कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तालिका

पूर्वनिर्धारित तालिकाभन्दा २ घण्टाअगावै काठमाडौं ओर्लिंदै
मातृका दाहाल

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पूर्वतालिकाभन्दा २ घण्टाअगावै काठमाडौं आउने भएका छन् । शुक्रबार साँझ ५ बजेका लागि तय भएको विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली दिउँसो ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका तय भएको हो । विदेशमन्त्रीको स्वागतमा विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली जाने छ ।

यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तालिका

विदेशमन्त्री वाङ दिल्लीबाट काठमाडौं आउने क्रममा नेपालको एयर स्पेशमा आधा घण्टा 'नोटाम' लागु हुने बताइएको छ । उक्त अवधिभर नेपालको आकासमा कुनै पनि जहाज उड्न पाउने छैनन् । उनको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री वाङको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो ।

विमानस्थलबाट उनी सोझै बत्तीसपुतलीस्थित होटेल द्वारिकाज आउनेछन् । शुक्रबार यसबाहेक कुनै पनि औपचारिक कार्यक्रम तय नभएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । भ्रमणको दोस्रो दिन शनिबार बिहान ६:३० बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।

विदेशमन्त्री वाङले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भ्रमणको तेस्रो दिन आइतबार बिहान ९:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको स्रोतले बतायो । ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको छ । त्यसपछि होटेल द्वारिकाज जाने र त्यहीँबाट उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसबाहेक अन्य कुनै पनि अधिकारी तथा राजनीतिक भेटघाटको कार्यक्रम तय भएको छैन । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आउन लागेका हुन् ।

प्रकाशित : चैत्र ११, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?