वडाध्यक्षले विकासमा खासै चासो नदेखाएको र भ्रष्टाचारमा मात्र तल्लीन रहेको आरोप लगाउँदै ३२ वर्षीय झाले नयाँ सोच र जाँगरका साथ उम्मेदवारीको तयारी थालेको बताए । झाले ग्रामिण क्षेत्रका मतदातालाई ठूला दलका उम्मेदवारले झुक्याउने गरेका कारण सक्षम र सफल नेतृत्वका लागि आफू उठ्न लागेको दाबी गरे । ‘जनताले परिवर्तन महसुस गनए पाएनन्, ठूला दलका उम्मेदवारले जनतालाई ठगेका छन्,’ उनले भने, ‘आममतदाता यस्ताको चुंगलमा नफसुन् र विकासको अनुभूति गर्न पाउन् भन्ने उद्देश्यका साथ उम्मेदवारीको योजना बनाएको छु ।’

कविलासी नगरपालिकाको मेयरका लागि ३२ वर्षीय दिगेश्वर नायकले उम्मेदवारीको तयारी गरिरहेका छन् । यो नगरपालिका विकासमा पछाडि छ । यसअघिका मेयरले काम गर्न नसकेको भन्दै नायक विकास मुद्दालाई प्राथमिकतामा राखेर मतदातासमक्ष पुगिरहेका छन् । युवा नेतृत्वमा आए भ्रष्टाचारमा कमी आउने र विकास निर्माणले गति लिने मतदाताको पनि अपेक्षा छ ।

स्थानीय तह गठनपश्चात्को चुनावमा निर्वाचित केही युवाले काम गर्न नसके पनि भिजन र परिवर्तनको सोच भएका युवालाई आममतदाताले चाहेको नागरिक अगुवा रजनीकान्त झाले बताए । उनले नयाँ सोचका साथ युवाले नेतृत्व सम्हाल्न प्रयास गरेका बेला आम मतदाताले सहयोग गरे परिवर्तन सम्भव हुने बताए ।

सप्तरीमा दलभित्र र स्वतन्त्र रूपमा युवाले दावेदारी प्रस्तुत गरिरहेका छन् । गत स्थानीय तह निर्वाचनमा सप्तरीका आधादर्जन पालिका प्रमुखमा युवा विजयी भएका थिए । उनीहरूले दोहोरिन चाहेका छन् । सबै पार्टीले अहिले संकलन गरिरहेको आकांक्षीहरूको सूचीमा ५० प्रतिशतभन्दा बढी युवा छन् । ‘आकांक्षा देखाएकामध्ये ५० प्रतिशत युवा छन्,’ जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवले भने, ‘युवाप्रति आममतदाताको झुकाव पनि सकारात्मक छ । हामीले युवालाई उम्मेदवार चयनका प्राथमिकतामा राखेका छौं ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादवले अहिले पार्टीभित्र धेरै युवाले उम्मेदवारीमा आकांक्षा राखेको बताए । ‘समय र व्यवस्था दुवै परिवर्तन भएको छ, स्थानीय तहमा सबै अधिकार छ,’ यादवले भने, ‘नियम–कानुन बुझेका र पढेलेखेकाको माग अब मतदाताले पनि गर्न थालेका छन् ।’ अहिले विकास तीव्र रूपमा अगाडि बढाउन नयाँ सोच र योजना आवश्यक रहेकाले युवाको नेतृत्व आवश्यक रहेको उनले बताए ।

युवा उम्मेदवारले विकास र भ्रष्टाचारको मुद्दालाई उठाएर नेतृत्वमा जान चाहेको सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवले बताए । ‘जनतालाई सुशासनको प्रत्याभूति चाहिएको छ, भ्रष्टाचार नियन्त्रणको आवश्यकता छ,’ उनले भने, ‘युवा उम्मेदवारका लागि यही मुद्दा नेतृत्वमा जाने बाटो हुन सक्छ ।’

रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले काम गर्न नसकेको भन्दै यस पटक युवा अघि सरेका छन् । कांग्रेसबाट मुकेश गिरी, सूर्य थापा, सन्जय काफ्ले, सपुत कार्की चर्चामा छन् । आकाक्षीले समृद्ध नगर बनाउने बताएका छन् । अब युवाबाट विकास सम्भव हुने आकांक्षी मुकेश गिरिले बताए ।

‘जनताले पनि युवा जोस, जाँगर भएकालाई रोज्न थालेका छन्,’ उनले भने । अघिल्लो निर्वाचनमा देबाही गोनाहीका नगरप्रमुख बनेका धर्मेन्द्र पटेल सबैभन्दा कान्छा थिए । वडाध्यक्षमा पनि युवा दाबेदार नै बढी छन् । १८ वटा नगरपालिकाका १५७ वडामा अघिल्लो पटक १५ प्रतिशत मात्र युवा जनप्रतिनिधि थिए । कुल ८ सय २१ जनप्रतिनिधि चुनिनेमा यस पटक आधाभन्दा बढी युवा आउनसक्ने माओवादीका केन्द्रीय सदस्य युवराज भट्टराईले बताए । ‘युवाप्रति मतदाताको भरोसा बढेको छ,’ उनले भने ।

राजनीतिक विरासत र शक्तिमा पकड जमाइराख्न खोज्ने अघिल्लो पुस्ताले युवालाई कत्तिको अवसर देला भन्ने मुख्य विषय भएको कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले बताए । ‘युवाको जोस, जाँगर देख्दा अबको चुनावमा जिते भने केही गर्छन् जस्तो लाग्छ,’ उनले भने, ‘उनीहरूलाई विकाससँगै जवाफदेही, सुशासन र नयाँ सोचमा अग्रसर हुन सिकाउनुपर्छ ।’

-सन्तोष सिंह (धनुषा), अवधेशकुमार झा (सप्तरी), भरत जर्घामगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही) र शिव पुरी (रौतहट)

प्रकाशित : चैत्र १९, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

मधेसमा स्वागत द्वार बनाउने होड

वर्षामा बस्ती जलमग्न पार्ने पानीको निकास छैन, सडक र बजार अव्यवस्थित छन्, खेतमा सिँचाइ, विद्यालयमा कक्षाकोठा र शिक्षकको अभाव छ तर लाखौं खर्चेर स्वागत द्वार बनाउने होडमा छन् मधेसका स्थानीय तह 
जनप्रतिनिधिले जनताको माग भन्ने गरे पनि लिइँदैन स्थानीयको राय
मधेस ब्युरो

जनकपुर — पहाडमा भ्यु टावर जस्तै मधेस प्रदेशका स्थानीय तह र संसदीय क्षेत्रपिच्छे स्वागत द्वार बनाउने होडबाजी चलेको छ । वर्षामा हिलाम्मे र हिउँदमा धूलो उडाउने बाटोलाई त्यत्तिकै छाडेर यहाँका जनप्रतिनिधि राज्यको करोडौं बजेट खर्चेर स्वागत द्वार बनाउने विकासको कुरूप मोडलमा रमाइरहेका छन् ।

सडक फराकिला बन्दै छन् तर पैदल यात्रु आवागमनको चाप रहने कतै पनि आकाशे पुलका योजना छैनन् । स्वागत द्वार भने पालिकैपिच्छे बनाइएका छन् ।

धनुषाको भारतीय नाका जटहीदेखि पूर्वपश्चिम राजमार्ग ढल्केवर ६ लेनको सडकले जोडिएको छ । व्यापारिक मार्गअन्तर्गत निर्माण गरिएको ३८ किलोमिटर ६ लेन सडक खण्डमा कंक्रिटका दुई सहिदद्वार बनाइएको छ । यो सडक दुई लेनको हुँदा जटहीको सीमा प्रहरी चौकीनेर सडक ढाकेर बनाइएको सहिद दुर्गानन्द झा अंकित गेट भने अहिले साँघुरो हुँदा कुरूप मात्र देखिन्न, ६ लेनमा दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकको बीचको डिभाइडर ओगटेर बसेको त्यो गेट सहिदकै नाममा भएकाले नभत्काई त्यत्तिकै छाडिएको छ ।

