कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पूर्वराजदूतको जोड : बीआरआई कार्यान्वयन

‘सम्झौता हुने तर लागू नहुने कारणले दुई मुलुकबीचको सम्बन्ध सुमधुर रुपमा अघि बढ्न सकेन’
जगदीश्वर पाण्डे

काठमाडौँ — चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमा जोड दिन पूर्वपरराष्ट्र सचिव र चीनका लागि नेपालका पूर्वराजदूतले सुझाव दिएका छन् । नेपालले चीनसँगको सम्बन्धलाई गम्भीरताका साथ महत्त्व दिनुपर्ने पनि उनीहरूको सुझाव रहेको छ । 

पूर्वराजदूतको जोड : बीआरआई कार्यान्वयन

परराष्ट्रमन्त्री नारायण खड्काले समकक्षी वाङ काठमाडौंमा उत्रनु तीन दिनअघि मंगलबार परराष्ट्र सचिव र पूर्वराजदूतसँग सुझाव लिने क्रममा उनीहरूले बीआरआईलाई जतिसक्दो छिटो कार्यान्वयनमा लान चीनसँग सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।

नेपालले सन् २०१७ मा बीआरआई सम्झौता गरेको थियो । तर नेपालमा बीआरआई अन्तगत कुन–कुन परियोजना अघि बढाउने भन्ने निर्णय भइसकेको छैन । सुरुआतमा नेपालले चीनलाई ३५ वटा परियोजनाको सूची पठाएको थियो । पछि चीनले एक अंकमा परियोजना दिन भनेपछि नेपालले नौ परियोजनाको सूची पठायो । तर त्यसलाई नेपाल सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार छलफलमा पूर्वराजदूतहरूले नेपाल–चीन रेलमार्गलाई अघि बढाउन पनि जोड दिनुपर्ने सुझाव दिएका छन् । एक पूर्वसचिवले पछिल्लो समय दुई मुलुकबीचको विश्वासको वातावरण कमजोर भएको उल्लेख गरेका थिए । ‘विश्वासको वातावरण विदेशमन्त्री वाङको भ्रमणमा निर्माण गर्न जरुरी छ,’ उनको भनाइ थियो । नेपालको संसद्बाट अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन गर्ने क्रममा चीनले पटक–पटक प्रतिक्रिया जनाएर असन्तुष्टि जनाएको थियो । चीनले एमसीसीका बारेमा पहिला किन बोल्यो र पछि संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएपछि नोट गरेको भन्ने अभिव्यक्ति किन दियो ? भन्ने विषयमा विदेशमन्त्री वाङसँग बुझ्नुपर्ने एक पूर्वराजदूतले बताएका छन् ।

परराष्ट्रका ती अधिकारीका अनुसार पूर्वराजदूतहरूले नेपालले बीआरआईबाट फाइदा उठाउनुपर्नेमा पनि जोड दिएका थिए । पूर्वपरराष्ट्र सचिवहरूले मन्त्री वाङलाई नेपाल चीनको असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै चीनविरुद्ध कहिले पनि नलाग्ने कुरा स्पष्ट पार्न सक्नुपर्ने सुझाव दिए । उनीहरूले नेपाल एक चीन नीतिमा सधैं कटिबद्ध रहेको सन्देश प्रवाह गर्नुपर्ने पनि उल्लेख गरेका थिए ।

चीन र नेपालबीच अहिलेसम्म भएका सम्झौता लागू नभएकामा पनि पूर्वसचिव र पूर्वराजदूतहरूले चासो दिएका थिए । नेपाल र चीनबीच सम्झौता हुने तर लागू नहुने कारणले दुई मुलुकबीचको सम्बन्ध सुमधुर रूपमा अघि बढ्न नसकेको उनीहरूको भनाइ थियो ।

छलफलमा पूर्वसचिवहरू मधुरमण आचार्य, मदनकुमार भट्टराई, दुर्गा भट्टराई अर्जुनबहादुर थापा र केदारभक्त श्रेष्ठ सहभागी थिए । यस्तै चीनका लागि पूर्वराजदूतहरू लीलामणि पौडेल, महेश मास्के, टंक कार्की र राजेश्वर आचार्यले सुझाव दिएका थिए । छलफलमा मन्त्रालयका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र चीनलाई हेर्ने उत्तर पूर्वमहाशाखाका प्रमुख लोकबहादुर थापा पनि थिए । परराष्ट्र मन्त्री खड्काले सबै पूर्वसचिव र पूर्वराजदूतहरूका सुझावलाई आत्मसात् गरेर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×