कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसमा छलफल : चुनावी गठबन्धन कि तालमेल ?

केन्द्रीय समिति बैठकमा काेइराला समूहले गठबन्धन गर्न नहुने अडान लिएपछि 'चुनावी गठबन्धन'को सट्टा स्थानीय आवश्यकताअनुसार 'चुनावी तालमेल' भन्ने शब्द राखेर मध्यमार्गी बाटोबाट निर्णय गर्ने प्रयास रहेको एक नेताले बताए ।

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि नेताहरूले मध्यमार्गी बाटो खोज्ने प्रयास गरेका छन् । चुनावको तयारीबारे छलफल गर्न सत्तारुढ तीन दिनदेखि कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा नेताहरूले धारणा राखेपछि मंगलबार फेरि बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तावहरू निर्णयार्थ पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेसमा छलफल : चुनावी गठबन्धन कि तालमेल ?

बैठकमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे नेताहरूबीच मतभेद भएपछि मध्यमार्गी बाटोबाट समस्या सुल्झाउने र सर्वसम्मत निर्णय गर्ने तयारी रहेको एक नेताले बताए । केन्द्रीय समिति बैठकअघि अहिले सभापति देउवाबाहेक पदाधिकारीहरू छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा पदाधिकारीहरू बसेर मध्यमार्गी बाटो खोज्ने प्रयास गरिरहेका एक नेताले जानकारी दिए ।

उनका अनुसार गठबन्धनको सट्टा चुनावी तालमेल भन्ने शब्द प्रयोग गर्ने तयारी छ । बैठकमा काेइराला समूहले गठबन्धन गर्न नहुने अडान लिएपछि 'चुनावी गठबन्धन'को सट्टा स्थानीय आवश्यकताअनुसार 'चुनावी तालमेल' भन्ने शब्द राखेर मध्यमार्गी बाटोबाट निर्णय गर्ने प्रयास रहेको ती नेताको भनाइ छ ।

‘गठबन्धन भन्दा पूर्णरुपमा गठजोड गरिएको भन्ने बुझाइ भयो । त्यसैले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने गरी मध्यमार्गी बाटोबाट सबैलाई समेट्ने प्रयास भइरहेको छ,’ ती नेताले इकान्तिपुरसँग भने, ‘बैठकले देशभर कांग्रेसको पक्षमा जनलहर रहेको, र आसन्न निर्वाचनमा बहुमत सीट जित्ने निष्कर्ष निकालेको छ । तर, थप सीट सुरक्षित गर्न र जितलाई सुनिश्चित गर्न केही शक्तिहरूलाई साथै लिएर हिँड्नुपर्ने अवस्था छ ।’

केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले चुनावमा गठबन्धन गरेर जानुपर्ने भनेका छन् भने नेता शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने पक्षमा अडान लिएका छन् । गठबन्धन गर्ने भनेर सैद्धान्तिक निर्णय लिने तयारी भए पनि कोइराला समूहले त्यसको विरोध गरेपछि मध्यमार्गी बाटो खोजिएको हो ।

प्रकाशित : चैत्र १५, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?