जनकपुरधाम उपमहानगरको मुजेलियास्थित कभर्डहल जाने सडक वर्षात्मा ५ महिना जलमग्न हुन्छ । मुख्य सडक जेठदेखि असोज–कात्तिकसम्म जलमग्न हुँदा मोटरसाइकल, साइकल र पैदल आवागमन पनि कठिन हुन्छ । सडकमै ४ फिटसम्म पानीको बहाव हुँदा पनि जनकपुरधाम उपमहानगरपालिकाले सडक मर्मतका लागि पछिल्लो ५ वर्षमा पहलै गरेन ।

जनकपुरको मुजेलियास्थित बनाइएको स्वागत द्वार ।

वर्षात्को समयमा जनकपुरको पुल्चोक, कटैयाचौरी, आँखा अस्पताल क्षेत्र, बलवा टोलको भित्री सडक पनि डुबानमा पर्छ । जनकपुरकै संकटमोचन माविमा कक्षाकोठा अभाव छ । एउटै कोठामा १ सय ६० विद्यार्थी कोचिएर पढ्छन् । भवन अभावमा दुई सिफ्टमा कक्षा चलाउनु परेको छ । ३ हजार २ सय ५० विद्यार्थी छन् । कक्षा कोठा २२ वटा मात्रै हुँदा पढ्न र पढाउन समस्या रहेको प्रधानाध्यापक बलिराम साहले बताउँछन् ।

उपमहानगरपालिकाले भने भर्खरै ६ लेन सडकको मुजेलियामा ४ करोड रुपैयाँको लागतमा भव्य सहिदद्वार निर्माण गरेको छ । ढल्केबर–जनकपुर सडक खण्डमा ३ करोड ८८ लाख बजेट खर्चेर धनुष आकारको गेट बनाएर त्यसमाथि ५० लाख रुपैयाँको रामको प्रतिमा राखिएको छ । यस्तै, धनुषाको औरही गाउँपालिकाले झिटकाहीमा प्रवेशद्वार बनाएको छ । साँघुरो कच्ची सडकमा पक्की प्रवेशद्वार बनाएर त्यसमा महँगो टायलसमेत लगाइएको छ ।

प्रवेशद्वार बनाउने यतिबिघ्न होडबाजी छ कि वीरगन्ज महानगरपालिकाको बहुअरी र रमगढवा टोल प्रवेश गर्न ४ वटा प्रवेशद्वार बनाइएको छ । करिब एक किलोमिटर अन्तरमै प्रवेशद्वार निर्माण गरिएका छन् । ४ मध्ये २ प्रवेशद्वार प्रदेशसभा सदस्य अन्जुकुमारी यादव, एक/एक वटा प्रवेशद्वार प्रदेशसभा सदस्य रमेश पटेल र संघीय सांसद विमल श्रीवास्तवले निर्माण गर्न राज्यकोषको बजेट खर्चिएका हुन् । प्रवेशद्वारको निर्माणको माग सामान्यतया स्थानीय बासिन्दाबाट हुँदैन ।

वीरगन्ज महानगरपालिकाको बहुअरीमा निर्माण भएको प्रवेशद्वार ।

स्थानीयले विशेषगरी पक्की सडक, नाला, बिजुली बत्तीको विकास निर्माणको माग गर्छन् । सांसदहरूमा भने लामो समयसम्म स्थायी रूपले रहने र आआफ्नो नाम ती शिलालेखमा अंकित हुने लोभले प्रवेशद्वार निर्माणलाई नेताले प्राथमिकतामा राख्छन् । जिल्ला समन्वय समिति पर्साका अनुसार संघीय सांसदले चार आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत निर्वाचन क्षेत्रमा प्रवेशद्वार निर्माणमै ९२ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरेका छन् । जिल्ला पूर्वाधार कार्यालयअनुसार पर्सामा प्रदेशसभा सांसदहरूले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ४४ लाख ५० हजार रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्चेका छन् ।

