कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

कास्की अदालतको इजलास कक्षमा तोडफोड, कागजात चोरिएको आशंका

लालप्रसाद शर्मा

पोखरा — कास्की जिल्ला अदालतको मुख्य प्रवेशद्वारमा चौबीसै घण्टा प्रहरीको सुरक्षा छ । ठीक अगाडि वडा प्रहरी कार्यालय छ । त्यहाँबाट जिल्ला अदालत छ्यांगै देखिन्छ । सुरक्षित मानिएको जिल्ला अदालतका दुईवटा इजलास कक्ष मंगलबार राति तोडफोड भएको छ । 

कास्की अदालतको इजलास कक्षमा तोडफोड, कागजात चोरिएको आशंका

अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरूका अनुसार १ र ६ नम्बर इजलासका ढोका र दराज फोडिएका छन् । १ नम्बर इजलास प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए । ६ नम्बर इजलासको मूल ढोका र भित्रको फाँट प्रवेश गर्ने ढोका फोडिएको छ । त्यहाँका ३ वटा दराजको ताला पनि खोलिएको छ ।

मिसिल कागजात चलाइएको छ । घर्रा पनि खोलिएको छ । १ नम्बर इजलासको ढोका फोडिएको छ । ताला नभएको दराजका कागजात पनि चलाइएको छ । टेबलका घर्रा खुलेका छन् । पनेरूले भने, ‘६ नम्बरमा फलामे रडसमेत भेटिएको छ ।’

सरसफाइ गर्न आएकी मनमाया कुमालले बुधबार बिहान ढोका र दराज फोडिएको देखेपछि कर्मचारीहरूलाई खबर गरेकी थिइन् । तीनतले नयाँ भवनको दोस्रो र तेस्रो तलामा रहेका इजलास कक्ष फोडिएका हुन् । तोडफोडका कारण ६ नम्बरको इजलासमा बुधबार सुनुवाइ हुन सकेन । सूचना अधिकारी पनेरूका अनुसार महत्त्वपूर्ण मिसिल चोरी भएको शंका गरिएको छ ।

कास्कीका एसपी रमेश थापाले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनास्थलको ‘फिंगर प्रिन्ट’ र ‘फुट प्रिन्ट’ निकालेको छ । ‘फिर्के खोलामा तारबार छैन, अन्यत्र २०२१ सालमा बनेको पर्खाल छ । अदालतका ढोका पनि पुराना छन्,’ पनेरूले भने, ‘अदालतमा सुरक्षा चुनौती महसुस गरेका छौं ।’

अदालतको गेटमा असईको नेतृत्वमा ७ प्रहरी खटिएका छन् । उक्त क्षेत्र प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको निवासदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय, प्रदेश नीति तथा योजना आयोग, नगर विकास समितिजस्ता महत्त्वपूर्ण सरकारी कार्यालय रहेको स्थान पनि हो ।

प्रकाशित : चैत्र ९, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?