कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पत्रकारको दुर्घटना बिमाका लागि सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले श्रमजीवी पत्रकारहरूको दुर्घटना बिमामा अनुदान दिने कार्यक्रम सुरु गर्न सरकार सकारात्मक रहेको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बिमा गरी प्रिमियमको ५० प्रतिशत रकम अनुदान दिने र पत्रकारहलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर, त्यो व्यवस्था अझैसम्म लागू भएको छैन ।

पत्रकारको दुर्घटना बिमाका लागि सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री खतिवडा

मन्त्री खतिवडाले बजेटमा घोषणा भए पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि नबढेको भन्दै आफ्नै पालामा पत्रकारहरूका लागि ती सुविधा उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताए । ‘विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो ।

म मेरै कार्यकालमा यो विषय कार्यान्वयको सुरुवात होस् भन्ने चाहन्छु,’ उनले भने । बुधबार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्दै मन्त्री खतिवडाले मन्त्रालयले बजेटका ती घोषणा कार्यान्वयनका लागि छुट्टै कार्यविधि निर्माण गर्ने क्रममा रहेको बताए ।

उनले सरकारले सुरू गरेको स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि सबै नेपालीहरूको स्वास्थ्य उपचार सहज हुने बताए । ‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ गरेको छ, म पत्रकारहरूसहित सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा आउन आह्वान गर्दछु,’ उनले भने, ‘पत्रकारहरूको स्वास्थ्य बिमाका लागि महासंघसँग सहकार्य गर्न मन्त्रालय तत्पर छ ।’ उनले त्यसका लागि महासंघलाई उचित प्रस्ताव ल्याउन समेत आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले कोरोनाका कारण करिब तीन दर्जनभन्दा बढी संख्यामा सञ्चारकर्मीहको निधन भएको भन्दै दुःख व्यक्त गरे । ‘हामीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जत्तिकै महत्त्वका साथ सञ्चारकर्मीहरूलाई पनि फ्रन्टलाइनरको रुपमा मान्यता दिएर कोभिडविरुद्धको खोप लगायौँ,’ मन्त्री खतिवडाले भने, ‘आगामी दिनमा पनि तमाम सञ्चारकर्मीहरूको उपचार र स्वास्थ्य सेवाका लागि महासंघसँग सहकार्य गर्न सरकार उत्साहित छ ।’

प्रकाशित : चैत्र १६, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×