आव २०७५/७६ मा क्षेत्र नम्बर १ का सांसद प्रदीपकुमार यादवले आफ्नो क्षेत्रमा प्रवेशद्वार बनाउन १० लाख रुपैयाँ खर्चिए । उक्त आर्थिक वर्षमा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्णले अधुरो गेट निर्माणमा १० लाख रुपैयाँ खर्च गरे । आव २०७६/७७ मा फेरि क्षेत्र १ कै सांसद यादवले विभिन्न स्थानमा प्रवेशद्वार निर्माणमा २२ लाख रुपैयाँ र सांसद श्रीवास्तवले खानेपानी धारा (कल) जडान योजनालाई संशोधन गरी प्रवेशद्वार निर्माणमा ३१ लाख ५० हजार रुपैयाँ खर्च गरे । आव २०७७/७८ मा क्षेत्र नं १ का सांसद यादवले अधुरो प्रवेशद्वार निर्माणमा शीर्षकमा थप ९ लाख रुपैयाँ खर्च गरे ।

प्रदेशसभा सांसदमध्ये राजेश्वरप्रसाद साहले आव २०७५/७६ र आव २०७७/७८ मा गरी २ आर्थिक वर्षमा प्रवेशद्वार निर्माणमा १२ लाख ५० हजार रुपैयाँ खर्च गरे । अर्का प्रदेशसभा सांसद अबदुर रहिम अन्सारीले आव २०७७/७८ मा १५ लाख रुपैयाँ प्रवेशद्वार निर्माणमा खर्च गरेका छन् । प्रदेशसभा सांसद अन्जुकुमारी यादवले आव २०७६/७७ र आव २०७७/७८ मा गरी प्रवेशद्वार निर्माणमा १० लाख रुपैयाँ बजेट खर्च गरेकी छन् । संघीय सांसद श्रीवास्तवले आफूले स्थानीयस्तरबाटै माग आएपछि प्रवेशद्वार निर्माणमा बजेट विनियोजन गरेको बताए । प्रदेशसभा सांसद मञ्जुकुमारी यादवले स्थानीयको माग नभई प्रवेशद्वार निर्माण गर्ने सवालै नउठ्ने बताइन् । ‘स्थानीय मागअनुसार नै हामीले विकास निर्माणका काम योजनामा हाल्ने हो,’ उनले भनिन्, ‘त्यसैअनुरूप प्रवेशद्वार निर्माण भएका हुन् ।’

बारा सदरमुकाम कलैया र भारतीय सीमावर्ती गाउँपालिका फेटामा पक्की सडक बनाउनमा प्रयोग गरिने कच्चा पदार्थ बालुवा र गिट्टी पर्याप्त छ । उक्त कच्चा पदार्थ तयार गर्ने ४ वटा क्रसर उद्योग त्यहीं पालिकामा भएकाले पक्की सडक बनाउन अन्यत्रबाट सामान जुटाउनु पर्दैन । तर, त्यसलाई सदुपयोग नगरी पालिकाले पक्की सडक बनाउन खासै चासो देखाएनन् । प्राथमिकतामा प्रवेशद्वार निर्माण पर्‍यो । यी पालिकामा प्रवेश गर्ने चारै दिशाका सबै सडक कच्ची छ । तर, त्यही कच्ची सडकको चारै दिशाबाट पालिका प्रवेश गर्ने ठाउँमा चारवटा पक्की प्रवेशद्वार निर्माण गरिएको छ ।

