एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच चुनाव केन्द्रित भेट
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशमशेर राणाबीच भेटवार्ता भएको छ ।
नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।
स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ ।
महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरसमेत हुन् ।
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’
प्रकाशित : चैत्र १८, २०७८ १०:३०