कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

देशका तीनवटै अंगले काम गर्न सकेनन् : लिङ्देन

सम्झना रसाइली

तनहुँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका तीनवटै अंगले काम नगरेको बताएका छन् । राप्रपा तनहुँले बिहीबार दमौलीमा गरेको सभालाई सम्बोधन गर्दै न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालगायत अदालत, संसद्, सरकार कुनैले पनि आफ्नो कम गर्न नसकेको बताएका छन् ।

देशका तीनवटै अंगले काम गर्न सकेनन् : लिङ्देन

सचेत आँखाले हेर्दा देशको अवस्था सामान्य नरहेको उनले बताए । ‘जनतालाई न्याय दिने अदालत आफै विवादमा फसेको छ’, उनले भने, ‘मुलुकमा सरकार छ कि छैन थाहा छैन । सरकार आफै प्रधानन्याधीशको विरुद्ध संसद्‌मा महाअभियोग दर्ता गर्‍यो र त्यसको छिनोफानो गर्नुपर्नेमा पुरै संसद् बन्द गरेर छाड्दियो । पुरै विधि र पद्धतिले काम गर्न छाडेको छ । यो राम्रो संकेत होइन ।’

यस्तै, ठूला राजनीतिक दलहरुको केटाकेटी र आलोकाँचो व्यवहारका कारण अन्तर्राष्ट्रिय जगतमा देशको विश्वसनीयता समेत गुमेको उनले बताए । लिङ्देनले भने, ‘उनीहरुको आलोकाँचो व्यवहारले गर्दा युक्रेनको नियति व्यहोर्नपर्ने खतरा नआउला भन्न सकिँदैन । उनीहरुको आलोकाँचो व्यवहारले हुने क्षति ती ठूला पार्टीहरुले, नेताहरुले मात्रै नभई सिंगो देश र जनताले व्यहोर्न पर्ने हुन्छ ।’

अबको एक वर्षमा तीन तहको निर्वाचन हुने बताउँदै लिङ्देनले आफ्नो मतको सदुपयोग गर्न सबैमा आग्रह गरे । ‘बाउ बाजेदेखिको पार्टी, मतदान गर्दा अन्य चिह्नमा हात नै जाँदैन भन्दै जिताएका पार्टी र तीनका नेतासँग गुनासो गरेर मात्रै हामीलाई छुट पाउँदैनौं’, उनले भने, ‘बाउबाजेको पार्टी भन्दै आजसम्म तीनैलाई भोट हाल्दै आएको गल्ती अब दोर्‍याउन हुँदैन । देश बिग्रियो भने युवाहरुको भविष्य बिग्रन्छ । त्यसैले भविष्यप्रति सजक हुँदै आफ्नो मतको सही सदुपयोग गर्नुपर्छ ।’

यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी अलग पार्टी नभई एकै सिक्काका दुई पाटा रहेको बताउँदै देशलाई यो गतिमा पुर्‍याउन यिनीहरुको समान हात रहेको अध्यक्ष लिङ्देनले बताए ।

प्रकाशित : चैत्र १७, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?