साढे आठ लाखका दरले २५ लाखको लागत खर्चमा चारवटा प्रवेशद्वार बनाइएको हो । पश्चिमबाट प्रवेश गर्ने वडा २ को बिनवलिया गाउँमा गण्डक नहरसँगै र पूर्वबाट प्रवेश गर्ने पालिकाको वडा ७ कुकुरभुका गाउँनजिक प्रवेशद्वार बनाइएको छ । यसैगरी उत्तरबाट प्रवेश गर्ने पालिकाको वडा १ जोतपुर गाउँमा र दक्षिणबाट प्रवेश गर्ने वडा ५ को जोतपुर गाउँमा प्रवेशद्वार बनाइएको छ । पालिकाको पहिचान र सौन्दर्यका लागि चारै दिशामा प्रत्येक द्वार साढे आठ लाख रुपैयाँ खर्चका दरमा बनाइएको गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको भनाइ छ । ‘पालिका प्रवेश गर्दा आगन्तुकको स्वागत पनि हुने र कसैले पालिका कहाँ छ भनेर सोध्नु पनि नपर्ने भनेर प्रवेशद्वार बनाइएको हो,’ उनले भने, ‘पक्की सडक बनाउन बढी खर्च लाग्छ । प्रवेशद्वारमा कम खर्चमा भव्य देखिने हुनाले बनाएका हौं ।’

यसैगरी बारागढी गाउँपालिका कार्यालय प्रवेश गर्ने ठाउँमा १३ लाखको लागतमा प्रवेशद्वार बनाइएको छ । ‘पालिका कार्यालयसँगै स्वास्थ्य, प्रहरी चौकी, बजारलगायत त्यहाँ बन्ने हुँदा सिंहदरबारको झल्को दिने गरी प्रवेशद्वार बनाइएको छ,’ गाउँपालिका अध्यक्ष देवदत्त बछाडले भने, ‘कार्यालय पस्दा सेवाग्राही, कर्मचारी र आगन्तुकलाई सिंहदरबारमा प्रवेश गरेको महसुस गराउन बनाइएको हो ।’

धनुषाको झिटकहियामा बनाइएको प्रवेशद्वार ।

कलैया उपमहानगरपालिकाले वडा १० मटिअर्वा गाउँको दसगजा छेउमा २ लाख खर्चेर प्रवेशद्वार बनाउन जग तयार गरेको छ । जिल्लामा पालिकाबाहेक सघन सहरी विकास कार्यालय, संघसंस्था र संसदीय विकास कोषबाट समेत प्रवेशद्वार निर्माण गरिएको छ । सुवर्ण गाउँपालिकाको कवहीगोठको सतगन्जमा देसगजा छेउमा संसदीय विकास कोष र अन्य चन्दा सहयोगबाट १४ लाख ६७ हजार लागतमा प्रवेशद्वार बनाइएको छ । पूर्वसभासद रामअयोध्या यादवका अनुसार आफू संविधानसभामा हुँदा ५ लाख आफ्नो कोष र ३ लाख पूर्वसभासद राधेचन्द्र यादवको कोषबाट गरी ६ लाख ६७ हजार अन्य चन्दा सहयोगबाट गढिमाई प्रवेशद्वार बनाइएको हो ।

यही सडकमा सघन सहरी विकास कार्यालय वीरगन्जले मझरिया गाउँ छेउमा महादेव मन्दिर सौन्दर्यीकरणका लागि २५ लाखको लागमा प्रवेशद्वार निर्माण गर्न लागेको महागढीमाई नगरप्रमुख उपेन्द्र यादवले बताए । यो सडकमा हुलाकी राजमार्ग आयोजनाले भर्खरै पिच गरेको छ । यसबाहेक सिम्रौनगढ नगरपालिका–९ को देवताल पोखरी छेउमा दसगजा नजिक सिम्रौनगढ पर्यटन क्षेत्र विकास कार्यालय वीरगन्जले १३ लाखमा प्रवेशद्वार बनाएको छ ।

सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डबाट कविलासी नगरको १ र २ वडा रहेको पिपरिया गाउँ जोड्ने सडकको अवस्था दयनीय छ । यहाँका बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्छन् । वर्षाका बेला त झन् आनै पालिकाको केन्द्र पुग्न पनि अरू स्थानीय तह पसेर घुमाउरो यात्रा गर्नुपर्छ । तर, जनप्रतिनिधि भने स्वागत गेटमा बजेट खन्याइरहेका छन् । सर्लाहीका संघीय सांसद प्रमोद साहले संसदीय क्षेत्र विकास कोषको रकमबाट नवलपुर, ईश्वरपुरलगायत क्षेत्रमा स्वागत गेटमा रकम खर्चिएका छन् । नवलपुरमा २० लाखको लागतमा प्रवेशद्वार बन्दै छ ।

सांसद साहकै कोषबाट ईश्वरपुर–१० मा पनि स्वागत गेट निर्माण थालिएको छ । सर्लाही क्षेत्र २ का संघीय सांसद तथा कृषिमन्त्री महिन्द्र यादवले समेत स्वागत गेटमा नै बजेट खर्चिरहेका छन् । किसानहरू बर्सेनि मल अभावको मार खेपिरहेका बेला उनले मलंगवाका दुई ठाउँ र पर्सा गाउँपालिकामा एउटा स्वागत गेटमा राज्यकोष लगानी गरेका छन् । मलंगवामा २५–२५ लाख लागतमा स्वागत गेट निर्माण गरिएको छ ।

सर्लाही चन्द्रनगर–१ किसनपुरदेखि नवलपुर–मलंगवा सडकको गैर बजार जोड्ने सडक कन्तबिजोग छ । तर, चन्द्रनगर गाउँपालिकाले पनि स्वागत द्वारमा रकम खर्चेको छ । चन्द्रनगरले तीन ठाउँमा स्वागत गेट निर्माणका लागि ६६ लाख छुट्याएको छ । यस्तै, सर्लाहीकै ईश्वरपुर र हरिवन नगरपालिकाले पनि स्वागत द्वारमा रकम खर्चेका छन् । ईश्वरपुरले ठाउँ स्वागत द्वार बनाएको छ । तीनवटा स्वागत द्वारका लागि झन्डै ३५ लाख खर्च भएको नगर प्रमुख मनोज देवकोटाले बताए ।

महोत्तरीको जलेश्वर नगर क्षेत्र वर्षामा जलमग्न हुन्छ । ढल निकास छैन । तर, नगरपालिकाले ५ वटा स्वागत द्वार बनाएको छ । चार वर्ष लगाएर द्वार निर्माणमा १ करोडभन्दा बढी खर्च भइसकेको छ । ‘पर्यटन विकास र आफ्नो ठाउँको पहिचानका लागि स्वागत द्वार निर्माण गरेको हो,’ नगरप्रमुख रामशंकर मिश्रले भने ।

मटिहानी बजार प्रवेशस्थलबाट निर्माणाधीन गेट ।

महोत्तरीकै मटिहानी नगरपालिकाले ३ वटा स्वागत द्वार बनाएको छ । दुई वटा तयार भएका छन् भने मटिहानी बजार प्रवेशद्वारको निर्माण जारी छ । २८ लाख १३ हजार नगरपालिकाको बजेट र २ लाख ९० हजार स्थानीयको श्रमदानबाट स्वागत द्वार पूरा हुने नगरपालिकाले जनाएको छ । यसअघि बनेका २ वटा स्वागत द्वारका लागि नगरपालिकाले ९६ लाख खर्च गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिकाले बनाएको स्वागत द्वार ।

सडकमा यस्ता संरचना बनाउन सडक विभागको अनुमति लिनुपर्छ । तर स्थानीय तहले विभागको प्राविधिक सुझाव आवश्यक नै ठानेका छैनन् । पिपरा गाउँपालिकाको बनौलीमा संसदीय विकास कार्यक्रमबाट गेट बनाउन २४ लाख खर्च भयो तर काम अधुरै छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पाँच वर्षअघि जलेश्वरको सीमावर्ती क्षेत्र भिठामोडमा एक करोडको लागतमा मिथिला प्रवेशद्वारको निर्माण सुरु गरेको थियो । सडकको मापदण्डअनुरूप नरहेको भन्दै २९ लाख रुपैयाँ खर्च गरिसकेपछि काम बीचमै रोकियो ।

जलेश्वरका स्थानीय नवीन झाले खानेपानी, शौचालय, बाटोघाटोका समस्यालाई प्राथमिकतामा नराखेर प्रदेशद्वारका नाममा बजेट सिध्याउनुलाई जनप्रतिनिधि दुर्बुद्धि हुनुको परिणाम भएको बताए । ‘स्थानीय तहले आफ्नो गाउँठाउँका जनताको दैनिकी सहज बनाउने योजनामा लगानी गर्नुपर्छ तर हाम्रा जनप्रतिनिधिको त्यति बुद्धि देखिएको छैन,’ उनले भने ।

सप्तरीको राजविराज–९ मलेठस्थित स्वास्थ्य चौकीको आफ्नो भवन छैन् । वडा कार्यालयको ३ वटा कोठामा चलाइएको छ । सबैजसो सडक कच्ची छन् । तर, जनप्रतिनिधि निर्वाचित भएलगत्तै नगरपालिकाले निर्णय गरेको थियो– मलेठमा सहिद स्तम्भ र गेट निर्माण गर्ने । मधेस आन्दोलनका क्रममा मलेठमा प्रहरीको गोली लागी ५ जना सहिद भएका थिए । उनीहरूको स्मृतिमा अघि सारिएको स्तम्भ र गेट निर्माणको योजनामा लाखौं भयो । ४८ लाखको लागत रहने भनिएको गेट अझै अधुरो छ । नगरपालिकाका इन्जिनियर अशोककुमार दासले ३३ लाख रुपैयाँ ठेकेदार कम्पनीले भुक्तानी लगिसकेको बताए । जनताको चाहनाअनुसार नै सहिद गेट निर्माणको निर्णय लिइएको राजविराज नगरप्रमुख शम्भु यादवले बताए ।

सप्तरीको राजविराज–९ मलेठमा बनाइएको सहिद गेट ।

सप्तरीको बोदेवरसाइन नगरपालिकामा गतिलो बाटो छैन । तर, नगरपालिकाले बिसनपुर–बरसाइन सडक खण्डमा ३० लाखको लगानीमा गेट बनाएको छ । स्वास्थ्य चौकी, विद्यालयको दुरवस्था छ । स्वास्थ्य, शिक्षाका तुलनामा सप्तरीमा निकै बढी बजेट प्रवेशद्वार निर्माणमा लगाइएको छ ।

रौतहटको चन्द्रपुर–८ सन्तपुर गाउँमा प्रवेशद्वारमा गत वर्ष नगरपालिकाले १५ लाख बजेटमा स्वागत गेट निर्माण थाल्यो । चन्द्रपुर–२ स्थित जुडिबेला गाउँ जाने मुख्य बाटोमा सहिद स्मृति जुडिबेला प्रवेशद्वार बनाइएको छ । ‘वडाहरूले योजनाको कुरा उठाउँदा स्वागत गेटको प्रस्ताव ल्याएको हुनाले बनाइएको हो,’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देलले भने, ‘यसको कति महत्त्व छ भन्ने त्यो जनताले मूल्यांकन गर्छन् ।’

रौतहटको चन्द्रपुर–२ स्थित जुडिबेला गाउँ जाने मुख्य बाटोमा बनाइएको प्रवेशद्वार ।

एमाले नेता प्रभु साहले सांसद विकास कोषको रकमबाट पूर्वपश्चिम राजमार्गको धन्सार–जंगलसैया खण्डमा स्वागत गेट बनाउन लगाएका छन् । राज्यकोषको झन्डै ५० लाख खर्चेर गेट बनाइएको एमालेका प्रदेश सांसद कुन्दन कुशवारले बताए । पूर्वमन्त्री स्व. शेख इद्रिसका नाममा राजपुर नगरपालिकामा ठूलो प्रवेशद्वार बनाइएको छ । माधवनारायण नगरपालिकाले राजमार्गमै द्वार बनाएको छ । रौतहटका १८ स्थानीय तहमा राज्यकोष खर्चेर २३ वटा प्रवेशद्वार बनाइएको छ ।

-सन्तोष सिंह (धनुषा), अवधेश झा (सप्तरी), सुनीता बराल (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : चैत्र १७, २०७८ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×